नीलवाराहीमा जनश्रमदान, सरोकारवालाको बेवास्ता

नीलवाराहीमा जनश्रमदान, सरोकारवालाको बेवास्ता
सुन्नुहोस्

भक्तपुर : मध्यपुर थिमी नगरपालिका–९ मा अवस्थित नीलवाराही मन्दिर क्षेत्रमा जन श्रमदान अभियान जारी छ । दैनिक सैयौं भक्तजनले मन्दिर संरक्षणका लागि श्रमदान गर्ने गरेका छन् । महिलाले बोरामा माटो भर्ने र पुरुषले पहिरोलाई रोक्न बासको बार बनाउने काम भइरहेको छ ।

धार्मिक, पुरातात्विक र पर्यावरणीय दृष्टिले अत्यन्तै महत्त्वपूर्ण मानिने नीलवाराही मन्दिर काठमाडौं उपत्यकाका चार वाराहीमध्ये एक हो । विगत एक दशकदेखि पहिरोको उच्च जोखिममा परेको यो मन्दिर क्षेत्रको संरक्षणमा राज्यको उदासीनता देखिएपछि स्थानीय आफैं मैदानमा उत्रिएका हुन् ।

१३ औं हप्तादेखि निरन्तर श्रमदान

नीलवाराही क्षेत्र संरक्षण सरोकार समितिका सचिव अनिश वैद्यका अनुसार १३औं हप्तादेखि श्रमदान जारी छ । ‘स्थानीय, प्रदेश र संघ सरकारले वास्ता नगरेपछि जेठ ३ गतेदेखि जन श्रमदान सुरु गरेका हौं’, वैद्यले भने ।

उनका अनुसार मन्दिर भूकम्पले क्षतिग्रस्त बनेको थियो र पहिरोको कारण झनै जोखिममा परेको छ । यद्यपि, सम्बन्धित सरकारी निकायहरूले न सहयोग गरेका छन्, न जन श्रमलाई सहज वातावरण दिएका छन् । ‘हजारौंले जन श्रमदान गरेर करोडौं रकमबराबरको काम गरिसक्यौं, तर अझै अवरोध सिर्जना भइरहेको छ’, वैद्यले भने ।

काममा अनावश्यक अवरोध, सरकारी अस्पष्टता
समितिका सहसचिव निशुल प्रजापतिले मन्दिरसम्म पुग्ने बाटो निर्माणका लागि आवश्यक माटो ल्याउने काम रोकिएकोमा नगरपालिकालाई दोष लगाएका छन् । उनका अनुसार स्रोत बन्द भएपछि कामको गति कम भएको छ । ‘माटोको स्रोत बन्द भए पनि जन श्रमदान निरन्तर चलिरहेको छ । तथापि अबको ४–५ दिनमै नीलवाराही मन्दिरसम्म पुग्ने मुख्य बाटो निर्माण सकिने छ । माटोको स्रोत रोकिए पनि काम रोकिएको छैन’, उनले भने ।

उनले सामाजिक सञ्जालमार्फत माटो सहयोगको आह्वान गरेपछि दैनिक १०–१५ टिप माटो प्राप्त भइरहेकाले काम चलिरहेको बताए । साथै पानीले माटो बगाउन सक्ने भएकोले ठाउँठाउँमा पाइप राखेर त्यसमा प्लास्टिक हाली पानी जाने निकासको व्यवस्था गरेको उनी बताउँछन् ।

स्थानीय सरकारको प्रतिक्रिया
मध्यपुर थिमी नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले नगरपालिका जन श्रमदानको विरोधी नरहेको स्पष्ट पारे । ‘समितिले देखिने काम गरिरहेको छ । बजेट र प्राविधिक सहयोगको लागि जुटिरहेका छौं’, उनले भने ।

श्रेष्ठका अनुसार नीलवाराही क्षेत्रको संरक्षणका लागि करिब २० करोड रुपैयाँ बजेट विनियोजन भइसकेको छ । त्यस्तै माटो रोकिएको भन्ने आरोपको खण्डन गर्दै उनले भने, ‘माटो नगरपालिकाले होइन, चाँगुनारायण नगरपालिका र जिल्ला समन्वय समितिले रोकेको हो ।’

नीलवाराही मन्दिर क्षेत्रलाई सुरक्षित राख्न जनसमुदायको अग्रसरता प्रशंसनीय छ । तथापि, सरकारी निकायबीचको समन्वय अभाव र अस्पष्टताले संरक्षण अभियानमा अवरोध उत्पन्न भइरहेको छ । मन्दिरको धार्मिक र सांस्कृतिक मूल्यलाई ध्यानमा राख्दै सम्पूर्ण निकायहरू मिलेर यसलाई दीर्घकालीन रुपमा सुरक्षित राख्न स्थानीयले आग्रह गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.