अवैध बालुवा उत्खननले लियो किरन कोलीको ज्यान
बैतडी : चमेलिया नदीबाट अवैध रूपमा गरिएको बालुवा उत्खननका कारण डिलाशैनी गाउँपालिका-३, गिरिबगडका एक युवाको ज्यान गएको छ। उक्त घटनाप्रति नेपाली कांग्रेस डिलाशैनी गाउँपालिका गाउँकार्यसमितिले गहिरो दुःख व्यक्त गर्दै सत्यतथ्य छानबिनको माग गरेको छ।
शुक्रबार गिरिबगडका किरन कोलीको विद्युतीय करेन्ट लागेर मृत्यु भएको हो। घटनाको मूल कारण चामेलिया नदीबाट बर्खाको समयमा जेसीबी र स्काभेटर प्रयोग गरी गरिएको अवैध बालुवा उत्खनन् रहेको कांग्रेसको दाबी छ। विद्युत् पोलमुनि बालुवाको थुप्रो जम्दा विद्युत् प्रवाहमा जोखिम बढेको र त्यही कारण किरन कोलीको ज्यान गएको अरोप स्थानीयले लगाएका छन्।
सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र बहादुर पालको प्रत्यक्ष संरक्षणमा बालुवा उत्खनन् भइरहेको कांग्रेसको आरोप छ।
कांग्रेसले जारी गरेको विज्ञप्तिमा स्वर्गीय केशव कोलीका छोरा किरन कोलीको निधनप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, 'सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री माननीय सुरेन्द्र बहादुर पालको प्रत्यक्ष संरक्षणमा चामेलिया नदीबाट जेसीबी र स्काभेटर प्रयोग गरी साउन महिनाको वर्षायाममा गैरकानुनी तरिकाले बालुवा उत्खनन भइरहेको छ। सोही उत्खननका कारण विद्युत् लाइनमुनि बालुवाको थुप्रो जम्दा विद्युत् प्रवाह जोखिममा परेको र त्यही कारण किरन कोलीको ज्यान गएको हो।'
सभापति जयानन्द जोशी ‘जयराज’ले घटनापछि रातारात बालुवा हटाउने, प्रमाण नष्ट गर्ने, र पीडित परिवारलाई पैसाको प्रलोभनसहित दबाब दिने प्रयास भएको विवरण सार्वजनिक भइसकेको उल्लेख गर्दै गम्भीर चिन्ता र आपत्ति जनाएका छन्।
'यस्तो कार्यले न्याय प्रणालीमाथि खेलवाड गर्ने, दोषीलाई जोगाउने र पीडितमाथि पुनः अन्याय गर्ने खतरनाक प्रवृत्तिको परिचय दिन्छ,' विज्ञप्तिमा भनिएको छ।
कांग्रेसले घटनाको घोर भर्त्सना गर्दै स्वतन्त्र, निष्पक्ष र छिटोछरितो रूपमा सत्यतथ्य छानबिन गराई दोषीलाई कानुनी दायरामा ल्याई कडा कारबाही गर्न माग गरेको छ। साथै, पीडित परिवारलाई न्याय दिलाउन र यस्ता अवैध तथा अमानवीय क्रियाकलापहरू भविष्यमा नदोहोरिने वातावरण बनाउन पनि सरकार र सम्बन्धित निकायसँग जोडदार आग्रह गरिएको छ।
प्रतिक्रिया दिनुहोस !