एनपीएल मिनी अक्सन : आठै टोलीले कसलाई रोजे ?

एनपीएल मिनी अक्सन : आठै टोलीले कसलाई रोजे ?
सुन्नुहोस्

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर मोहमद आदिल आलम काठमाडौं गोर्खाजमा अनुबन्ध भएका छन् । ‘ए’ श्रेणीका खेलाडी आदिललाई नेपाल प्रिमियर लिग (एनपीएल) का आठ वटै टोलीले शनिबार भएको मिनी अक्सनमा बोली लगाएका थिए । एनपीएलका आठवटै टोलीले १५ लाखमा बोली लगाएपछि उनी गोला प्रथाबाट काठमाडौंमा अनुबन्ध भएका हुन् । 

आदिल पहिलो पटक एनपीएलको अक्सनमा समावेश भएका हुन् । प्रतिबन्धका कारण आदिलले एनपीएलको पहिलो संस्करण गुमाएका थिए । अदालतबाट सफाइ पाएपछि उनलाई एनपीएलको दोस्रो संस्करणको अक्सनमा समावेश गरिएको हो ।null

आईसीसी टीट्वेन्टी विश्वकपअन्तर्गत एसिया तथा पूर्वी एसिया–प्रशान्त क्षेत्रीय छनोट प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान) ले सञ्चालन गरेको बन्द प्रशिक्षणमा रहेका आदिलले यही अगस्ट १४ देखि २४ सम्म अस्ट्रेलियाको डार्विनमा आयोजना हुने टप एन्ड टीट्वेन्टी शृंखलाका लागि घोषित टोलीमा भने स्थान बनाउन सकेनन् । 

एनपीएलको दोस्रो संस्करणको मिनी अक्सनका लागि क्यानले १५० खेलाडीको नाम सार्वजनिक गरे पनि क्यानले शनिबार १४ खेलाडी थपेको थियो । जसमा ‘ए’श्रेणीमा ९, ‘बी’ मा ३७ र ‘सी’ श्रेणीका ११८ खेलाडी सहभागी थिए । अक्सनमा सहभागी १६४ खेलाडीमध्ये २६ खेलाडी बिक्री भएका छन् । बाँकी १३८ खेलाडी भने ‘अनसोल्ड’ भएका थिए । फ्रेन्चाइज टोलीले श्रेणी ‘ए’ श्रेणीका खेलाडीका लागि १० देखि १५ लाख, बी’का लागि ५ देखि १० लाख र ‘सी’ श्रेणीमा रहेका खेलाडीका लागि दुईदेखि पाँच लाख रुपैयाँ खर्चिन पाउने प्रावधान राखिएको थियो ।

अक्सनमा ‘ए’ श्रेणीमा समावेश गरिएका नौ खेलाडीमध्ये चारजना सबैभन्दा महँगो (१५ लाख रुपैयाँ) मा अनुबन्ध भएका छन् । देव खनाललाई चितवन राइनोज र लुम्बिनी लायन्सले अधिकतम मूल्यमा बोली लगाएपछि उनी गोला प्रथाबाट चितवनमा अनुबन्ध भएका थिए । यसैगरी अर्जुन साउदलाई चितवन, विराटनगर किङ्स र कर्णाली याक्सले महँगो रकममा बोली लगाउँदा गोला प्रथामा चितवन नै भाग्यमानी सावित भएको थियो ।

एनपीएलको पहिलो संस्करणमा चोटका कारण अक्सनमा समावेश नभएका पवन सर्राफलाई पनि चार टोलीले बोली लगाएका थिए । उनलाई चितवन, लुम्बिनी लायन्स, कर्णाली र विराटनगरले १५ लाख रुपैयाँमा बोली लगाएकोमा गोला प्रथाबाट कर्णालीमा अनुबन्ध भएका थिए । ‘ए’ श्रेणीका दीलिप नाथ र सूर्य तामाङलाई १० लाख रूपैयाँमा क्रमशः लुम्बिनी लायन्स र विराटनगर किङ्सले अनुबन्ध गरेको थियो ।

पूर्ण टिम बनाउने काठमाडौं पहिलो
शनिबार भएको मिनि अक्सनबाट काठमाडौं गोर्खाजले पूर्ण टिम बनाएको छ । यससँगै काठमाडौं खेलाडी पूरा गर्ने पहिलो टोली पनि बनेको छ । मिनि अक्सनबाट काठमाडौंले शनिबार पाँच खेलाडी खरिद गरेको थियो । ‘ए’ श्रेणीका आदिल आलमलाई १५ लाखमा खरिद गरेको काठमाडौंले ‘बी’ श्रेणीका सन्तोष यादवलाई १० लाख र आकाश त्रिपाठीलाई सात लाख तथा ‘सी’ श्रेणीका उत्तमरंगु थापा मगरलाई तीन लाख र तुलबहादुर थापालाई दुई लाख रुपैयाँमा अनुबन्ध गरेको छ ।

काठमाडौंले पहिलो संस्करणका मार्की तथा कप्तान करण केसी, भीम सार्की, दीपेश कँडेल, साहब आलम, प्रतिक श्रेष्ठ र रासिद खानलाई रिटेन गरेको थियो । काठमाडौंले अब एक नेपाली खेलाडी ट्यालेन्ट हन्टबाट भित्र्याउनेछ भने चार विदेशी खेलाडीलाई पनि 
अनुबन्ध गर्नेछ ।

यसैगरी कर्णाली याक्सले ‘ए’ श्रेणीका पवन सर्राफलाई १५ लाखमा खरिद गरेको थियो । उनलाई लुम्बिनी, कर्णाली, विराटनगर र चितवनले अधिकतम् मूल्यमा बोली लगाएको थियो । चार टोलीबाट अधिकतम् बोली लागेका उनी गोला प्रथाबाट कर्णालीमा अनुबन्ध भएका थिए । कर्णालीले ‘बी’ श्रेणीका युवराज खत्रीलाई १० लाख, दीपक डुम्रे र इमरान शेखलाई दुई लाख रुपैयाँमा खरिद गरेको छ । 

यस्तै पोखरा एभेन्जर्सले ‘बी’ श्रेणीका अर्जुन कुमाललाई पाँच र ‘सी’ श्रेणीका अभिषेक तिवारी, कृष्ण पौडेल र सन्दीप क्षत्री खत्रीलाई दुई लाख रुपैयाँमा टोलीमा भित्र्याएको छ । चितवनले ‘ए’ श्रेणीका देव खनाल र अर्जुन साउदसँगै ‘बी’ श्रेणीका विपिन रावललाई पाँच लाख तथा ‘सी’ श्रेणीका विपिन आचार्य र रञ्जित कुमारलाई जनही दुई लाख रुपैयाँमा टोलीमा अनुबन्ध गरेको छ । 

विराटनगर किङ्ले ‘ए’ श्रेणीका सूर्य तामाङलाई १० लाख, ‘बी’ श्रेणीका साहिल पटेल, नारायण जोशी र शंकर रानालाई पाँच÷पाँच लाख तथा ‘सी’ श्रेणीका श्रवण क्रिस्कुलाई दुई लाख रुपैयाँमा अनुबन्ध गरेको थियो । यस्तै लुम्बिनी लायन्सले ‘बी’ श्रेणीका दीलिप नाथ र शेर मल्ललाई जनही १० लाख, दुर्गेश गुप्तालाई पाँच लाख तथा ‘सी’ श्रेणीका विशाल पटेललाई पाँच लाख र आदिल खानलाई दुई लाख रुपैयाँमा अनुबन्ध गरेको छ । 

एनपीएलको साविक विजेता जनकपुर बोल्ट्सले ‘बी’ श्रेणीका मायन यादवलाई सात लाख ७५ हजार र विकास आग्रीलाई पाँच लाखमा खरिद गर्दा ‘सी’ श्रेणीका आदित्य महतालाई पाँच लाख र सचिन भट्टलाई दुई लाख रुपैयाँमा टोलीमा भित्र्याएको छ । यसैगरी साविक उपविजेता सुदूरपश्चिम रोयल्सले ‘बी’ श्रेणीका हेमन्त धामीलाई १० लाख तथा दीपक बोहरा र मिलन बोहरालाई जनही पाँच लाख रुपैयाँमा अनुबन्ध गरेको छ । यस्तै ‘सी’ श्रेणीका टेकबहादुर रावत र दीपेन्द्र थापालाई जनही दुई लाख रुपैयाँमा भित्र्याएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.