माओवादी संकल्प : गुट–उपगुट भंग गर्ने

माओवादी संकल्प : गुट–उपगुट भंग गर्ने
सुन्नुहोस्

काठमाडौं : नेकपा माओवादी केन्द्रमा झांगिँदै गएको गुट—उपगुट भंग गर्ने संकल्प गरिएको छ । पार्टीमा पछिल्लो समय व्यक्तिगत स्वार्थहरू हाबी भएको निष्कर्ष छ । माओवादी पार्टी चरम असन्तुष्टि र गुटबन्दीमा फसेको नेताहरूले उल्लेख गरेका छन् । अध्यक्ष पुष्पकमल दाहालले चार दिनसम्म चलेको स्थायी कमिटी बैठकले गुटलाई भत्काउँदै पार्टीलाई एकताबद्ध बनाउने निर्णय भएको बताए । 

गुटबन्दी गर्नेलाई कारबाही गर्ने अनुगमन प्रणालीको समेत विकास गर्ने बैठकको निष्कर्ष छ । बैठकले दसैंपछि केन्द्रीय समितिको बैठक बोलाउने बताएको छ । फुटको संघारमा रहेको पार्टीले चुनौतीलाई तत्काल व्यवस्थापन गरेको छ । पार्टीमा नेतृत्व हस्तान्तरण, नेतृत्व पुस्तान्तरण र पार्टी पुनर्गठनको माग गर्दै आएका उपमहासचिव जनार्दन शर्मालाई पार्टी अध्यक्ष प्रचण्डले सार्वजनिक रूपमा आत्मआलोचित हुन निर्देशन दिएका छन् । 

केही समयपहिले नेता शर्माले सार्वजनिक मञ्चमा पार्टी अध्यक्ष प्रचण्ड भ्रष्ट भएको भनेर कडा टिप्पणी गरेका थिए । पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, ‘बैठकमा नेता शर्मालाई आत्मआलोचना गर्न सबैले आग्रह गर्नुभएको छ तर, उहाँले गरिसक्नु भएको छैन । उहाँ (शर्मा)लाई आत्मआलोचना गर्नुपर्छ भनेर रियलाइज भएको छ ।’

पार्टी अध्यक्ष प्रचण्डले लोकतान्त्रिक व्यवस्था ल्याउने माओवादी पार्टीलाई एकताबद्ध गर्ने चुनौती तत्काल हल भएको दाबी गरेका छन् । ‘पार्टीलाई एकताबद्ध गर्ने जुन हाम्रो सामु चुनौती थियो, त्यो चुनौतीलाई जिम्मेवारीपूर्वक पूरा गरेका छौं’, बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै भने, ‘धेरै गम्भीर छलफलपछि पार्टी एकताबद्ध भएको छ । हामीले सामूहिक रूपमा पार्टीलाई अझ सुढृढ र एकताबद्ध गर्न प्रण गरेका छौं ।’

सबै खाले गुटबन्दी अन्त्य गर्ने सामूहिक रूपले संकल्प लिएको बताउँदै उनले थपे, ‘फेरि जनतामा गएर शक्ति आर्जन गर्छौं । देशमा देखा परेको विसंगति अन्त्यका लागि आन्दोलन गर्ने निर्णय गरेका छौं ।’

यता बैठकपछि उपमहासचिव शर्माले बैठकमा आफूले उठाएका सबै एजेन्डामा छलफल भएको बताए । उनले भने, ‘बैठकमा वैचारिक, संगठनात्मक, विधिबारे गम्भीर छलफल भयो ।’

पार्टी प्रवक्ता सापकोटाका अनुसार बैठकमा उपमहासचिव शर्माले उठाएको विषयमा खुल्ला छलफल भएको छ । पार्टी बैठकमा असन्तुष्टि व्यक्त गर्दै आएका नेता शर्माले बैठकको निर्णय पुस्तिकामा हस्ताक्षर पनि गर्दैनथे । तर प्रवक्ता सापकोटाका अनुसार अब भने निर्णय पुस्तिकामा शर्माले हस्ताक्षर गर्ने प्रतिबद्धता जनाएका छन् । उनी भन्छन्, ‘बैठकमा जनार्दनजीले माइन्युटमा सही गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।’

माओवादीभित्र भइरहेको दन्तबजानमा बैठकले पूर्णविराम लागेको नेताहरूले दाबी गरेका छन् । प्रवक्ता सापकोटाले भने, ‘पार्टी फुट्छ, फुटको संघार छ भन्ने सबै हल्ला र भ्रमलाई बैठकले पूर्णरूपमा खारेज गरिदिएको छ । पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्ने कुरामा सबै सहमत भएका छन् ।’

माओवादीले आन्दोलनबाटै पार्टीमा नेतृत्व तयार पार्ने बैठकको निष्कर्ष छ । त्यसका लागि योजना, नीति तथा कार्यक्रम छिट्टै ल्याउने प्रवक्ता सापकोटाको भनाइ छ । ‘बैठकमा नेताहरूले राखेको धारणाले क. प्रचण्डलाई गम्भीर बनाएको छ । उहाँले समाजवादी क्रान्तिको आधार तयार पार्दै पार्टीमा नेतृत्व पनि तयार गर्ने जाने भन्नुभयो’, प्रवक्ता सापकोटाको जिकिर छ ।

माओवादी पार्टीलाई रूपान्तरण गर्न महाअभियान सञ्चालन गर्ने निर्णय भएको जानकारी उनले दिए । बैठकको निर्णयमा भनिएको छ, ‘पार्टीलाई शुद्धीकरण र रूपान्तरण गर्न महाअभियान सञ्चालन गर्ने निर्णय भएको छ ।’ 

माओवादी केन्द्रबाट विगतमा फुटेर गएका नेत्रविक्रम चन्द विप्लवसँग पार्टी एकता गर्ने बैठकले निर्णय गरेको छ । वार्ता समिति गठन गरेर पार्टी एकताका लागि वातावरण तयार गरिने प्रवक्ता सापकोटाले जनाए । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.