करिब ८ केजी सेतो हिरोइनसहित दुई विदेशी पक्राउ
काठमाडौं : करिब ८ केजी अवैध लागुऔषध सेतो हिरोइनसहित २ जना भारतीय नागरिक पक्राउ परेका छन्। साउन १७ र १८ गते लाओसबाट बैंकक हुँदै काठमाडौं आएका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
नेपाल प्रहरीको लागुऔषध नियन्त्रण व्युरोका प्रमुख कृष्ण कोइरालाका अनुसार पक्राउ परेका उत्तर प्रदेश जौनपुर ठेगाना भएका ३५ वर्षीय फिरोज अहमदबाट ४ किलो सेतो हेरोइन बरामद भएको छ भने भारतको इरोद, तालिमनाडु ठेगाना भएका ३२ वर्षीय मौलेश्वर नन्जुन्दामूर्ति कुरानल भेलबाट ३ किलो ८०० ग्राम सेतो हेरोइन बरामद भएको छ।
पक्राउ परेका दुई जना एक अर्कामा चिनजानमा छैनन्. तर उनीहरूलाई लागुऔषध बोकाएर पठाउने नाइके भने एउटै भएको हुनसक्ने प्रहरीको अनुमान छ। स्थलमार्ग हुँदै नेपालबाट भारत पठाउने योजनामा ल्याइएको लागुऔषध प्रहरीको विशेष सुरक्षा निगरानीमा ल्याइएको थियो।
पक्राउ परेका दुवै जना विदेशी नागरिकलाई लागुऔषध (नियन्त्रण) ऐन, २०३३ को कसुरमा अनुसन्धान अघि बढेको छ। थप अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ।
प्रतिक्रिया दिनुहोस !