सन्दर्भ : विश्व स्तनपान सप्ताह

किन घट्दै छ, स्तनपान

किन घट्दै छ, स्तनपान

राम्रोसँग स्तनपान गरेका बच्चाहरूको तुलनामा दूध चुस्न नपाएका बच्चाहरूको आफ्नो पहिलो वार्षिक जन्मदिन अघि नै मृत्यु हुने जोखिम बढी हुन्छ । यूएनका अनुसार, मृत्यु हुने जोखिम १४ गुणा बढी हुन्छ । नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण एनडीएचएस २०२२ ले ६ महिनाभन्दा मुनिका ५६ प्रतिशत बालबालिकालाई पूर्ण रूपमा स्तनपान गराउने गरेको देखिन्छ जुन सन् २०११ को सर्वेक्षणमा ७० र सन् २०१६ मा ६६ प्रतिशत थियो । 

नेपाल मल्टिइन्डिकेटर क्लस्टर सर्वेअनुसार नेपालमा शिशु जन्मेको एक घण्टाभित्र स्तनपानको सुरुवात गर्नेको संख्या ४२ प्रतिशत छ । कामकाजी महिलामा बढोत्तरी, व्यस्तता, संक्रमण, कम सुत्केरी बिदा, फिगर बिग्रिने, दूध नै नआउने— तनाव, मोटोपना तथा गर्भवतीमा राम्रो स्याहार नपाउँदाका कारण स्तनपान दर घट्दै छ । स्तनपान नगराउने समस्या सहर बजारमा बढ्दो छ भने गाउँघरका आमाहरू उचित खानपानको अभाव, कामको चाप तथा अज्ञानताले यथेष्ट स्तनपान गराउन सक्दैनन् । सबै सरकारी तथा गैरसरकारी कार्यालयहरूमा स्तनपान कक्ष र शिशु स्याहार केन्द्र नहुनाले पनि पूर्ण स्तनपानबाट शिशुहरू छुट्दै आएका छन ।

एउटा स्वस्थ आमाको स्तनबाट बच्चाको दैनिक आवश्यकता पूरा गर्न दैनिक ९ देखि १२ सय मिलिलिटर दूध निस्कन्छ । जसमा ८८.२० प्रतिशत पानी, १.२५ प्रतिशत प्रोटिन, ल्याकटोज ७.२ प्रतिशत, ३.१ प्रतिशत चिल्लो पदार्थ हन्छ । त्यस्तै ०.२८ प्रतिशत क्याल्सियम र भिटामिन सी ०.३ प्रतिशत तथा भिटामिन ए, बी कम्पेलक्स, सी, डी र ई तथा लाइपेज इन्जाइम र शक्तिवद्र्धक थुप्रै तत्त्वहरू पाइन्छन् ।

आमाको सुरुको दूध ७—१० दिनभित्रको अलि बाक्लो, पहेँलो र च्यापच्याप लाग्ने, वंशाणुगत, कोलोस्टमसहित हुन्छ जसलाई बिगौती दूध भनिन्छ । जसमा हानिकारक संक्रामक जीवाणु र कीटाणुलाई नष्ट पार्ने, संक्रामक रोगसँग लड्न सक्ने तत्त्वहरू भएको, कार्बोहाइटेड, प्रोटिन, चिल्लो पदार्थको अलावा सबै पौष्टिक तत्त्वले भरिपूर्ण भएकोले बिगौती दूधलाई पहिलो खोप पनि भनिन्छ । आमामा जन्मेदेखि गर्भधारण गर्दासम्म उत्पन्न भएका रोगहरू विरुद्ध विकसित एन्टिबडी भएको दूध, बच्चा जन्मनेबित्तिकै वा ढिलोमा जन्मेको आधादेखि एक घण्टाभित्रै खुवाउनु पर्दछ । पिप मिसिएको दूध भनी फ्याक्ने, मह चटाउने, घिउ, जन्मघुँटी, ग्लुकोज र घोटीचौथी खुवाउनेजस्ता कार्यहरू उचित होइनन् ।

आमाको दूधमा रहने इम्युनोग्लोबिन ‘ए’ ले रोगसँग लड्न एन्टिबडीको काम गरी पाचन प्रणालीमा लाग्ने संक्रमण रोक्छ। तर, सरकारी तथा गैरसरकारी कार्यालयहरूमा स्तनपान कक्ष र शिशु स्याहार केन्द्र नहुनाले पनि पूर्ण स्तनपानबाट शिशुहरू छुट्दै आएका छन्।

स्तनपानले आमाको सौन्दर्यमा वृद्धि हुने गर्दछ । गर्भावस्थामा सञ्चित बोसो घटाउँदछ । स्तनपान गराउँदा प्रोजेस्टेरोन हर्मोनको वृद्धिले ६ महिनासम्म गर्भ निरोधकको रूपमा काम गरेको पाइन्छ । गर्भधारण ढिलो हुन गई गर्भान्तरमा पनि मद्दत पुग्दछ । स्तनपान ५० प्रतिशतले कम गर्दा १७–३७ प्रतिशत प्रजनन दरमा वृद्धि हुन्छ । डब्बा तथा अन्य दूध खुवाउँदा हुने खर्चको आर्थिक भार तथा बिरामी भई उपचारमा लाग्ने खर्चको भार कम हुन्छ । आमालाई स्तनपान गराउँदा आत्मीयता, भावनात्मक, सुखानुभूति, गौरव, मानसिक स्वस्थता र आत्मसन्तुष्टि प्रदान गर्दछ । बच्चाले दूध चुस्दा अक्सिटोसिन हर्माोन उत्पन्न भई दूध पगार्ने भएकोले बच्चा गर्भमा रहेको बेला खुलेको आमाको पाठेघरलाई खुम्चन मद्दत पुर्‍याउछ तथा पाठेघरमा लाग्ने रोगहरू न्यूनीकरण गर्दछ । प्रसवपछि हुने रक्तस्रावलाई रोक्दछ । त्यसैगरी आमालाई पछि गएर हुने डिम्बाशय, स्तन र पाठेघरको क्यान्सर हुने सम्भावना ८ गुणाले कम हुन्छ । तसर्थ स्तनपान गराउँदा आमाले पूर्णता पाउँछ ।

के छ फाइदा ? 
बच्चाको शारीरिक आवश्यकतानुसार मस्तिष्क विकास गर्न जरुरत पर्ने सबै एसिनो एसिड पाइन्छन् । समय सीमा र मात्रा नभएको खाद्यवस्तु पनि आमाको दूध नै हो । आमाको दूध स्वच्छ, सुपाच्य, हानिकारक कीटाणुको प्रवेश हुन नपाउने, प्राकृतिक तत्त्वनिहित भएकोले घाँटीको संक्रमण, स्कर्भी, रिकेट, पोलियो, इन्फलुएन्जा र दमजस्ता रोगबाट बचाउँछ । शिशुको बढ्दो उमेरको आवश्यकताअनुसार दूधको संरचनामा पनि परिवर्तन हुने गर्दछ । आठ महिना बढीसम्म स्तनपान गराइएका ८–९ वर्षका शिशुहरू बढी तीक्ष्ण भएको प्रमाण छ । आमाको दूधमा रहने इम्युनोग्लोबिन ‘ए’ ले रोगसँग लड्न एन्टिबडीको काम गरी पाचन प्रणालीमा लाग्ने संक्रमण रोक्छ । बच्चाले आफूलाई सुरक्षित ठान्दछ ।

आमाको दूध प्रचुर मात्रामा ६ महिनासम्म खुवाउँदा पानीको समेत आवश्यकता पर्दैन । आमाको दूध बच्चाका लागि तयारी खाना पनि हो जसलाई शिशुले चाहेमा जुनसुकै बेला र जुनसुकै स्थानमा सजिलैसँग खुवाउन सकिन्छ । त्यसैमा अझ बच्चालाई समयअनुसार आवश्यक पर्ने तत्त्वहरू, उचित मात्रामा रहन्छ, पातलिने सम्भावना रहँदैन । सुपाच्य हुन्छ र दिगो रहन्छ साथै बाहिरी सूक्ष्म जीवले जीवले आक्रमण गरी दूषित बनाई रोग लाग्ने सम्भावना पनि रहँदैन । तसर्थ बट्टाको दूध खानेमा भन्दा निमोनिया, दम, झाडापखालाले समात्ने र मृत्यु हुने सम्भावना २५ गुणा कम र भिटामिन ए, फलाम र पोषणको कमी भई, कुपोषण हुने सम्भावना न्यून रहन्छ । शारीरिक अवस्था कमजोर हुने, समयमै घस्रिने र हिँडडुल गर्न नसकिने, दूध पचाउन नसकिने, बान्ता हुने, आँखा कमजोर हुने पछि रतन्धो हुने, बाौद्धिक क्षमता कम हुने र कमजोर शारीरिक अवस्थाका कारणले व्यक्तित्व विकास गर्न सक्दैन ।

अन्त्यमा, नेपालमा स्तनपानका लागि विभिन्न नीति नियमहरू बनेका छन् । ९८ दिन तलबी प्रसूति बिदा, प्रसूति भएको ६ महिनासम्म चाहेमा बेतलबी बिदा, ५० भन्दा बढी महिला कार्यरत संस्थामा नर्सिङ युनिट, स्तनपानमैत्री अस्पतालको घोषणालगायत उल्लेख छन् । नेपालमा २०७९ भदौ ३ देखि परोपकार प्रसूति गृह थापाथलीमा मिल्क बैंकका रूपमा अमृत कोष स्थापना भएको छ । स्तनपान प्रवद्र्धन गर्न मातृ तथा शिशुमैत्री अस्पतालका रूपमा विकास गर्ने तथा हरेक स्थानीय तहमा स्तनपान कक्ष स्थापना अभियान विस्तारमा थियो । तर कति कार्यान्वयन भयो ? स्तनपानलाई प्रतिस्थापन गर्ने वस्तुहरूमा प्रतिबन्ध लगाइएको छ । तथापि कार्यान्वयन र विस्तारमा सरोकारवालाहरूको ध्यान जान सकेको छैन । जस्का कारण भए, गरेका नियम कार्यान्वयन नहुँदा स्तनपानमा कमी र आमा तथा शिशुकोे स्वास्थ्यमा नकारात्मक असर बग्रेल्ती परेको छ ।
 

(डा. बुढाथोकी, संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव हुन् ।)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.