जनमतका उपाध्यक्ष दीपककुमार साहलाई निष्कासित
काठमाडौं : जनमत पार्टीले निलम्बित उपाध्यक्ष दीपककुमार साहलाई निष्कासन गरेको छ। केन्द्रीय अनुशासन समितिका संयोजक नरेन्द्र प्रसाद चौधरी र सदस्यसचिव अनिताकुमारी मण्डलले विज्ञप्ति जारी गरेर सहलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको जानकारी दिएको हो।
पार्टीको विधानविपरीत विरोधी गतिविधिहरूमा निरन्तर संलग्न रहेको भन्दै साहलाई पार्टीबाट निष्कासन गरिएको विज्ञप्तिमा उल्लेख छ। 'पार्टी फुटाउनका लागि निरन्तर बैठक, गुटबन्दी र गतिविधि गरेको, पार्टीको विरोधमा अन्तर्वार्ता दिएको र गलत समाचारहरू प्रकाशित गरेको, पार्टीको नीति, नियम, निर्णय र कार्यक्रमहरूको विरोधमा सार्वजनिक अभिव्यक्ति दिएको, पार्टीको प्रतिष्ठा र मर्यादामा आँच आउने काम गरेको आरोप लगाइएको छ।
'जनमत पार्टीको विधान २०७५ को धारा ३९(क) को उपधारा १, ३, ४, ५, ६, ७, ९, १०, १२, १५ उल्लंघन गरेको देखिएकाले तपाईँलाई पार्टीको जनमत पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरिएको जानकारी गराउँदछौं,' विज्ञप्तिमा भनिएको छ।
प्रतिक्रिया दिनुहोस !