निर्यातलाई दिगोपन दिन आन्तरिक उत्पादन बढाउनुपर्ने

निर्यातलाई दिगोपन दिन आन्तरिक उत्पादन बढाउनुपर्ने

काठमाडौं : मुलुकले निर्यातमा रेकर्ड तोडेको छ । गत आर्थिक वर्ष २०८१/८२ मा भएको यो कारोबार व्यापारका लागि उत्साहजनक छ । वार्षिक ८१.८० प्रतिशतले निर्यात वृद्धि भएर नयाँ रेकर्ड बन्यो । यो हदसम्म सफल हुनुमा उत्कृष्ट १० निर्यातित वस्तु सोयाविनको तेल, फलाम र स्टिलका उत्पादनहरू, धागो, सूर्यमुखी तेल, ऊनी कार्पेट, तयारी पोसाक, जुट र जुटका उत्पादनहरू, जुसहरू, अलैंची र प्लाइउड हुन् । यससँगै, नेपालबाट निकासी भएका प्रमुख वस्तुहरूमा ऊनी फेल्टका उत्पादन, चिया, कुकुर विरालाका आहारा, पिना, पश्मिना सल, कपडा, कत्था, पामतेल, चाउचाउ, सिमेन्ट प्रमुख छन् ।

नेपालबाट अघिल्लो वर्षको १२ महिनामा कुल १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख ४४ हजार रुपैयाँ बराबरको निर्यात गरिएको थियो । यसपटक निर्यात उक्त दरले बढेर २ खर्ब ७७ अर्ब ३ करोड २ लाख २ हजार रुपैयाँ पुगेको छ । यसअनुसार अघिल्लो वर्षको तुलनामा १ खर्ब २४ अर्ब ६४ करोड ८९ लाख ५७ हजार रुपैयाँले निर्यात बढेको हो । यो वृद्धि अघिल्लो आर्थिक वर्षको तुलनामा निकै माथि रहेको तथ्यांकले देखाएको छ ।

यद्यपि आयातको तुलनामा निर्यात अझै धेरै कम छ । मुलुकभित्र उत्पादनको प्रचुर सम्भाव्यता भए पनि वैदेशिक आयातमा निर्भर पर्नुपर्दा आर्थिक वर्ष २०८१/८२ मा मात्रै कुल १८ खर्ब ४ अर्ब १२ करोड रुपैयाँको वस्तु खरिद गरिएको छ । वार्षिक आयात गत वर्षभन्दा १३.२५ प्रतिशतले वृद्धि भएको छ । किनभने अघिल्लो आवको असारसम्ममा १५ खर्ब ९२ अर्ब ९८ करोड ५५ लाख आयात भएको थियो । कुल आयातमा करिब ६ प्रतिशत अर्थात् १ खर्ब ४४ अर्ब रुपैयाँ हाराहारीको सूर्यमुखी तेल, पाम र भटमास तेलको कच्चापदार्थ भित्रिएको छ । तर, सोही तेल नेपालबाट १ खर्ब २१ ऋर्ब रुपैयाँ बराबरको निर्यात भएको तथ्यांकमा देखिन्छ । यद्यपि नेपालमा पनि केही उपभोग भएको हुनसक्छ ।

अहिलेको निर्यातमा ऐतिहासिक रेकर्ड देखिनु सकारात्ममक पक्ष हो तर यसलाई कायम गरी अझ बढाउन सम्बद्ध सबै पक्षले जोड दिनुपर्छ । विश्वभर नै आफ्नो मात्रै कच्चा पदार्थ हुने कुनै देश हुँदैन । अरू मुलुकबाट कच्चापदार्थ ल्याएर त्यसलाई फाइन उत्पादन गरी सम्भावित बजार हेरेर बिक्री गर्ने प्रवृत्ति छ । 
कृष्णराज बजगाईं
वरिष्ठ अधिकृत
व्यापार तथा निकासी प्रबद्र्धन केन्द्र

कुल वैदेशिक व्यापारमा निर्यातको योगदान १३.३ प्रतिशत 
आर्थिक वर्ष २०८१/८२ मा आर्थिक वर्षको तुलनामा निकासी र पैठारी दुवैमा वृद्धि भयो । जसले, व्यापार घाटामा ६ प्रतिशतले वृद्धि भई कुल १५ खर्ब २७ अर्ब ९ करोड रुपैयाँ पुगेको छ । व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रको प्रारम्भिक तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालको कुल वैदेशिक व्यापार (वस्तुतर्फ) अघिल्लो वर्ष २०८०/८१ को तुलनामा १९.२ प्रतिशतले वृद्धि भई २० खर्ब ८१ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः १३.३ प्रतिशत र ८६.७ प्रतिशत रह्यो । आव २०८०/८१ मा निकासी पैठारी व्यापारको अनुपात १:१०.५ रहेकोमा आव २०८१/८२ मा निकासी पैठारी व्यापारको अनुपात १:६.५ रह्यो ।

आयातको तुलनामा निर्यात धेरै कम भए पनि यसमा क्रमशः सुधार हुँदैछ । तर, दुर्भाग्य कच्चापदार्थ आयात गरेर निर्यात गर्ने वस्तु अधिक छ । जसमा कुल निर्यातमा भटमासको हिस्सा मात्रै ३८.५ प्रतिशत हुँदा समग्रमा निर्यात बढेको छ । गत वर्ष १ खर्ब ६ अर्ब ७९ करोडको भटमास तेल निर्यात हुँदा यसको कच्चापदार्थ मात्रै १ खर्ब ८ अर्ब आयात गरिएको देखिन्छ । यसकारण आयातीत वस्तुकै हिस्सा निर्यातमा बढी देखिनुले स्थायी नहुने सरोकारवालाको गुनासो छ । कच्चा पदार्थ ल्याएर निर्यात बढाए पनि यसलाई दिगो रूपमा कायम राख्दै अझ उत्पादन बढाई भविष्यमा निकासीलाई बर्सेनि रेकर्ड बनाउँदै जानुपर्ने जरुरी छ । 

मुख्य निर्यातीत वस्तु र तिनको योगदान
कुल निर्यातमा भटमासको हिस्सा अधिक, ३८.५ प्रतिशत आर्थिक वर्ष २०८१/८२ मा नेपालको निर्यात वृद्धिमा केही प्रमुख वस्तुहरूको भूमिका महत्वपूर्ण रह्यो । जसमा पहिलो सोयाबिनको तेल छ । निर्यातको सबभन्दा ठूलो हिस्सा ओगट्दै सोयाबिनको तेलले १ खर्ब ६ अर्ब ७९ करोड १२ लाख ३९ हजार रुपैयाँको योगदान दिएको छ । यसको निर्यातमा ११,७३२.८१ प्रतिशतको आश्चर्यजनक वृद्धि देखिएको छ । जुन कुल निर्यातको ३८.५ प्रतिशत हिस्सा हुन आउँछ । तर, नेपालमा भटमासको कच्चापदार्थ उत्पादन नहुँदा विभिन्न मुलुकबाट आयात गरेर ल्याउनुपर्ने बाध्यता छ । 

यसकारण गत आवमा मात्रै कच्चा भटमास तेलको आयातमा समेत ७११.९६ प्रतिशतले वृद्धि भई १ खर्ब ८ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । आयातमा नै ठूलो मात्रामा वृद्धि भएकाले नेपालमा प्रशोधन गरेर थोरै मार्जिन राखेर मात्रै बिक्री भएको देखिन्छ । यसरी कच्चा पदार्थ आयात गरेर निर्यामा ठूलो हिस्सा ओगटेको भटमासको तेल जस्ता उत्पादनले मुलुकको निर्यात स्थायी नभएको नेपाल निर्यात परिषद्का अध्यक्ष नरेशलाल श्रेष्ठ बताउँछन् । उनका अनुसार निर्यात बढेको कारण सबैभन्दा बढी भटमासको तेलले गर्दा हो । ‘कच्चा पदार्थ आयात गरेर त्यसलाई प्रशोधन गरी निर्यात गर्ने यस्ता खाले वस्तु मुलुकको स्थायी निर्यात होइन । कुनै पनि बेला भारत सरकारले यसलाई नियन्त्रण गर्न सक्छ । कहिले बीएसआईअनुसार भएन, गुणस्तर पुगेन भनेर विभिन्न वहानामा नियन्त्रण गर्न सक्छ । 

पहिला पनि पाम आयल नेपालबाट धैरै निर्यात भएको थियो । त्यतिबेला भारतले नियन्त्रण गर्दियो,’ अध्यक्ष श्रेष्ठले भने, ‘निर्यात बढ्नु राम्रो हो तर स्थायी रूपमा बढ्ने खालको हुनु जरुरी छ । बरु मौलिक कच्चा पदार्थ भएको वस्तुको निर्यात बढ्नुपर्‍यो ।’ नेपालका मौलिक कच्चा पदार्थहरू अलैंची, जडिबुटी, हातेकागज, चिया, कफी लगायतको निर्यात बढे स्थायित्व हुने उनको तर्क छ । किनभने यस्ता उत्पादनको कच्चापदार्थ नेपालभित्रै हुने भएकाले विदेशबाट ल्याउनु नपर्ने उनले बताए । 

‘यस्ता स्वदेशी कच्चापदार्थकै उत्पादनको निर्यात बढाए वास्तविक र टिकाउ हुन्छ । यसले शतप्रतिशत विदेशी मुद्रा नेपालमै हुन्छ । किनभने १ खर्बको निर्यातमा ८० लाखको कच्चा पदार्थ विदेशबाट आयात गर्नुपर्दा मुलुकलाई खासै फाईदा हुँदैन । यसकारण आफ्नै मौलिक कच्चापदार्थका उत्पादन निर्यात बढाउनुपर्छ,’ उनले थपे । अझै निर्यातमा फड्को मार्न सरकारी जग्गा भाडामा दिए लागत कम लाग्ने, उद्योग बनाउन सहुलियत दरमा ऋण उपलब्ध हुने, जनशक्ति बढाउन तालिमहरू उपलब्ध गराउन र आधुनिक प्रविधिहरू भित्र्याउन र कृषिमा बढी जोड दिएर दीर्घकालीन योजना बनाउन आवश्यक भएकोमा उनले सरकारको ध्यानाकर्षण गराए । 

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका वरिष्ठ अधिकृत कृष्णराज बजगाईं निर्यातमा ऐतिहासिक रेकर्ड देखिनु सकारात्मक पक्ष भएको तर यसलाई कायम गरी अझ बढाउन सम्बद्ध सबै पक्षले जोड दिनुपर्ने बताउँछन् । विश्वभर नै आफ्नो मात्रै कच्चा पदार्थ हुने कुनै देश नहुने तर्क गर्दै बरु यसैलाई दिगो बनाउनतर्फ लाग्न उनले सुझाव दिए । अरू मुलुकबाट कच्चापदार्थ ल्याएर त्यसलाई उत्पादन गरी सम्भावित बजार हेरेर बिक्री गर्ने प्रवृत्ति रहेको उनले औंल्याए । ‘बरु भइरहेको निर्यातलाई कसरी दिगो बनाउने भन्नेमा सबैको ध्यान जानुपर्छ ।

जुन वस्तुको निर्यात बढेको छ, त्यसलाई टिकाइ राख्न निजी क्षेत्र, नागरिक समाज, सञ्चार माध्यम र सरकारको भूमिका जरुरी छ,’ वरिष्ठ अधिकृत बजगाईंले अन्नपूर्णसँग भने, ‘अहिलेको २ सय ७७ अर्बको निर्यातलाई कायम गर्दै अझ यसभन्दा माथि जान वस्तु विकासका कार्यक्रमहरू, आर्थिक कूटनीतिक कार्यक्रमहरू, बजार अनुसन्धान, स्वदेशी उद्योगलाई संरक्षण गर्ने र उनीहरूलाई उत्प्रेरणा दिने पक्षमा ध्यान दिनु आवश्यक छ । साथै व्यापार सम्बद्ध पूर्वाधार बढाउने र प्रक्रियागत सहजता जुटाउने पक्षमा ध्यान दिँदै जानुपर्छ ।’ यसले अझै निर्यातलाई प्रोत्साहिन गर्ने भएकाले सरोकारवाला पक्षले निर्यातलाई दिगो रूपमा अझै बढाउनमा भूमिका खेल्नुपर्ने उनको भनाइ छ । 

निर्यातको आकार मात्रै हेर्दा गत वर्षको तुलनामा छलाङ मारेको देखिन्छ । तर, हामी निर्यातको सवालमा सजग हुनु जरुरी छ । सूर्यमुखी तेल, पाम र भटमास तेलको निर्यात जोड्दा कुल निर्यातको करिब ४४ प्रतिशत हिस्सा ओगटेको छ ।  
रवि सिंह सैंजु
व्यापार विज्ञ एवं
पूर्वसहसचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय 
 

नेपालबाट ३ अर्ब ६२ करोडको कुकुर/बिरालोको खाना निर्यात
नेपालमा बनेका कुकुर वा बिरालोको खानाको विभिन्न मुलुकमा माग बढिरहेको छ । जसलाई तथ्यांकले पनि पुष्ट्याउँछ । कुकुर वा बिरालोको खानाको निर्यात अघिल्लो वर्षको तुलनामा २२.८० प्रतिशतले वृद्धि भएको छ । जसको मूल्य वृद्धि भएर गत आवमा मात्रै ३ अर्ब ६२ करोड ९८ लाख १७ हजार रुपैयाँ पुगेको छ । केही वस्तुहरूको निर्यातमा भने कमी आएको देखिएको छ । जसमा सिमेन्ट क्लिंकरको निर्यातमा ६२.९४ प्रतिशतको ठूलो गिरावट आएको छ । 

यसरी घट्दा पनि गत आव ६९ करोड ७३ लाख ७८ हजार रुपैयाँ बराबरको निर्यात भयो । यसैगरी, नेपालबाट विभिन्न मुलुकमा लेदर, दाल, ढक्कन, टोपी र प्लास्टिकका अन्य सामानहरू, हस्तशिल्प (चित्रकला, मूर्तिकला र काष्टकला), चोकर, कपासको बोरा र झोला, चाँदीका गहनाका सामान, सुनका गहना जस्ता बस्तुहरू निर्यात हुने गर्छन् । यस्ता बस्तुले कुल निर्यातको करीब ०.१ प्रतिशत हाराहारी हिस्सा ओगट्ने गरेको देखिन्छ । अझ अन्य शीर्षकमा मात्रै २ खर्ब ७ करोड ६६ लाख ४७ हजार १ सय रुपैयाँ बराबरको भएको छ । जसमा २८.११ प्रतिशतले वृद्धि भएको छ । 

अन्य वस्तुहरूले मात्रै कुल निर्यातको १० प्रतिशत हिस्सा ओगटेको छ ।समग्रमा, नेपालको निर्यात व्यापारमा सोयाबिनको तेल र सूर्यमुखी तेलको विशेष योगदानले उल्लेख्य वृद्धि हासिल गरेको देखिएको छ । जबकि अन्य केही परम्परागत निर्यात वस्तुहरूमा भने गिरावट आएको छ । यो तथ्यांकले नेपालको निर्यात संरचनामा आएको परिवर्तन र केही प्रमुख वस्तुहरूको निर्यात क्षमतामा आएको तीव्र वृद्धिलाई संकेत गरेको छ ।

कुल निर्यातमा ८१.१० प्रतिशत हिस्सा भारततर्फ मात्रै 
नेपालले गर्ने आयातको बढी हिस्सा छिमेकी मुलुक भारत भएसँगै निर्यात ( निकासी)मा पनि अधिक छ । नेपालको निकासी व्यापारमा प्रमुख स्थान ओगट्ने भारततर्फको निर्यात २ खर्ब २४ अर्व ६८ करोड पुगेको छ । यो अघिल्लो वर्षकोभन्दा समीक्षा अवधिमा ११७.८ प्रतिशतले बढी हो । जसअनुरुप नेपालको कुल निकासीमा आर्थिक वर्षका सो हिस्सा ८१.१० प्रतिशत पुगेको छ । 

जबकी अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भारततर्फको हिस्सा ६७.७१ प्रतिशत मात्रै थियो । यस्तै, नेपालको निर्यात व्यापारमा महत्वपूर्ण रहेका अन्य मुलुकहरूमा संयुक्त राज्य अमेरिका, जर्मनी, बेलायत, यूएई, चीन, फ्रान्स, अष्ट्रेलिया, जापान, इटाली, क्यानडा, टर्की, नेदरल्यान्ड्स र अफगानिस्तान प्रमुख देखिन्छन् । 

आयातमा नै कच्चापदार्थको ठूलो हिस्सा भएकाले नेपालमा प्रशोधन गरेर थोरै मार्जिन राखी मात्रै बिक्री भएको देखिन्छ । यसरी कच्चा पदार्थ आयात गरेर निर्यातमा ठूलो हिस्सा ओगटेको भटमासको तेल जस्ता उत्पादनले मुलुकको निर्यात स्थायी हुँदैन । नेपालका मौलिक कच्चा पदार्थहरू अलैंची, जडिबुटी, हाते कागज, चिया, कफिलगायतकोनिर्यात बढे स्थायी हुन्छ । 
नरेशलाल श्रेष्ठ
अध्यक्ष
नेपाल निर्यात परिषद्

आयातको ठूलो हिस्सा पेट्रोलियम पदार्थमा
वर्षमा २ खर्ब ८७ अर्ब बराबर समग्रमा आयात (पैठारी) तर्फ सधैं अधिक हिस्सा ओगट्ने पेट्रोलियम पदार्थको आयातमा ४.२९ प्रतिशतले ह्रास आएको छ । आव २०८१/८२ मा अघिल्लो आर्थिक वर्षको तुलनामा सो दरले आयात घट्दा २ खर्ब ८७ अर्ब ६५ करोडको आयात भयो । तर, नेपालमा फलाम तथा स्टिल र तिनका उत्पादनहरूको निर्यातमा दोस्रो हिस्सा ओगटेको यसले आयात १ खर्ब ६२ अर्ब ५० करोड रुपैयाँको गर्‍यो । 

यो अघिल्लो वर्षकोभन्दा १०.१८ प्रतिशतले बढी हो । यसैगरी, मेसिनरी तथा पाट्र्सको आयातमा १२.९८ प्रतिशतले वृद्धि भई १ खर्ब २४ अर्ब १५ करोड पुगेको छ । यसपछि कच्चा भटमास तेलको आयातमा ७११.९६ प्रतिशतले वृद्धि भई १ खर्ब ८ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । 
औषधिको आयातमा ०.७९ प्रतिशतले बढेको छ । जसले गत आव ४२ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ । यसैगरी, इलेक्ट्रिक र इलेक्ट्रोनिक सामग्रीहरूको ७३ अर्ब ८८ करोड, यातायातका साधन र तिनका पार्टपुर्जाको १ खर्ब ९ अर्ब १२ करोड, कच्चा पाम 
तेल ६ अर्ब ८२ करोड, अन्नको ६० अर्ब ७८ करोड, तयारी पोसाकको ४१ खर्ब ७ अर्ब र दूरसञ्चारका सामग्रीको ४३ अर्ब ८ करोड रुपैयाँ बराबरको आयात भएको छ । 

यस्तै, गत आव सुनको आयातमा २३.१७ प्रतिशतले ह्रास आई १९ अर्ब ९५ करोड भित्रियो । यसअनुरूप नेपालले आयात गर्ने प्रमुख स्थानमा रहेका मुलुकहरूमा भारत, चीन, अर्जेन्टिना, संयुक्त राज्य अमेरिका, यूएई, युक्रेन, अष्ट्रेलिया, इन्डोनेसिया, थाइल्यान्ड, मलेसिया, ब्राजिल, फ्रान्स, कतार र क्यानडा प्रमुख रूपमा छन् । 

आन्तरिक उत्पादन बढाउन सुझाव
निर्यातको आकार मात्रै हेर्दा गत वर्ष निर्यातमा छलाङ मारेको व्यापार विज्ञ रवि सिंह सैञ्जु बताउँछन् । उनका अनुसार अघिल्लो वर्ष व्यापार (आयात तथा निर्यात) अनुपात ९.५ प्रतिशत थियो । तर, अहिले यस्तो अनुपात घटेर ६.५१ प्रतिशतमा झरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका पूर्व सहसचिव सैंजु भन्छन्, ‘यसरी फिगर हेर्दा निर्यात राम्रै देखिन्छ । तर, हामी निर्यातको सवालमा सजग हुनु जरुरी छ । यसबारेमा सरोकारवालाको ध्यान जानुपर्छ ।’ सूर्यमुखी तेल, पाम र भटमास तेलको निर्यात जोड्दा कुल निर्यातको करिब ४४ प्रतिशत हिस्सा ओगटेको छ । यसको हिस्सा बढ्नुको कारण पनि भारतले उक्त तेल आयातमा कर बढायो । अरू देशबाट नेपालमा कम मूल्यमा जान सम्भव भयो । 

‘भारतसँग नेपालको करको दर फरकले यहाँबाट तेल निर्यात भएको हो,’ उनले अन्नपूर्णसँग भने, ‘नेपालको उत्पादन, गुणस्तर बढेर निर्यात भएको स्थिति होइन । अरू देशबाट एकमुष्ट ट्यांकरमा तेल ल्याएर प्याकिङ गरेर मात्रै पठाउने काम भएको छ ।’आयातीत कच्चा पदार्थलाई प्रशोधन तथा प्याकेजिङलगायत गर्दा न्यूनतम २० प्रतिशत भ्यालु याड गर्नुपर्छ भन्ने विषय कागजमा मात्र भएको र यथार्थमा थोरै हुने गरेको उनको दाबी छ ।

झट्ट हेर्दा निर्यात आकार बढे पनि यो गति दीर्घकालीनसम्म नरहने भएकाले आन्तरीक उत्पादनलाई नै जोड दिन उनले सुझाव दिए । यससँगै अन्य निर्यातमा सम्भावना भएका अलैंचीलगायतका कच्चा वस्तुहरू बाहिरिएका छन् । तर, त्यही वस्तुलाई प्रोसेसिङ, प्याकेजिङ गरेर फाइन उत्पादन पठाउन सके अझै धेरैमा बिक्री गर्न सम्भव हुने भएकाले यसमा जोड दिन उनले सुझाए । 

तेलको कच्चा पदार्थ मात्रै नभई नेपालमा वार्षिक १० अर्ब रुपैयाँको स्याउ आयात गर्नुपरेको छ । यस्तो उत्पादन नेपालको हुम्ला, जुम्लामा अधिक छ तर त्यसको बजारीकरण गर्न नसक्दा विदेशबाट अर्बौंको स्याउ खरिद गर्नु दुर्भाग्य पूर्ण भएको व्यापार विज्ञ सैञ्जु बताउँछन् । 


निर्यातमा फलाम र स्टिलको हिस्सा ५.९ प्रतिशत, धागोको ५.२ प्रतिशत
समग्रमा दोस्रो बढी निर्यात हुनेमा फलाम र स्टीलका उत्पादनहरू छन् । यसको मूल्य १६ अर्ब ३५ करोड ७१ लाख ९२ हजार रुपैयाँ रहेको छ । यद्यपि, यसमा ६.०१ प्रतिशतको सामान्य गिरावट आएको छ । तेस्रो बढी निर्यात हुनेमा धागो (यार्न)को निर्यात रहेको छ । जुन अघिल्लो वर्षभन्दा १९.८५ प्रतिशतले वृद्धि भई १४ अर्ब ३९ करोड ७७ लाख ५८ हजार रुपैयाँ पुगेको छ । यो कुल निर्यातको ५.२ प्रतिशत हो ।

चौथो बढी निर्यात भएको सूर्यमुखी तेल हो । यो निर्यात सूचीमा यसको भूमिका पनि महत्वपूर्ण छ । यसको निर्यात मूल्य १२ अर्ब ३२ करोड ६५ लाख ४४ हजार रुपैयाँ पुगेको छ, जसमा ७४३५.७२ प्रतिशतको उल्लेखनीय वृद्धि भएको छ । यसले कुल निर्यातको ४.४ प्रतिशत हिस्सा ओगटेको छ । यसपछि क्रमशः उनी कार्पेटको निर्यात मूल्य १० अर्ब ७७ करोड ६८ लाख ५६ हजार रुपैयाँ छ । जसमा १.९३ प्रतिशतको सामान्य वृद्धि देखिएको छ । यो कुल निर्यातको ३.९ प्रतिशत हो । 

बढी निर्यात हुनेमा तयारी पोशाक छैटौं स्थानका छ । ८ अर्ब ७५ करोडको पोसाक बिक्री गरिएको छ । जुन १ करोड ५८ लाख ८७ हजारको संख्यामा छ । अझ यो अघिल्लो वर्षकोभन्दा २.३९ प्रतिशतले कम हो । यद्यपि यसले कुल निर्यातको ३.२ प्रतिशत हिस्सा ओगटेको छ ।

यसपछि, प्लाइउडको निर्यातमा ४.२६ प्रतिशतले ह्रास आई ७ अर्ब ९ करोड रुपैयाँ पुगेको छ । यससँगै, जुट तथा जुटका सामानको निर्यात १६.८१ प्रतिशतले वृद्धि भई ८ अर्ब २३ करोड पुगेको छ । यसपछि जुसहरू पनि नेपालबाट राम्रै निर्यात भएको देखिन्छ । वार्षिक ७ अर्ब ७१ करोडको जुस निर्यात भएको छ । जुन कुल निर्यातको २.८ प्रतिशत हिस्सा हो । ७ अर्ब ७२ करोडको जुस निर्यात भएको छ । तर अघिल्लो वर्षको तुलनामा ११.४१ प्रतिशतले कम हो । यसैगरी अर्को प्रमुख निर्यातजन्य ऊनी फेल्टको निकासीमा ७.१६ प्रतिशतले वृद्धि भई ५ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । यस्तै, सूर्यमुखी तेलको निर्यातमा ७४३६ प्रतिशतले वृद्धि भई १२ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ ।  

कृषिजन्य वस्तुको निर्यातमा अग्रणी स्थान हासिल गरिरहेको उत्पादन अलैंचीको निर्यातमा ३.२४ प्रतिशतले घट्यो । यद्यपि गत आवमा नेपालको ५औं मध्येको एक अलैंची पनि उत्कृष्ट १० निर्यातमा परेको छ । अलैंची गत आवमा ७ अर्ब ६८ करोडको विदेशमा बिक्री भयो । यो कुल निर्यातको २.८ प्रतिशत ओगटेको देखिन्छ । 

यसैगरी कृषिजन्य वस्तुको निर्यातमा अग्रणी स्थान हासिल गरिरहेको अर्को उत्पादन चियाको निर्यातमा २६.६४ प्रतिशतले वृद्धि भई ४ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । यता अदुवाको निर्यातमा भने अघिल्लो वर्षको तुलनामा ५०.३८ ले ह्रास आएको छ । जसले गर्दा गत वर्ष ५८ करोड रुपैयाँको मात्रै अदुवा निर्यात भयो । यससँगै, पिना (आयल केक) को निर्यातमा २२.८० प्रतिशतले वृद्धि भई ३ अर्ब ६३ करोड रुपैयाँ पुग्यो । 

 

 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.