किड्नी तस्करीको खेल : पहिला आफ्नै बेचे, अहिले अरूको
काठमाडौं : नुवाकोटका २४ वर्षीय समिर नेपाली र काभ्रे पाँचखालका ३५ वर्षीय राजकुमार परियार प्रहरी नियन्त्रणमा छन्। उनीहरूसँगै नुवाकोटका ४७ वर्षीय राकेश नेपालीलाई पनि प्रहरीले पक्राउ गरेको छ। प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको हिरासतमा रहेका उनीहरूविरुद्ध लागेको कसुर भने चानचुने छैन। उनीहरू ३ सहित गिरोह नै मिलेर नेपालबाट भारतका विभिन्न सहरमा मान्छे लगेर किड्नी तस्करी गरेको आरोप छ।
रोचक कुरा त के छ भने बिहीबार पक्राउ परेका मध्ये समिर र राजकुमारले यसअघि नै किड्नी बेचिसकेका छन्। तस्करको फन्दामा परेर किड्नी बेच्न बाध्य भएका उनीहरू, त्यसयता अरूको किड्नी बेचबिखनमा लागेको देखिएको छ। समिर र राजकुमारलाई अन्य एजेन्टले दिल्लीको एक क्लिनिकमा पुर्याएर ६ लाखका दरले पैसा दिएर उनीहरूको किड्नी निकालिएको थियो। राकेश नेपालीले भने नेपालबाट विभिन्न व्यक्तिहरूलाई फकाएर दिल्ली पुर्याउने काममा सक्रिय छन्।
मानव बेचबिखन ब्युरोका प्रमुख कृष्ण पंगेनीका अनुसार जेठमा सिन्धुली दुधौली नगरपालिका–१ खिलबहादुर भुजेललाई यो समुहले दिल्ली पु¥याएर, बाध्यतामा पारी बाया साइडको किड्नी निकाली बेचबिखन गरेका थिए। घाइते अवस्थामा नेपाल फर्किएका भुजेल सिन्धुलीमा रहेको दाइको घरमा फर्किएपछि किड्नी तस्करीको राज खुलेको हो।
काठमाडांैमा सडक निर्माणको काम गर्दै आएका भुजेललाई दिल्लीमा राम्रो कमाइ हुने र पैसा बचाउन सकिने प्रलोभन दिएर कोटेश्वरमा भेटेका अपरिचितले दिल्ली पु¥याएका थिए। खान बस्न दिएर महिनाको २० हजार दिने भन्दै ती अपरिचितले सोही दिन नै बुटवल जाने रात्रि बस चढाएका थिए। उनीसँगै अर्का एक व्यक्ति पनि बुटवल पुगे। बाटोभरि भुजेललाई रक्सी र खाना खुवाउँदै ती अन्जान व्यक्तिले सुनौली नाका कटाएका थिए। उनीहरू तेस्रो दिन दिल्ली पुगेका थिए।
दिल्लीमा पहिल्यै पुगेका थिए, समिर र राकेश नेपाली। उनीहरूले भुजेललगायत अन्य केही युवालाई एक अर्पाटमेन्टमा लगी एक महिनाजति निकै ख्याल गरे। कामका बारेमा खोजी गर्न थाले पनि उनीहरूले आफूहरूको पनि एउटा किड्नी बेचेको र किड्नी दिएबापत ६ लाख नेपाली आउँछ भन्दै फकाएका थिए। किड्नी नबेचे अलिेसम्मको सबै पैसा तिर्नुपर्ने भन्दै उनीहरूले भुजेललाई धम्काएका थिए। घर जाने बेलामा ६ लाख दिने भन्दै उनीहरूले भुजेललाई दिल्लीकै एक क्लिनिकमा लगी किड्नी निकालेका थिए। यसको केही दिनमा उनलाई बेहोस बनाएर काठमाडौं ल्याएर बाटोमा छाडेका थिए।
मानव बेचबिखन ब्युरोका प्रवक्ता नरेन्द्र कुँवरका अनुसार, पक्राउ परेकाहरूले सांगठनिक रूपमा नै किड्नी बेच्ने धन्दा चलाएका थिए। प्रहरीसँगको बयानमा आरेपीहरूले पछिल्लो समय ३० भन्दा बढी नेपालीलाई दिल्ली पुर्याएर किड्नी बेचबिखन गरेको बताएका छन्। प्रवक्ता कुँवर भन्छन्, ‘यो संख्या अझ धेरै हुनसक्ने हाम्रो अनुमान छ।
प्रहरी स्रोतका अनुसार भारतका विभिन्न शहरमा पुर्याएर यसरी किड्नी तस्करी गर्नु गैरकानुनी कार्य हो। यसरी नेपालीले सस्तोमा बिक्री गरेको किड्नी भारतीय तस्करको सहयोगमा २० लाख भारुभन्दा बढीमा बेच्ने गरेको प्रहरी अनुमान छ। किड्नी तस्करीमा भारतीय व्यक्तिको पनि संलग्नता हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान अगाडि बढाएको छ। पक्राउ परेका ३ जनालाई संगठित अपराध निवारण ऐनअन्तर्गतको कसुरमा ७ दिनको म्याद थप गरी अनुसनधान भइरहेको छ।
प्रतिक्रिया दिनुहोस !