दुप्चेश्वर पुगे एकैदिन हजारौं भक्तजन
नुवाकोट : नुवाकोटको प्रसिद्ध दुप्चेश्वर हिन्दु तथा बौद्धमार्गीको सामूहिक तीर्थस्थलका रूपमा विकसित भइरहेको छ। हिन्दुहरुको आराध्य देव भगवान शिवको विशेष पूजा आराधना गर्ने विशेष महिनाको रुपमा साउन महिनालाई लिने गरिन्छ।
यही साउनको तेस्रो सोमबार नुवाकोटको प्रसिद्ध दुप्चेश्वर महादेवको मन्दिरमा हजारौं भक्तजनले पूजापाठ तथा दर्शन गरेका छन्।
नेपाल, भारत, भुटान, बर्मा लगायतका स्थानमा चर्चा कमाइसकेको दुप्चेश्वर मन्दिरमा दैनिक रुपमा असंख्य भक्तजनहरु आउने क्रमसमेत बढिरहेको स्थानीयको भनाइ छ।
आकर्षक पहराको सितल स्थानमा रहेको दुप्चेश्वरमा गाईको दूध तथा पशुचौपायको दाम्लो चढाउने समेत गरिन्छ। सो मन्दिरमा काठमाडौं तथा सदरमकुाम विदुरदेखि यातायातको सहजता रहेको छ। दुप्चेश्वर गाउँपालिका–६ रामती नजिकै करेजुङको ठुलो पहरामा रहेको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरमा साउनको तेस्रो सोमवार मात्र एकैदिन झण्डै १२ हजार भक्तजनले दुप्चेश्वरको दर्शन र पूजाआजा गरेका छन्।
मन्दिरमा दर्शन गर्नेहरूको लाइन बेलुकीसम्म नै लागेको थियो। दुप्चेश्वरमा सोमबार भक्तजनले चढाएको झण्डै चार लाख रुपैयाँ भेटि संकलन भएको छ।
प्रतिक्रिया दिनुहोस !