सम्झना मृत्यु प्रकरण : आत्महत्या दुरुत्साहनमा श्रीमान, सासू र ससुरा पक्राउ
महेन्द्रनगर : आइतबार घरमै झुण्डिएको अवस्थामा मृत फेला परेकी कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ की १७ वर्षीया सम्झना भट्टको घटनामा संलग्न भएको आरोपमा प्रहरीले उनका श्रीमान,सासू र ससुरालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले आत्महत्या दुरुत्साहनको आरोपमा मृतक भट्टका श्रीमान पवन भट्ट,ससूरा हरिदत्त भट्ट र सासु किरण भट्टलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराले जानकारी दिए ।
माइती पक्षको जाहेरीका आधारमा प्रहरीले सम्झनाका २४ वर्षीय श्रीमान, सासू र ससुरालाई नियन्त्रणमा लिएको हो । ‘आत्महत्या दुरुत्साहनमा अनुसन्धानका लागि मृतकका श्रीमानसहित सासू, ससुरालाई नियन्त्रणमा लिएका हौं,उनले भने,‘अदालतबाट म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाएका छौं ।’
भट्ट आफ्नै सुत्ने कोठामा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । युवतीका माइती पक्षले श्रीमान र उनको परिवारका सदस्यहरूले घरेलु हिंसा गर्ने,दाइजोको निहुँमा यातना दिने र मानसिक तनाव दिने गरेको आरोप लगाएका छन् ।
सोही कारण सम्झनाले आत्महत्याको बाटो रोजेको आफन्तको दाबी छ । सम्झना र पवनले करिब छ महिनाअघि मात्रै प्रेम विवाह गरेको खुलेको छ । प्रहरीका अनुसार घटना हुनुभन्दा एक दिनअघि शनिबार मात्रै उनीहरूबिच विवाद हुँदा बेलडाँडी प्रहरी चौकीमा पुगेका थिए । प्रहरीले दुवैलाई सम्झाई–बुझाई घर पठाएको थियो । त्यसको भोलिपल्ट सम्झना आफ्नै कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस !