भक्तपुरमा व्यंग्य नै व्यंग्यले भरिएको गाईजात्रा
भक्तपुर : आठ रात, नौ दिन लामो भक्तपुरको गाईजात्रा पर्व भव्यताका साथ सम्पन्न भएको छ। आइतबार बिहान सबेरै सुरु भएको जात्रा रातिसम्म चलेको थियो। जात्राले दिनभर भक्तपुर नगर गुञ्जायमान बन्यो। हजारौं मानिस जात्रा हेर्न पुगेका थिए।
काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक लगायत उपत्यका नजिकका ठाउँहरूबाट मानिस भक्तपुरको गाईजात्रा हेर्न आइपुगेका थिए। जात्रा हेर्न आउनेहरू भक्तपुर नगरभरि सबैतिर देखिए पनि विशेष गरेर दरबार क्षेत्र, न्यातपोल (पाँचतल्ले मन्दिर), पोटरी स्क्वायरलगायत क्षेत्रहरूमा भिड थियो। प्रत्येक वर्षझैं जात्रा व्यंग्यले भरिएको थियो। जात्रामा राजनीतिक व्यंग्यहरू सदाझैं यो वर्ष पनि विशेष देखिए। विशेष गरेर ठूला दलका शीर्ष नेताहरूप्रति ती व्यंग्य बढी केन्द्रित देखिए।
यसअघि शनिबार भक्तपुरको दरबार स्क्वायरस्थित तलेजुबाट साँझ घिन्तागिसी नाच (लट्ठी जुधाएर खेलिने नाच) को प्रदर्शन भएसँगै जात्रा सुरु भएको थियो। भक्तपुरको गाईजात्राको प्रमुख दिनको आकर्षण ‘घिन्तान्गिसी’ नाच हो। यो नाच दुई–दुईजना मिलेर लट्ठी जुधाएर खेलिन्छ। एउटा टोलीमा पनि दर्जनौं जोडी यो नाच नाचेर बजार परिक्रमा गर्ने गर्छन्। साथमा बाजागाजा पनि हुन्छ। यस्ता सयौं टोलीहरू दिनभरि बजारभरि घुमिरहेका हुन्छन्। नगरका एक मृत परिवारको एउटा नाच टोली यसरी निस्केका हुन्छन्। त्यसकारण बजारभरि दिनभरि नाच देखाउने र जात्रा हेर्न आउनेहरूको भिड चल्ने गर्दछ।
प्रमुख दिनको जात्राको मुख्य आकर्षण भने साँझपख देखियो। साँझ भैलद्य (बाँस र परालबाट बनाइएको) गाई घुमाउनु नै मुख्य आकर्षण हो। जात्राको मुख्य दिनको अन्तमा साँझ लाकुलाछेंबाट यो जात्रा सुरु भएको थियो। लाकुलाछेंबाट पाँचतल्ले मन्दिर हुँदै जात्रा थालिएको थियो। यो वर्ष साँझ ४ बजेबाट यो जात्रा सुरु गर्ने तयारी गरिए पनि साढे चारबाट सुरु भएको थियो। यसको परिक्रमा सकेसँगै त्यस दिनको जात्रा समापन भएको थियो।
गाईजात्राका अबका बाँकी दिनहरूमा यहाँ साँझपख घिन्तागिसी परिक्रमा हुने गर्छन्। साथै विभिन्न नाच, नाटक, ख्याल (प्रहसन)लगायत सांस्कतिक कार्यक्रमहरू पनि प्रदर्शन गरिनेछ। गाईजात्राका क्रममा नौ दिनमा यहाँ दुई दर्जन थरी (विधा)का सयौं प्याखं (नाच) देखाइन्छन्। यहाँ देवी नाच, भैल नाच, बाँदर नाच, गाईचा नाच, लुसी नाच, फाकंदली नाच, नागाचा नाच देखाइन्छन्।
साथै लाखे नाच, नटु (मथु) वाचा नाच, कंलाली नाच, जंगली नाच, भालु नाच, खिचा नाच, ख्या नाच, कवाँचा नाचलगायत नाच पनि देखाइन्छन्। साथसाथै हनुमान, म्हेखा, किजापूजा, कपायफेनेगू, सलां नाच, झ्या झ्या नाचलगायत नाच देखाइन्छन्। यी सबै नाचमा फरक फरक रूपमा फरक फरक भेषमा मानिस नै नाचिन्छन्। गाईजात्राका क्रममा एउटै वडाबाट पनि दर्जनौं नाच, नाटक, प्रहसन प्रदर्शन गर्ने प्रचलन रहँदै आएको छ।
संस्कृतिविद् डा. इन्दुल केसीका अनुसार भक्तपुरमा गाईजात्रा उपत्यकाका अन्य जिल्लाका जात्राभन्दा पृथक् अनि विशेष छ। उनका अनुसार भक्तपुरको गाईजात्राका लागि तयारी अगाडिदेखि नै सुरु हुन्छ। उनको भनाइमा गठेमंगल (घण्टाकर्ण) पर्व सकेसँगै टोलटोलमा तयारी सुरु हुने परम्परा छ। जनैपूर्णिमादेखि सुरु भएको गाईजात्रा कृष्णअष्टमीसम्म आठ रात नौ दिनसम्म नाच प्रदर्शन गरी समापन हुने गर्दछ।
प्रतिक्रिया दिनुहोस !