निलबाराहीमा धमाधम जनश्रमदान
भक्तपुर : भक्तपुरको मध्यपुर थिमी नगरपालिका–९ मा अवस्थित निलबाराही मन्दिर क्षेत्रमा निरन्तर जनश्रमदान अभियान जारी छ। सोमबार पनि सयौं भक्तजनले मन्दिर संरक्षणका लागि श्रमदान गरेका छन्। महिलाहरूले बोरामा माटो भर्ने र पुरुषहरूले पहिरोलाई रोक्न बासको बार बनाउने जस्ता काम भइरहेका छन्।
धार्मिक, पुरातात्विक र पर्यावरणीय दृष्टिले अत्यन्तै महत्वपूर्ण मानिने निलबाराही मन्दिर काठमाडौं उपत्यकाका चार बाराहीमध्ये एक हो। विगत एक दशकदेखि पहिरोको उच्च जोखिममा परेको यो मन्दिर क्षेत्रको संरक्षणमा राज्य पक्षको उदासीनता देखिएपछि स्थानीयहरू आफैं मैदानमा उत्रिएका हुन्।
१३ औँ हप्तादेखि निरन्तर श्रमदान
उनका अनुसार मन्दिर भूकम्पले क्षतिग्रस्त बनेको थियो र पहिरोको कारण अझ जोखिममा परेको छ। यद्यपि, सम्बन्धित सरकारी निकायहरूले न सहयोग गरेका छन्, न जनश्रमलाई सहज वातावरण दिएका छन्। ‘हामीले हजारौं जनश्रमदान गरेर करोडौं रकम बराबरको काम गरिसक्यौं, तर अझै अवरोध सिर्जना भइरहेको छ,’ उनले भने।
काममा अनावश्यक अवरोध, सरकारी अस्पष्टता
समितिका सहसचिव निशुल प्रजापतिले मन्दिरसम्म पुग्ने बाटो निर्माणका लागि आवश्यक माटो ल्याउने काम रोकिएको नगरपालिकालाई आरोप लगाएका छन्। उनका अनुसार स्रोत बन्द भएपछि कामको गति कम भएको छ। माटोको स्रोत बन्द भए पनि जनश्रमदान निरन्तर भइरहेको छ। तथापि अबको ४–५ दिनमै निलबाराही मन्दिरसम्म पुग्ने मुख्य बाटो निर्माण सकिने उनको भनाइ छ। माटोको स्रोत रोकिए पनि काम रोकिएको छैन, उनले भने।
उनले सामाजिक सञ्जालमार्फत माटो सहयोगको आह्वान गरेपछि दैनिक १०–१५ टिप माटो प्राप्त भइरहेकाले काम चलिरहेको बताए। साथै पानीले माटो बगाउन सक्ने भएकोले ठाउँ ठाउँमा पाइप राखेर त्यसमा प्लास्टिक राखेर पानी जाने निकासको व्यवस्था गरेको उनी बताउँछन्।
मध्यपुर थिमी नगरपालिकाका उपप्रमुख विजयकष्ण श्रेष्ठले भने नगरपालिका जनश्रमदानको विरोधी नरहेको स्पष्ट पारे। ‘समितिले देखिने काम गरिरहेका छन् भने हामी बजेट र प्राविधिक सहयोगका लागि जुटिरहेका छौं,’ उनले भने।
श्रेष्ठका अनुसार निलबाराही क्षेत्रको संरक्षणका लागि करिब २० करोड रुपैयाँको बजेट विनियोजन भइसकेको छ। त्यस्तै माटो रोकिएको भन्ने आरोपको खण्डन गर्दै उनले भने, ‘माटो नगरपालिकाले होइन, चाँगुनारायण नगरपालिका र जिल्ला समन्वय समितिले रोकेको हो।’
निलबाराही मन्दिर क्षेत्रलाई सुरक्षित राख्न जनसमुदायको अग्रसरता प्रशंसनीय छ। तथापि, सरकारी निकाय बीचको समन्वय अभाव र अस्पष्टताले संरक्षण अभियानमा अवरोध उत्पन्न भइरहेको छ। मन्दिरको धार्मिक र सांस्कृतिक मूल्यलाई ध्यानमा राख्दै सम्पूर्ण निकायहरू मिलेर यसलाई दीर्घकालीन रूपमा सुरक्षित राख्नुपर्ने स्थानीयको आग्रह छ।
प्रतिक्रिया दिनुहोस !