निर्यातलाई दिगोपन दिन आन्तरिक उत्पादन बढाउनुपर्ने
काठमाडौं : मुलुकले निर्यातमा रेकर्ड तोडेको छ । गत आर्थिक वर्ष २०८१/८२ मा भएको यो कारोबार व्यापारका लागि उत्साहजनक छ । वार्षिक ८१.८० प्रतिशतले निर्यात वृद्धि भएर नयाँ रेकर्ड बन्यो । यो हदसम्म सफल हुनुमा उत्कृष्ट १० निर्यातित वस्तु सोयाविनको तेल, फलाम र स्टिलका उत्पादनहरू, धागो, सूर्यमुखी तेल, ऊनी कार्पेट, तयारी पोसाक, जुट र जुटका उत्पादनहरू, जुसहरू, अलैंची र प्लाइउड हुन् । यससँगै, नेपालबाट निकासी भएका प्रमुख वस्तुहरूमा ऊनी फेल्टका उत्पादन, चिया, कुकुर विरालाका आहारा, पिना, पश्मिना सल, कपडा, कत्था, पामतेल, चाउचाउ, सिमेन्ट प्रमुख छन् ।
नेपालबाट अघिल्लो वर्षको १२ महिनामा कुल १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख ४४ हजार रुपैयाँ बराबरको निर्यात गरिएको थियो । यसपटक निर्यात उक्त दरले बढेर २ खर्ब ७७ अर्ब ३ करोड २ लाख २ हजार रुपैयाँ पुगेको छ । यसअनुसार अघिल्लो वर्षको तुलनामा १ खर्ब २४ अर्ब ६४ करोड ८९ लाख ५७ हजार रुपैयाँले निर्यात बढेको हो । यो वृद्धि अघिल्लो आर्थिक वर्षको तुलनामा निकै माथि रहेको तथ्यांकले देखाएको छ ।
यद्यपि आयातको तुलनामा निर्यात अझै धेरै कम छ । मुलुकभित्र उत्पादनको प्रचुर सम्भाव्यता भए पनि वैदेशिक आयातमा निर्भर पर्नुपर्दा आर्थिक वर्ष २०८१/८२ मा मात्रै कुल १८ खर्ब ४ अर्ब १२ करोड रुपैयाँको वस्तु खरिद गरिएको छ । वार्षिक आयात गत वर्षभन्दा १३.२५ प्रतिशतले वृद्धि भएको छ । किनभने अघिल्लो आवको असारसम्ममा १५ खर्ब ९२ अर्ब ९८ करोड ५५ लाख आयात भएको थियो । कुल आयातमा करिब ६ प्रतिशत अर्थात् १ खर्ब ४४ अर्ब रुपैयाँ हाराहारीको सूर्यमुखी तेल, पाम र भटमास तेलको कच्चापदार्थ भित्रिएको छ । तर, सोही तेल नेपालबाट १ खर्ब २१ ऋर्ब रुपैयाँ बराबरको निर्यात भएको तथ्यांकमा देखिन्छ । यद्यपि नेपालमा पनि केही उपभोग भएको हुनसक्छ ।
अहिलेको निर्यातमा ऐतिहासिक रेकर्ड देखिनु सकारात्ममक पक्ष हो तर यसलाई कायम गरी अझ बढाउन सम्बद्ध सबै पक्षले जोड दिनुपर्छ । विश्वभर नै आफ्नो मात्रै कच्चा पदार्थ हुने कुनै देश हुँदैन । अरू मुलुकबाट कच्चापदार्थ ल्याएर त्यसलाई फाइन उत्पादन गरी सम्भावित बजार हेरेर बिक्री गर्ने प्रवृत्ति छ ।
कृष्णराज बजगाईं
वरिष्ठ अधिकृत
व्यापार तथा निकासी प्रबद्र्धन केन्द्र
कुल वैदेशिक व्यापारमा निर्यातको योगदान १३.३ प्रतिशत
आर्थिक वर्ष २०८१/८२ मा आर्थिक वर्षको तुलनामा निकासी र पैठारी दुवैमा वृद्धि भयो । जसले, व्यापार घाटामा ६ प्रतिशतले वृद्धि भई कुल १५ खर्ब २७ अर्ब ९ करोड रुपैयाँ पुगेको छ । व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रको प्रारम्भिक तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालको कुल वैदेशिक व्यापार (वस्तुतर्फ) अघिल्लो वर्ष २०८०/८१ को तुलनामा १९.२ प्रतिशतले वृद्धि भई २० खर्ब ८१ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः १३.३ प्रतिशत र ८६.७ प्रतिशत रह्यो । आव २०८०/८१ मा निकासी पैठारी व्यापारको अनुपात १:१०.५ रहेकोमा आव २०८१/८२ मा निकासी पैठारी व्यापारको अनुपात १:६.५ रह्यो ।
आयातको तुलनामा निर्यात धेरै कम भए पनि यसमा क्रमशः सुधार हुँदैछ । तर, दुर्भाग्य कच्चापदार्थ आयात गरेर निर्यात गर्ने वस्तु अधिक छ । जसमा कुल निर्यातमा भटमासको हिस्सा मात्रै ३८.५ प्रतिशत हुँदा समग्रमा निर्यात बढेको छ । गत वर्ष १ खर्ब ६ अर्ब ७९ करोडको भटमास तेल निर्यात हुँदा यसको कच्चापदार्थ मात्रै १ खर्ब ८ अर्ब आयात गरिएको देखिन्छ । यसकारण आयातीत वस्तुकै हिस्सा निर्यातमा बढी देखिनुले स्थायी नहुने सरोकारवालाको गुनासो छ । कच्चा पदार्थ ल्याएर निर्यात बढाए पनि यसलाई दिगो रूपमा कायम राख्दै अझ उत्पादन बढाई भविष्यमा निकासीलाई बर्सेनि रेकर्ड बनाउँदै जानुपर्ने जरुरी छ ।
मुख्य निर्यातीत वस्तु र तिनको योगदान
कुल निर्यातमा भटमासको हिस्सा अधिक, ३८.५ प्रतिशत आर्थिक वर्ष २०८१/८२ मा नेपालको निर्यात वृद्धिमा केही प्रमुख वस्तुहरूको भूमिका महत्वपूर्ण रह्यो । जसमा पहिलो सोयाबिनको तेल छ । निर्यातको सबभन्दा ठूलो हिस्सा ओगट्दै सोयाबिनको तेलले १ खर्ब ६ अर्ब ७९ करोड १२ लाख ३९ हजार रुपैयाँको योगदान दिएको छ । यसको निर्यातमा ११,७३२.८१ प्रतिशतको आश्चर्यजनक वृद्धि देखिएको छ । जुन कुल निर्यातको ३८.५ प्रतिशत हिस्सा हुन आउँछ । तर, नेपालमा भटमासको कच्चापदार्थ उत्पादन नहुँदा विभिन्न मुलुकबाट आयात गरेर ल्याउनुपर्ने बाध्यता छ ।
यसकारण गत आवमा मात्रै कच्चा भटमास तेलको आयातमा समेत ७११.९६ प्रतिशतले वृद्धि भई १ खर्ब ८ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । आयातमा नै ठूलो मात्रामा वृद्धि भएकाले नेपालमा प्रशोधन गरेर थोरै मार्जिन राखेर मात्रै बिक्री भएको देखिन्छ । यसरी कच्चा पदार्थ आयात गरेर निर्यामा ठूलो हिस्सा ओगटेको भटमासको तेल जस्ता उत्पादनले मुलुकको निर्यात स्थायी नभएको नेपाल निर्यात परिषद्का अध्यक्ष नरेशलाल श्रेष्ठ बताउँछन् । उनका अनुसार निर्यात बढेको कारण सबैभन्दा बढी भटमासको तेलले गर्दा हो । ‘कच्चा पदार्थ आयात गरेर त्यसलाई प्रशोधन गरी निर्यात गर्ने यस्ता खाले वस्तु मुलुकको स्थायी निर्यात होइन । कुनै पनि बेला भारत सरकारले यसलाई नियन्त्रण गर्न सक्छ । कहिले बीएसआईअनुसार भएन, गुणस्तर पुगेन भनेर विभिन्न वहानामा नियन्त्रण गर्न सक्छ ।
पहिला पनि पाम आयल नेपालबाट धैरै निर्यात भएको थियो । त्यतिबेला भारतले नियन्त्रण गर्दियो,’ अध्यक्ष श्रेष्ठले भने, ‘निर्यात बढ्नु राम्रो हो तर स्थायी रूपमा बढ्ने खालको हुनु जरुरी छ । बरु मौलिक कच्चा पदार्थ भएको वस्तुको निर्यात बढ्नुपर्यो ।’ नेपालका मौलिक कच्चा पदार्थहरू अलैंची, जडिबुटी, हातेकागज, चिया, कफी लगायतको निर्यात बढे स्थायित्व हुने उनको तर्क छ । किनभने यस्ता उत्पादनको कच्चापदार्थ नेपालभित्रै हुने भएकाले विदेशबाट ल्याउनु नपर्ने उनले बताए ।
‘यस्ता स्वदेशी कच्चापदार्थकै उत्पादनको निर्यात बढाए वास्तविक र टिकाउ हुन्छ । यसले शतप्रतिशत विदेशी मुद्रा नेपालमै हुन्छ । किनभने १ खर्बको निर्यातमा ८० लाखको कच्चा पदार्थ विदेशबाट आयात गर्नुपर्दा मुलुकलाई खासै फाईदा हुँदैन । यसकारण आफ्नै मौलिक कच्चापदार्थका उत्पादन निर्यात बढाउनुपर्छ,’ उनले थपे । अझै निर्यातमा फड्को मार्न सरकारी जग्गा भाडामा दिए लागत कम लाग्ने, उद्योग बनाउन सहुलियत दरमा ऋण उपलब्ध हुने, जनशक्ति बढाउन तालिमहरू उपलब्ध गराउन र आधुनिक प्रविधिहरू भित्र्याउन र कृषिमा बढी जोड दिएर दीर्घकालीन योजना बनाउन आवश्यक भएकोमा उनले सरकारको ध्यानाकर्षण गराए ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका वरिष्ठ अधिकृत कृष्णराज बजगाईं निर्यातमा ऐतिहासिक रेकर्ड देखिनु सकारात्मक पक्ष भएको तर यसलाई कायम गरी अझ बढाउन सम्बद्ध सबै पक्षले जोड दिनुपर्ने बताउँछन् । विश्वभर नै आफ्नो मात्रै कच्चा पदार्थ हुने कुनै देश नहुने तर्क गर्दै बरु यसैलाई दिगो बनाउनतर्फ लाग्न उनले सुझाव दिए । अरू मुलुकबाट कच्चापदार्थ ल्याएर त्यसलाई उत्पादन गरी सम्भावित बजार हेरेर बिक्री गर्ने प्रवृत्ति रहेको उनले औंल्याए । ‘बरु भइरहेको निर्यातलाई कसरी दिगो बनाउने भन्नेमा सबैको ध्यान जानुपर्छ ।
जुन वस्तुको निर्यात बढेको छ, त्यसलाई टिकाइ राख्न निजी क्षेत्र, नागरिक समाज, सञ्चार माध्यम र सरकारको भूमिका जरुरी छ,’ वरिष्ठ अधिकृत बजगाईंले अन्नपूर्णसँग भने, ‘अहिलेको २ सय ७७ अर्बको निर्यातलाई कायम गर्दै अझ यसभन्दा माथि जान वस्तु विकासका कार्यक्रमहरू, आर्थिक कूटनीतिक कार्यक्रमहरू, बजार अनुसन्धान, स्वदेशी उद्योगलाई संरक्षण गर्ने र उनीहरूलाई उत्प्रेरणा दिने पक्षमा ध्यान दिनु आवश्यक छ । साथै व्यापार सम्बद्ध पूर्वाधार बढाउने र प्रक्रियागत सहजता जुटाउने पक्षमा ध्यान दिँदै जानुपर्छ ।’ यसले अझै निर्यातलाई प्रोत्साहिन गर्ने भएकाले सरोकारवाला पक्षले निर्यातलाई दिगो रूपमा अझै बढाउनमा भूमिका खेल्नुपर्ने उनको भनाइ छ ।
निर्यातको आकार मात्रै हेर्दा गत वर्षको तुलनामा छलाङ मारेको देखिन्छ । तर, हामी निर्यातको सवालमा सजग हुनु जरुरी छ । सूर्यमुखी तेल, पाम र भटमास तेलको निर्यात जोड्दा कुल निर्यातको करिब ४४ प्रतिशत हिस्सा ओगटेको छ ।
रवि सिंह सैंजु
व्यापार विज्ञ एवं
पूर्वसहसचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय
नेपालबाट ३ अर्ब ६२ करोडको कुकुर/बिरालोको खाना निर्यात
नेपालमा बनेका कुकुर वा बिरालोको खानाको विभिन्न मुलुकमा माग बढिरहेको छ । जसलाई तथ्यांकले पनि पुष्ट्याउँछ । कुकुर वा बिरालोको खानाको निर्यात अघिल्लो वर्षको तुलनामा २२.८० प्रतिशतले वृद्धि भएको छ । जसको मूल्य वृद्धि भएर गत आवमा मात्रै ३ अर्ब ६२ करोड ९८ लाख १७ हजार रुपैयाँ पुगेको छ । केही वस्तुहरूको निर्यातमा भने कमी आएको देखिएको छ । जसमा सिमेन्ट क्लिंकरको निर्यातमा ६२.९४ प्रतिशतको ठूलो गिरावट आएको छ ।
यसरी घट्दा पनि गत आव ६९ करोड ७३ लाख ७८ हजार रुपैयाँ बराबरको निर्यात भयो । यसैगरी, नेपालबाट विभिन्न मुलुकमा लेदर, दाल, ढक्कन, टोपी र प्लास्टिकका अन्य सामानहरू, हस्तशिल्प (चित्रकला, मूर्तिकला र काष्टकला), चोकर, कपासको बोरा र झोला, चाँदीका गहनाका सामान, सुनका गहना जस्ता बस्तुहरू निर्यात हुने गर्छन् । यस्ता बस्तुले कुल निर्यातको करीब ०.१ प्रतिशत हाराहारी हिस्सा ओगट्ने गरेको देखिन्छ । अझ अन्य शीर्षकमा मात्रै २ खर्ब ७ करोड ६६ लाख ४७ हजार १ सय रुपैयाँ बराबरको भएको छ । जसमा २८.११ प्रतिशतले वृद्धि भएको छ ।
अन्य वस्तुहरूले मात्रै कुल निर्यातको १० प्रतिशत हिस्सा ओगटेको छ ।समग्रमा, नेपालको निर्यात व्यापारमा सोयाबिनको तेल र सूर्यमुखी तेलको विशेष योगदानले उल्लेख्य वृद्धि हासिल गरेको देखिएको छ । जबकि अन्य केही परम्परागत निर्यात वस्तुहरूमा भने गिरावट आएको छ । यो तथ्यांकले नेपालको निर्यात संरचनामा आएको परिवर्तन र केही प्रमुख वस्तुहरूको निर्यात क्षमतामा आएको तीव्र वृद्धिलाई संकेत गरेको छ ।
कुल निर्यातमा ८१.१० प्रतिशत हिस्सा भारततर्फ मात्रै
नेपालले गर्ने आयातको बढी हिस्सा छिमेकी मुलुक भारत भएसँगै निर्यात ( निकासी)मा पनि अधिक छ । नेपालको निकासी व्यापारमा प्रमुख स्थान ओगट्ने भारततर्फको निर्यात २ खर्ब २४ अर्व ६८ करोड पुगेको छ । यो अघिल्लो वर्षकोभन्दा समीक्षा अवधिमा ११७.८ प्रतिशतले बढी हो । जसअनुरुप नेपालको कुल निकासीमा आर्थिक वर्षका सो हिस्सा ८१.१० प्रतिशत पुगेको छ ।
जबकी अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भारततर्फको हिस्सा ६७.७१ प्रतिशत मात्रै थियो । यस्तै, नेपालको निर्यात व्यापारमा महत्वपूर्ण रहेका अन्य मुलुकहरूमा संयुक्त राज्य अमेरिका, जर्मनी, बेलायत, यूएई, चीन, फ्रान्स, अष्ट्रेलिया, जापान, इटाली, क्यानडा, टर्की, नेदरल्यान्ड्स र अफगानिस्तान प्रमुख देखिन्छन् ।
आयातमा नै कच्चापदार्थको ठूलो हिस्सा भएकाले नेपालमा प्रशोधन गरेर थोरै मार्जिन राखी मात्रै बिक्री भएको देखिन्छ । यसरी कच्चा पदार्थ आयात गरेर निर्यातमा ठूलो हिस्सा ओगटेको भटमासको तेल जस्ता उत्पादनले मुलुकको निर्यात स्थायी हुँदैन । नेपालका मौलिक कच्चा पदार्थहरू अलैंची, जडिबुटी, हाते कागज, चिया, कफिलगायतकोनिर्यात बढे स्थायी हुन्छ ।
नरेशलाल श्रेष्ठ
अध्यक्ष
नेपाल निर्यात परिषद्
आयातको ठूलो हिस्सा पेट्रोलियम पदार्थमा
वर्षमा २ खर्ब ८७ अर्ब बराबर समग्रमा आयात (पैठारी) तर्फ सधैं अधिक हिस्सा ओगट्ने पेट्रोलियम पदार्थको आयातमा ४.२९ प्रतिशतले ह्रास आएको छ । आव २०८१/८२ मा अघिल्लो आर्थिक वर्षको तुलनामा सो दरले आयात घट्दा २ खर्ब ८७ अर्ब ६५ करोडको आयात भयो । तर, नेपालमा फलाम तथा स्टिल र तिनका उत्पादनहरूको निर्यातमा दोस्रो हिस्सा ओगटेको यसले आयात १ खर्ब ६२ अर्ब ५० करोड रुपैयाँको गर्यो ।
यो अघिल्लो वर्षकोभन्दा १०.१८ प्रतिशतले बढी हो । यसैगरी, मेसिनरी तथा पाट्र्सको आयातमा १२.९८ प्रतिशतले वृद्धि भई १ खर्ब २४ अर्ब १५ करोड पुगेको छ । यसपछि कच्चा भटमास तेलको आयातमा ७११.९६ प्रतिशतले वृद्धि भई १ खर्ब ८ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ ।
औषधिको आयातमा ०.७९ प्रतिशतले बढेको छ । जसले गत आव ४२ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ । यसैगरी, इलेक्ट्रिक र इलेक्ट्रोनिक सामग्रीहरूको ७३ अर्ब ८८ करोड, यातायातका साधन र तिनका पार्टपुर्जाको १ खर्ब ९ अर्ब १२ करोड, कच्चा पाम
तेल ६ अर्ब ८२ करोड, अन्नको ६० अर्ब ७८ करोड, तयारी पोसाकको ४१ खर्ब ७ अर्ब र दूरसञ्चारका सामग्रीको ४३ अर्ब ८ करोड रुपैयाँ बराबरको आयात भएको छ ।
यस्तै, गत आव सुनको आयातमा २३.१७ प्रतिशतले ह्रास आई १९ अर्ब ९५ करोड भित्रियो । यसअनुरूप नेपालले आयात गर्ने प्रमुख स्थानमा रहेका मुलुकहरूमा भारत, चीन, अर्जेन्टिना, संयुक्त राज्य अमेरिका, यूएई, युक्रेन, अष्ट्रेलिया, इन्डोनेसिया, थाइल्यान्ड, मलेसिया, ब्राजिल, फ्रान्स, कतार र क्यानडा प्रमुख रूपमा छन् ।
आन्तरिक उत्पादन बढाउन सुझाव
निर्यातको आकार मात्रै हेर्दा गत वर्ष निर्यातमा छलाङ मारेको व्यापार विज्ञ रवि सिंह सैञ्जु बताउँछन् । उनका अनुसार अघिल्लो वर्ष व्यापार (आयात तथा निर्यात) अनुपात ९.५ प्रतिशत थियो । तर, अहिले यस्तो अनुपात घटेर ६.५१ प्रतिशतमा झरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका पूर्व सहसचिव सैंजु भन्छन्, ‘यसरी फिगर हेर्दा निर्यात राम्रै देखिन्छ । तर, हामी निर्यातको सवालमा सजग हुनु जरुरी छ । यसबारेमा सरोकारवालाको ध्यान जानुपर्छ ।’ सूर्यमुखी तेल, पाम र भटमास तेलको निर्यात जोड्दा कुल निर्यातको करिब ४४ प्रतिशत हिस्सा ओगटेको छ । यसको हिस्सा बढ्नुको कारण पनि भारतले उक्त तेल आयातमा कर बढायो । अरू देशबाट नेपालमा कम मूल्यमा जान सम्भव भयो ।
‘भारतसँग नेपालको करको दर फरकले यहाँबाट तेल निर्यात भएको हो,’ उनले अन्नपूर्णसँग भने, ‘नेपालको उत्पादन, गुणस्तर बढेर निर्यात भएको स्थिति होइन । अरू देशबाट एकमुष्ट ट्यांकरमा तेल ल्याएर प्याकिङ गरेर मात्रै पठाउने काम भएको छ ।’आयातीत कच्चा पदार्थलाई प्रशोधन तथा प्याकेजिङलगायत गर्दा न्यूनतम २० प्रतिशत भ्यालु याड गर्नुपर्छ भन्ने विषय कागजमा मात्र भएको र यथार्थमा थोरै हुने गरेको उनको दाबी छ ।
झट्ट हेर्दा निर्यात आकार बढे पनि यो गति दीर्घकालीनसम्म नरहने भएकाले आन्तरीक उत्पादनलाई नै जोड दिन उनले सुझाव दिए । यससँगै अन्य निर्यातमा सम्भावना भएका अलैंचीलगायतका कच्चा वस्तुहरू बाहिरिएका छन् । तर, त्यही वस्तुलाई प्रोसेसिङ, प्याकेजिङ गरेर फाइन उत्पादन पठाउन सके अझै धेरैमा बिक्री गर्न सम्भव हुने भएकाले यसमा जोड दिन उनले सुझाए ।
तेलको कच्चा पदार्थ मात्रै नभई नेपालमा वार्षिक १० अर्ब रुपैयाँको स्याउ आयात गर्नुपरेको छ । यस्तो उत्पादन नेपालको हुम्ला, जुम्लामा अधिक छ तर त्यसको बजारीकरण गर्न नसक्दा विदेशबाट अर्बौंको स्याउ खरिद गर्नु दुर्भाग्य पूर्ण भएको व्यापार विज्ञ सैञ्जु बताउँछन् ।
निर्यातमा फलाम र स्टिलको हिस्सा ५.९ प्रतिशत, धागोको ५.२ प्रतिशत
समग्रमा दोस्रो बढी निर्यात हुनेमा फलाम र स्टीलका उत्पादनहरू छन् । यसको मूल्य १६ अर्ब ३५ करोड ७१ लाख ९२ हजार रुपैयाँ रहेको छ । यद्यपि, यसमा ६.०१ प्रतिशतको सामान्य गिरावट आएको छ । तेस्रो बढी निर्यात हुनेमा धागो (यार्न)को निर्यात रहेको छ । जुन अघिल्लो वर्षभन्दा १९.८५ प्रतिशतले वृद्धि भई १४ अर्ब ३९ करोड ७७ लाख ५८ हजार रुपैयाँ पुगेको छ । यो कुल निर्यातको ५.२ प्रतिशत हो ।
चौथो बढी निर्यात भएको सूर्यमुखी तेल हो । यो निर्यात सूचीमा यसको भूमिका पनि महत्वपूर्ण छ । यसको निर्यात मूल्य १२ अर्ब ३२ करोड ६५ लाख ४४ हजार रुपैयाँ पुगेको छ, जसमा ७४३५.७२ प्रतिशतको उल्लेखनीय वृद्धि भएको छ । यसले कुल निर्यातको ४.४ प्रतिशत हिस्सा ओगटेको छ । यसपछि क्रमशः उनी कार्पेटको निर्यात मूल्य १० अर्ब ७७ करोड ६८ लाख ५६ हजार रुपैयाँ छ । जसमा १.९३ प्रतिशतको सामान्य वृद्धि देखिएको छ । यो कुल निर्यातको ३.९ प्रतिशत हो ।
बढी निर्यात हुनेमा तयारी पोशाक छैटौं स्थानका छ । ८ अर्ब ७५ करोडको पोसाक बिक्री गरिएको छ । जुन १ करोड ५८ लाख ८७ हजारको संख्यामा छ । अझ यो अघिल्लो वर्षकोभन्दा २.३९ प्रतिशतले कम हो । यद्यपि यसले कुल निर्यातको ३.२ प्रतिशत हिस्सा ओगटेको छ ।
यसपछि, प्लाइउडको निर्यातमा ४.२६ प्रतिशतले ह्रास आई ७ अर्ब ९ करोड रुपैयाँ पुगेको छ । यससँगै, जुट तथा जुटका सामानको निर्यात १६.८१ प्रतिशतले वृद्धि भई ८ अर्ब २३ करोड पुगेको छ । यसपछि जुसहरू पनि नेपालबाट राम्रै निर्यात भएको देखिन्छ । वार्षिक ७ अर्ब ७१ करोडको जुस निर्यात भएको छ । जुन कुल निर्यातको २.८ प्रतिशत हिस्सा हो । ७ अर्ब ७२ करोडको जुस निर्यात भएको छ । तर अघिल्लो वर्षको तुलनामा ११.४१ प्रतिशतले कम हो । यसैगरी अर्को प्रमुख निर्यातजन्य ऊनी फेल्टको निकासीमा ७.१६ प्रतिशतले वृद्धि भई ५ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । यस्तै, सूर्यमुखी तेलको निर्यातमा ७४३६ प्रतिशतले वृद्धि भई १२ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ ।
कृषिजन्य वस्तुको निर्यातमा अग्रणी स्थान हासिल गरिरहेको उत्पादन अलैंचीको निर्यातमा ३.२४ प्रतिशतले घट्यो । यद्यपि गत आवमा नेपालको ५औं मध्येको एक अलैंची पनि उत्कृष्ट १० निर्यातमा परेको छ । अलैंची गत आवमा ७ अर्ब ६८ करोडको विदेशमा बिक्री भयो । यो कुल निर्यातको २.८ प्रतिशत ओगटेको देखिन्छ ।
यसैगरी कृषिजन्य वस्तुको निर्यातमा अग्रणी स्थान हासिल गरिरहेको अर्को उत्पादन चियाको निर्यातमा २६.६४ प्रतिशतले वृद्धि भई ४ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । यता अदुवाको निर्यातमा भने अघिल्लो वर्षको तुलनामा ५०.३८ ले ह्रास आएको छ । जसले गर्दा गत वर्ष ५८ करोड रुपैयाँको मात्रै अदुवा निर्यात भयो । यससँगै, पिना (आयल केक) को निर्यातमा २२.८० प्रतिशतले वृद्धि भई ३ अर्ब ६३ करोड रुपैयाँ पुग्यो ।
प्रतिक्रिया दिनुहोस !