‘हङकङ नेपाल उडान, नेपाल एयरलाइन्सबाट’
हङकङ : ‘हङकङ नेपाल उडान, राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सबाट गरौं’भन्ने मुख्य अभिप्रायसाथ एक कार्यक्रम गरिएको छ ।
नेपाल एयरलाइन्सको व्यापार समृद्ध बनाउन र जनगुनासो सुन्न नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारी, मार्केटिङ डाइरेक्टर टंकनिधि दाहाल र सिनियर पाइलट विजय लामा हङकङ आएका छन् । हङकङस्थित नेपाल एयरलाइन्सको कार्यालयमा कार्यक्रमको आयोजना गर्दै नेपाल एयरलाइन्सको साख र बजार विस्तारका लागि उपस्थित व्यवसायीहरूले आफ्नो धारणा र सुझावहरू व्यक्त गरे । कार्यक्रममा एजी एक्सप्रेस, ब्लुस्टार एक्सप्रेस, नमस्ते ट्राभल्स, एल्फा, डाइनामिक, सनराइज, हिमालयनलगायत कार्गो, ट्राभल्स एन्ड टुर्स व्यवसायीको सहभागिता थियो ।
उक्त कार्यक्रममा नेपाल एयरलाइन्सको कार्गो ट्रयाकिङ सिस्टम चाँडोभन्दा चाँडो राख्नुपर्ने, विगतमा हुँदै आएको ढिलो उडान, क्यान्सिलेसनलगायत कमीकमजोरीलाई अन्त्य गर्नुपर्ने, कार्गो अफलोड हुने समस्यालाई पूर्णतया हल गर्नुपर्ने, हप्तामा एक दिन भए पनि ठूलो जहाज (वाइड बडी)लाई हङकङ नेपाल उडान गर्नुपर्ने लगायतका विषयमा सुझाव र गुनासाहरू आएका थिए ।
कार्यक्रममा क्याप्टेन लामाले यात्रुमा पनि जनचेतना जगाउन सम्पूर्ण एजेन्सीहरूलाई अनुरोध गरे, लामाले आफ्नै देशको एयरलाइन्स भनेर समयको ख्याल नगरिदिँदा कहिलेकाहीँ एकजना यात्रुको कारण सबैले सास्ती भोग्नुपर्ने बताए ।
मार्केटिङ डाइरेक्टर दाहालले अन्य एयरलाइन्सभन्दा नेपाल एयरलाइन्स महँगो हुनुपर्ने कुनै कारण नभएको र मूल्य समायोजनमा अझ विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गरे । नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारीले आएका कतिपय गुनासाहरूलाई तत्काल र आगामी सुधार गर्नुपर्ने सुझावलाई कार्यसूचीमा राखेको बताए ।
नेपाल हङकङ उडानको ४३आंै वर्षगाँठ
नेपाल, हङकङ उडानको ४३ वर्ष पुगेको अवसरमा एक कार्यक्रमकाबीच वर्षगाँठ मनाइएको छ । कार्यक्रममा हङकङस्थित महावाणिज्यदूूत डा.विन्देश्वरप्रसाद लेखक, नेपाल एयरलाइन्स कार्यकारी अध्यक्ष अधिकारी, मार्केटिङ डाइरेक्टर दाहाल, सिनियर क्याप्टेन लामाको उपस्थिति रहेको थियो । त्यसैगरी, हङकङ स्थित स्टेसन प्रमुख मेगी केसी, एयरपोर्ट म्यानेजर विजय अधिकारी, गुरु शाह, फाइनान्स म्यानेजर नरेश यादव, याउचिमोङ डिस्ट्रिक काउन्सिलर अरुणा गुरुङ, व्यवसायी टंक राना, हङकङ नेपाली महासंघ अध्यक्ष रीता गुरुङ, चेम्बर्स अफ कर्मसका अध्यक्ष शशिमदन राई, एनआरएनए मकाउ अध्यक्ष युवराज न्यौपानेलगायत उपस्थित थिए ।
प्रतिक्रिया दिनुहोस !