भैंसीलाई चरम यातना दिइ ओसार-पसार गर्ने दुईजना पक्राउ
अर्घाखाँची : अर्घाखाँचीमा भैंसीलाई चरम यातना दिइ ओसारपसारमा संलग्न रहेका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । धारापानीबाट सन्धिखर्क आउँदै गरेको सिङ्गल क्यापको बोलेरो गाडीमा ४ वटा भैंसी निर्ममतापूर्वक यातना दिइ सानो ठाउँमा अटाई नअटाई राखेर बुटवलतर्फ लैजान लागेको अवस्थामा सन्धिखर्क नगरपालिका -२ घोचेखोलामा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा अर्घाखाँचीको भुमिकास्थान नगरपालिका- ६ बस्ने वर्ष २३ वर्षीय सरोज पौडेल र रोल्पा लुङ्ग्री गाउँपालिका -२ घर भइ १८ वर्षीय क्रिस बानिया रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक झलक प्रसाद शर्माले जानकारी दिए।
सानो गाडीभित्र भैंसीहरू घाइते अवस्थामा थिए। गाडी चालक र सहचालक गरी दुईजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी चक्रबहादुर मल्लले बताए । उनीहरूलाई नियन्त्रणमा लिइ मुलुकी अपराध संहिता २०७४ बमोजिम पशुपंक्षीसम्बन्धी कसूर मुद्दामा म्याद लिइ थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस !