वर्षाका कारण गुल्मीका विभिन्न स्थानका सडक अवरुद्ध
गुल्मी: आइतबार दिउँसोदेखि परेको अविरल वर्षाका कारण गुल्मीका विभिन्न स्थानका सडकहरू अवरुद्ध भएका छन्। पानीका कारण खोलामा पानीको बहाव बढेको र विभिन्न स्थानमा सडकमा पहिरो खसेर सडक पूर्णरूपमा नै अवरुद्ध भएका छन्।
जिल्लाको सत्यवती गाउँपालिका-६ स्थित डहरे खोलामा पानीको अत्यधिक बहाव बढेका कारण रिडी वामी सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
अहिले कालीगण्डकी करिडोर र रिडी–वामी–तम्घास सडकखण्डहरूमा यातायात ठप्प भएको छ। कालीगण्डकी करिडोरअन्तर्गत कालीगण्डकी गाउँपालिकाको वडा नम्बर १ स्थित गरगरे, वडा नं २ को मुल्क र वडा नं ३ कनौटा क्षेत्रमा पहिरो खसेपछि सडक पूर्णरूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) गङ्गा बहादुर सारुले जानकारी दिए।
त्यस्तै,पानीका कारण रुरु गाउँपालिका–३ सल्लेरीमा पहिरो खस्दा रिडी–तम्घास सडकसमेत अवरुद्ध बनेको छ। थोर्गा हुँदै सवारी सञ्चालनका लागि वैकल्पिक मार्ग खुला रहेको प्रहरीले जानकारी दिएको छ।
रुरु गाउँपालिका वडा नम्बर-३ सल्लेरीमा पहिरो खस्दा रिडी–तम्घास सडकसमेत अवरुद्ध बनेको छ। थोर्गा हुँदै सवारी सञ्चालनका लागि वैकल्पिक मार्ग खुला रहेको प्रहरीले जानकारी दिएको छ।
स्थानीय प्रशासन, प्रहरी र सरोकारवाला निकायहरूसँगको समन्वयमा पहिरो पन्छाउने कार्य भइरहेको भए पनि लगातारको वर्षाका कारण सडक खुलाउन समय लाग्न सक्ने अनुमान गरिएको छ। अवरुद्ध सडक तथा अन्य स्थानबाट यात्रा गर्नु परे आवश्यक सावधानी अपनाएर र सडक बारे जानकारी लिएर यात्रा गर्न प्रशासनले अनुरोध गरेको छ।
प्रतिक्रिया दिनुहोस !