रास्वपा बैठकले के के निर्णय गर्यो?
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले विदेशमा रहेका नेपाली नागरिकहरूको मताधिकारको व्यवस्थाका लागि सरकारको ध्यानाकर्षण गराउन अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।
पार्टी कार्यालय बनस्थलीमा शुक्रबार बसेको रास्वपा केन्द्रीय समितिको बैठकले विदेशमा रहेका नेपाली नागरिकहरूका लागि मताधिकारको व्यवस्था गर्न सरकार र सम्बन्धित निकायहरूको गम्भीर ध्यानाकर्षण गराउन अभियान सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए।
त्यस्तै बैठकले पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साध्ने काम भएकाले त्यसविरुद्ध जनताको हस्ताक्षर अभियानलाई देशव्यापी रूपमा प्रभावकारी बनाउने निर्णय गरेको छ।
यसका लागि केन्द्रीय समितिको तर्फबाट संगठन निर्माणका हरेक गतिविधि सँगसँगै प्रभावकारी बनाइने समेत निर्णय भएको उनले बताए। बैठकले हज कमिटीको अध्यक्षमा नियुक्ति हुँदा पार्टीको केन्द्रीय सदस्यबाट राजीनामा दिएका पार्टीका संस्थापक केन्द्रीय सदस्य इश्रामुल्ला मियालाई केन्द्रीय सदस्यको जिम्मेवारी पुनः दिने निर्णय गरेको छ।
त्यसैगरी बैठकले पार्टीले सम्पादन गर्नुपर्ने विभिन्न रणनीतिक कार्यहरू सम्पादन गर्नका लागि रणनीतिक समूहहरू गठन गर्ने निर्णय गरेको छ भने पार्टीको संगठन वडादेखि जिल्ला हुँदै प्रदेश र केन्द्रसम्म सशक्त बनाउन र आवश्यक सबलीकरणका लागि केन्द्रीय समितिका सबै सदस्यहरू तथा केन्द्रीय विभागका सबै सदस्यहरूलाई जिल्ला जिल्लामा परिचालन गर्ने निर्णय भएको प्रवक्ता झाले बताए।
प्रतिक्रिया दिनुहोस !