रेलमा ठोक्किए पनि जोगियो कार
नेपाल रेल्वेको आफ्नै रेल हाल सर्भिसिङमा रहेको छ भने भारतबाट रेल ल्याएर सञ्चालन गरिरहेको छ ।
गोविन्द महतो: आइतबार बिहान महोत्तरीको भंगहाबाट जनकपुर हुँदै जयनगरका लागि रेल छुटेको थियो । तर, जनकपुरको थापा चोकस्थित रेल्वे ट्र्याकमा एक्कासि कार आइपुग्यो । रेलले कारलाई ठक्कर दियो । संयोगवश, कारमा धेरै क्षति भएन, मानवीय क्षति पनि भएन । कारमा सवार तीन जनालाई सामान्य चोटपटक मात्रै लागेको छ ।
बागमती प्रदेश ०१–०२५ च १२९० नम्बरको उक्त कार आइतबार बिहान ८:३० बजे महोत्तरीको भंगहा पिपराढी स्टेसनबाट जनकपुरधामतर्फ आउँदै गरेको रेलसँग ठोक्किएको थियो । जनकपुरधाम उप–महानगरपालिका–९, ब्रह्मपुरीस्थित थापा चोकनजिक रेललाई छलेर बाटो क्रस गर्न खोज्दा कार दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुमान छ ।
‘यो दुर्घटना ‘अन अथोराईज्ड क्रसिङ’ मा कार पास गर्दा हुन गएको हो’, रेल्वे सुरक्षा वेश अस्थायी क्याम्पका प्रहरी नायब उपरीक्षक सुरज क्षेत्रीले भने । भारतको जयनगरदेखि जनकपुरधाम हुँदै महोत्तरीको भंगहासम्म ‘अथोराईज्ड क्रसिङ’ ३३ वटा र ‘अन अथोराईज्ड क्रसिङ’ २३ वटा रहेकोमा अधिकांश दुर्घटना ‘अन अथोराईज्ड क्रसिङ’ मा हुने गरेको उनले बताए । उनले भने, ‘आजको घटना पनि ‘अन अथोराईज्ड क्रसिङ’ बाट कार पास गराउँदाको परिणाम हो । रेल्वेले गाडी क्रस गर्न नमिल्ने ठाउँ र क्रस गर्न मिल्ने ठाउँ भनेर छुट्याएको छ, तर सबै ठाउँमा गाडी क्रस हुने गरेकाले दुर्घटना हुने गरेका छन् । ‘नेपाल रेल्वे नयाँ संरचना भएका कारण चलनचल्तीका बाटोमा तारबार गर्न नसकिएको कारण यस्तो दुर्घटना हुने गरेको छ’, उनले भने ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक वरुणबहादुर सिंहले कार चालकको ‘ओभर कन्फिडेन्स’ का कारण रेलसँग ठोक्किन पुगेको जानकारी दिए । उनले भने, ‘दुर्घटनाको प्रारम्भिक अनुमानमा के देखिन्छ भने कारचालकले दुई मिनेट धैर्यता गर्न नसकेका कारण दुर्घटना भएको हो । चालकले रेल आउँदा नआउँदै म लिक क्रस गरिहाल्छु भन्ने विश्वास लिए । तर, सम्भावित ठूलो दुर्घटनाबाट जोगियो । अन्यथा रेलको स्पिड बढी हुने हो भने कारमा भएको क्षतिभन्दा कैयौं गुणा बढी मानवीय र भौतिक क्षति हुन सक्थ्यो । तर, रेलको गति अति मध्यम भएकाले रेल्वे लिकमा १० मिटर जति घिसारिएको छ । तर, कारमा सवार तीनै जनालाई सामान्य चोटपटकबाहेक केही भएको छैन ।’
मुख्यतयाः सधैंभरि निर्वाध रूपमा रेल्वे लिकबाट ओहोर–दोहोर गरिरहने सवारीसाधनका धनीलाई ‘अन अथोराइज्ड क्रसिङ’ र अथोराईज्ड क्रसिङको जनचेतना नहुँदा पटक–पटक दुर्घटना हुने गरेको छ । नेपाल रेल्वेको आफ्नै रेल हाल सर्भिसिङमा रहेको छ भने भारतबाट रेल ल्याएर सञ्चालन गरिरहेको छ । दुर्घटनाका प्रत्यक्षदर्शीका अनुसार रेलले कारलाई ठक्कर दिँदा ठूलो आवाज आएको थियो ।
स्थानीय पत्रकार घनश्याम मिश्रका अनुसार कार चालकले रेल आउनुपूर्व बाटो क्रस गर्ने हिसाबले अघि बढे पनि कार रेलको लिकमा फस्न पुगेको थियो । पश्चिम दिशाबाट गुडेको रेल आइपुग्नु र रेलचालकले ब्रेक लगाउँदा लगाउँदै कारलाई धक्का लागेर केही परसम्म धकेलिन पुगेको थियो । घटनाका सन्दर्भमा थप बुझ्न खोज्दा रेल्वेका प्रबन्ध सञ्चालक निरञ्जनकुमार झाले पटक–पटक फोन गर्दा पनि फोन उठाएनन् । यता रेल्वे ट्र्याकको जिम्मा पाएका इन्जिनियर राजीव यादवले समेत फोनमा बोल्न मानेनन् ।
प्रतिक्रिया दिनुहोस !