प्रश्न सोध्नेलाई एक्ल्याउँदै माओवादी
काठमाडौं : नेकपा माओवादी केन्द्रभित्र उपमहासचिव जर्नादन शर्माले आत्मालोचना गर्नुपर्ने सबैजसो नेताको निष्कर्ष छ । तर, पार्टी अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले आत्मालोचना गर्नु नपर्ने नेताहरूको मत रहेको पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले बताएका छन् ।
पार्टी पुनर्गठन, नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको कुरा उठाएका उपमहासचिव शर्माले पार्टी अनुशासन तोडेको नेताहरूको मत छ । शर्माले आत्मालोचित हुनुपर्ने पार्टी अध्यक्ष प्रचण्डले नै निर्देशन दिएका छन् । तीन दिनदेखि जारी स्थायी कमिटीको बैठकबाट आइतबार बाहिरिँदै गर्दा पार्टी अध्यक्ष प्रचण्डले भने, ‘जसले गल्ती गरेको छ उसले आत्मालोचना गर्छ ।’
पार्टीभित्र उपमहासचिव शर्माले अराजकता मच्चाएको नेताहरूले आरोप लगाएका छन् । उपाध्यक्ष सापकोटाले पार्टीभित्रको अराजकता अन्त्य गर्न सबै नेताहरू जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने बताए । शुक्रबारबाट जारी स्थायी कमिटीको बैठकमा आइतबारसम्मा दोस्रो तहका नेताहरूले धारणा राखिसकेका छन् ।
पुस्तान्तरण, नेतृत्व हस्तान्तरण र पार्टी पुनर्गठनको सवाल माओवादी बैठकमा जोडले उठेको थियो । यो सवाल उपमहासचिव शर्माले दुई वर्षदेखि राख्दै आएका छन् । यो प्रस्तावले माओवादी केन्द्रभित्र पछिल्लो समय बबन्डर मच्चिँदै आएको छ । बैठकमा बोल्दै उपमहासचिव शर्माले भने, ‘म आलोचित हुन तयार छु । पार्टी पुनर्गठित, नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको कुरा उठाएबापत म जे कारबाही भोग्नुपर्छ तयार छु । तर, ३१ लाख भोटबाट ११ लाख भोटमा पार्टीलाई सीमित गर्ने नेतृत्व आलोचित हुनुपर्छ कि पर्दैन ?’ आफूले पार्टीभित्र सुधारको कुरा गर्दा पार्टी फुटाउन लागेको हल्ला पार्टी हेडक्वारबाटै फैलाउने गरेको उनले स्पष्ट पारे ।
यता पार्टी अध्यक्ष प्रचण्डले शान्ति सम्झौतामा आएदेखि अहिलेसम्म माओवादीलाई विभाजन गरी कमजोर बनाउन प्रतिक्रियावादीले अनेक षड्यन्त्र र जालझेल गरिरहेको दाबी गरेका छन् । ‘अहिले सबै माओवादीधारहरू र सच्चा क्रान्तिकारी कम्युनिस्टबीच एकता गर्ने प्रयास भइरहेको छ । एकता हुन नदिन प्रतिक्रियावादीहरू पनि ज्यान छाडेर लागेका छन्’, उनले भने, ‘पार्टीलाई एकताबद्ध गर्न नसके प्रतिक्रियावादीले प्राप्त उपलब्धिलाई समेत उल्ट्याउने खतरा छ ।’
- पार्टीभित्र उपमहासचिव शर्माले अराजकता मच्चाएको नेताहरूले आरोप लगाएका छन्।
- तीन दिनदेखि जारी स्थायी कमिटीको बैठकबाट आइतबार बाहिरिँदै गर्दा पार्टी अध्यक्ष प्रचण्डले भने, ‘जसले गल्ती गरेको छ उसले आत्मालोचना गर्छ।’
- अध्यक्ष प्रचण्डले शान्ति सम्झौतामा आएदेखि अहिलेसम्म माओवादीलाई विभाजन गरी कमजोर बनाउन प्रतिक्रियावादीले अनेक षड्यन्त्र र जालझेल गरिरहेको दाबी गरेका छन्।
- उपमहासचिव वर्षमान पुनले उपमहासचिव शर्माले पार्टी फुटाउने कुरो हल्ला मात्रै रहेको बताएका छन्।
पार्टीको मुख्यालमा आयोजित कार्यक्रममा बोल्दै पार्टी अध्यक्ष प्रचण्डले क्रान्तिकारी, वामपन्थी र देशभक्तलाई एकताबद्ध गरेर प्रतिक्रियावादीको षड्यन्त्रको प्रतिवाद र प्रतिरोध गर्ने कोसिस जारी रहेको बताए । ‘शान्तिप्रक्रियाका बाँकी काम टुंग्याउने कुरा अघि बढेको छ । शान्तिप्रक्रियालाई टुंगोमा पु¥याएन नदिने षड्यन्त्र र चलखेल देखिएको छ’, उनले भने ।
उपमहासचिव वर्षमान पुनले उपमहासचिव शर्माले पार्टी फुटाउने कुरो हल्ला मात्रै रहेको बताएका छन् । ‘स्थायी कमिटीको बैठकमा जर्नादन शर्माजीले पनि आफ्नो कुरो राख्नुभएको छ । उहाँले म पार्टी छोड्नेवाला छैन, म पार्टीमै बस्छु भन्ने कुरा गर्नु भएको छ’, उपमहासचिव शर्माले बोलेको कुरालाई उद्धृत गर्दै नेता पुनले भने, ‘आफूले गरेको गल्तीमा सुधार सबैले आ–आफ्नो कुरो कुरो गरौं भन्नेतर्फ बैठक केन्द्रित भएको छ ।’
यता पार्टीका उपाध्यक्ष अग्नि सापकोटाले पार्टीभित्र व्यक्तिवादी चरित्र हावी भइरहेको बताएका छन् । पार्टीमा सामूहिक स्वार्थभन्दा व्यक्तिगत स्वार्थ हावी हुँदा त्यसले पार्टी र नेतृत्वप्रति नकारात्मक सन्देश गएको उनले बताए ।
‘पार्टीका नेताहरूले पार्टीभित्र फैलिँदै गएको गुट–उपगुट भंग गर्नुपर्ने माग भएको छ’, पार्टी प्रवक्तासमेत रहेका सापकोटाले भने, ‘पार्टीभित्र व्यक्तिवादी अराजकता र अनुशासनहिनता बढेर गयो । अब यसलाई सबैले आत्मालोचना गर्दै पार्टीमा शुद्धीकरण अभिायन चलाउने कुरा भएको छ ।’
उनका अनुसार अधिकांश नेताहरूले पार्टी अध्यक्ष प्रचण्डकै नेतृत्वलाई स्वीकार गर्न एक मत भएका छन् । तर, नेतृत्वलाई सक्षम, सबल र सुदृढ बनाउनुपर्छ ।
पार्टी अध्यक्ष प्रचण्डको नेतृत्वमा समाजवादी क्रान्ति पूरा गर्ने जोड आएको प्रवक्ता सापकोटाले बताए । उनले भने, ‘नेतृत्व विकास गर्न विचार, योजना र कार्यनीतिलाई व्यवस्थित बनाउनुपर्छ ।’
समाजवादी विचारधाराको विकास र त्यसका लागि नेपाली माटोअनुसारको समाजवादको मार्गचित्र तयार गर्न पार्टी अध्यक्षसँग नेताहरूले माग गरेका छन् । ‘नेपाली समाजवाद कस्तो हुन्छ ? त्यो मोडेल ल्याउनुपर्छ भनेर माग भएको छ’, प्रवक्ता सापकोटाले भने ।
नेपालमा अब समाजिक तथा सांस्कृतिक क्रान्तिका लागि आन्दोलन चलाउन माओवादीका नेताहरूले माग गरेका छन् । बैठकमा नेताहरूले राखेको कुरो बारे बताउँदै पार्टी उपाध्यक्ष सापकोटाले भने, ‘हामीले राजनीतिक क्रान्ति पुरा गरेका छौं । तर, समाजिक क्रान्तिमा हाम्रो ध्यान पुगेको छैन ।’ सामाजिक परिवेशअनुसारको सामाजिक तथा सांस्कृतिक क्रान्तिका लागि कार्यक्रम, रणनीति र योजना बैठकमा पार्टी अध्यक्षसँग नेताहरूले माग गरेको उनले स्पष्ट पारे ।
प्रतिक्रिया दिनुहोस !