राष्ट्रिय भीडीयो प्रतियोगिता 'रैथाने ज्ञान,अबको समाधान' सम्पन्न
काठमाडौं : नेपालको मौलिक,दिगो र वातावरणमैत्री रैथाने ज्ञान बचाउने उद्देश्यले आयोजना गरिएको 'रैथाने ज्ञान,अबको समाधान'राष्ट्रिय भीडीयो प्रतियोगिता सम्पन्न भएको छ। अभनी भेन्चर्स र एनएमबी बैंकको प्रायोजनमा उक्त प्रतियोगिताको भीडीयो स्क्रिनिङ र परस्कार वितरण कार्यक्रम थापागाउँस्थित मण्डला थिएटरमा सम्पन्न भएको हो।
कार्यक्रममा युवा,सरकारी प्रतिनिधि र निर्वाचित जनप्रतिनिधिलगायत,बैंकिङ क्षेत्र,रैथाने अभियन्ता,विभिन्न क्षेत्रका विज्ञहरूको सहभागिता रहेको थियो।
भीडीयो प्रतियोगिता 'रैथाने ज्ञान, अबको समाधान'का लागि देशभरका यु्वाहरूबाट ६६ भन्दा बढी भिडियो प्राप्त भएका थिए। जसमा कृषि, हिति व्यवस्थापन, जडीबुटी चिकित्सा, वास्तुकला, खाद्य परम्परा, बाँस हस्तकला, जलवायु समाधान, बीउ संरक्षण, र परम्परागत स्वास्थ्य उपचार विधि जस्ता विषय समेटिएका थिए।
२०२४ मा बीबीसी १०० women मा नेपालबाट सूचिकृत वातावरणविज्ञ तथा अभनी भेन्चर्सकी निर्देशक शिलशिला आचार्यले पुरानो ज्ञानलाई नयाँ पुस्तासम्म पुर्याउन अभियानको आयोजना गरिएको बतान्। उनले भनिन्,'हामीले विश्वास गरेका छौं कि यी रैथाने ज्ञान र परम्पराहरूले नेपाल मात्र होइन,विश्वका लागि पनि आजको दिनको हरेक समस्याको दिगो समाधान दिन सक्छन्। अहिलेको अवस्थामा हामीसँग भएको यो दिगो ज्ञानको भण्डारलाई चिन्न र जोगाउन नसक्दा यो ज्ञान लोप हुँदै गइरहेको छ। त्यसैले युवाहरूलाई अग्रसर गराएर हाम्रो पुस्ताले यस्ता ज्ञानलाई दस्तावेजीकरण गर्दै नयाँ पुस्तासम्म पुर्याउन यो अभियान चलाइएको हो।'
लोप हुन लागेको ज्ञानलाई जोगाउने र प्रवर्द्धन गर्ने मात्र नभइ युवा पुस्ताले जसरी १३औँ शताब्दीमा नेपाली आर्किटेक्ट अर्निकोले चीनमा गएर आफ्नो ज्ञान सीप चिनियाँहरूलाई सिकाएर आए,त्यसैगरी दिगो ज्ञानका विज्ञको रूपमा नेपाली युवाहरू संसारभर ज्ञान बाँड्न सक्छन् भन्ने विश्वास अभियानले राखेको उनले बताइन्। प्रतियोगिताका लागि चार उत्कृष्ट भिडियोलाई निर्णायक मण्डलले छनोट गरेका थिए।
निर्णायकहरूमा मिस नेपाल अर्थ २०२० सुप्रिया श्रेष्ठ, अनलाइन खबरका सह-सम्पादक सुधर्शन खतिवडा,एनएमब बैंककी सीएसआर प्रमुख प्रणिशा श्रेष्ठ र दिगोपन तथा संचार विज्ञ इरीना कार्की गुरुङ रहेका थिए।
त्रिभुवन विश्वविद्यालयका पशु चिकित्साशास्त्रका विद्यार्थी २४ वर्षीय अनिश खनालको 'पातका थाल, हाम्रो पहिचान' शीर्षकको भिडियोले प्रथम स्थानमा पर्न सफल भयो। उक्त भीडीयोले ५५ हजार रुपैयाँ प्राप्त गर्यो । दोस्रो पुरस्कार ३५ हजार प्रणव राम राजभण्डारी र स्वेच्छा कारणजीतको Takha and Sanyakhuna: The Timeless Sustainable Recipe of the Newa People" ले जित्यो। जसमा नेवाको परम्परागत,खाना खेर जान नदिने परिकारबारे देखाएको थियो। बाँस,माटो प्रयोग गरेर बनाइएका घरहरूबारे ज्ञान र चौथो स्थान परम्परागत हिति व्यवस्थापनसम्बन्धी भिडियो तेस्रो स्थानमा रह्यो। उसले २५ हजार रुपैयाँ प्राप्त गर्यो।
सोशल मिडिया पुरस्कार खोकनाको परम्परागत तोरीको तेल उत्पादन ज्ञान र यसको महत्व सम्बन्धी भिडियोले प्राप्त गर्यो। जीवाश्म मलको विकल्पको रूपमा प्रस्तुत गरिएको बायोचार पद्धति, प्लास्टिकको सट्टा बाँसको प्रयोग, तथा मुगुका आम्चीहरूले प्रयोग गर्ने परम्परागत हाडजोर्नी उपचार पद्धति लगायतका विषयमा बनाइएका भिडियोले प्रस्तुत गरेको ज्ञान विशेष थियो।
कार्यक्रमको अर्को विशेष पक्ष “रैथाने ज्ञानस् अबको समाधान” विषयक प्यानल छलफल थियो। जसमा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी,मिस नेपाल २०२३ श्रीक्षा प्रधान र पुरातत्त्वविद् सौभाग्य प्रधानाङ्ग सहभागी थिए। हरित अर्थतन्त्रविद सुषिल खड्काले सञ्चालन गरेको छलफल कार्यक्रममा श्रीक्षा प्रधानले आफ्नो सामाजिक उद्यम दिगो प्रणालीमा काम गर्ने अनुभव सुनाउँदै युवाहरूले कसरी उद्यमशीलता र रैथाने ज्ञानलाई एकसाथ जोड्न सकिन्छ भन्ने बारेमा चर्चा गरिन् ।
यसैगरी सौभाग्य प्रधानाङ्गाले रैथाने ज्ञानको अभिलेखीकरणको स्थिति, हराएका मूर्ति फिर्ता गर्ने क्रममा भएका सफलताहरू र भोगेका प्रमुख चुनौतीहरू,पुरातात्त्विक महत्वका हाम्रा सम्पदाको महत्व,नेपालका मूर्तिहरूको महत्त्व आदिको बारेमा जानकारी गराएका थिए।
टोखाका मेयर अधिकारीले टोखा नगरपालिकाले रैथाने ज्ञान जोगाउन गरेका प्रयासहरू,रैथाने ज्ञानलाई सरकारी तथा निजी विद्यालयहरूमा पाठ्यक्रममै लागू गरी स्थानीय सरकारद्वारा विद्यार्थीहरूलाई रैथाने ज्ञान सिकाउने गरिएका प्रयास र अनुभव साट्दै नेपालका प्रत्येक पालिकाले यसका लागि गर्न सक्ने आफ्नो अनुभव सुनाएका थिए।
प्रतिक्रिया दिनुहोस !