विराटनगरको बाल सुधारगृह सुरक्षा नियन्त्रणमा, तोडफोडबाट क्षति

विराटनगरको बाल सुधारगृह सुरक्षा नियन्त्रणमा, तोडफोडबाट क्षति
सुन्नुहोस्

विराटनगर : बाल बिज्याइँकर्ताबीचको दोहोरो झडपले अवस्था तनावपूर्ण बनेको विराटनगरको बाल सुधारगृहलाई सुरक्षाकर्मीले आफ्नो नियन्त्रणमा लिएका छन्। 

बेलैमा सुरक्षाकर्मीले नियन्त्रणमा लिन सकेका कारण बाल बिज्याइँकर्ताहरू फरार हुन पाएनन्। सुरक्षाकर्मीले आफ्नो नियन्त्रणमा लिएर सुधारगृहको अवस्था सामान्य बनाएका हुन्। अहिले स्थिति शान्त भइसकेको छ। मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाका अनुसार विराटनगर महानगरपालिका-३ मा रहेको सुधारगृहमा बुधबार दिउँसो १२:४५ बजेतिर झडप भएको थियो। सुधारगृहमा रहेका बाल बिज्याइँकर्ताबीच दोहोरो झडप हुँदा अवस्था तनावग्रस्त बन्न पुगेको उनको भनाइ छ। 

उनीहरूबीच के कारणले झडप भएको हो भनेर यकिन गर्न प्रहरीले अनुसन्धान सुरु गरेको छ। कानुनको विवादमा परेका बाल बिज्याइँकर्ता बालकहरूबीच भएको झडप छुट्याउने क्रममा नेपाल प्रहरीका असई (प्रहरी सहायक निरीक्षक) र वरिष्ठ हवल्दार घाइते भएका छन्। झडपमा उत्रिएकालाई सम्झाइबुझाइ गर्ने क्रममा बाल बिज्याइँकर्ताहरू प्रहरीमाथि नै जाइलागेको एसपी चिमरियाले बताए। 

उनीहरूको आक्रमणबाट सुधारगृहको सुरक्षार्थ खटिएका असई शम्भु चौधरी र वरिष्ठ हवल्दार हिरणकुमार मण्डल घाइते भएको चिमरियाले बताए। असई चौधरीलाई सामान्य चोट लागेको छ। उनलाई अस्पताल भर्ना गर्न परेन। टाउकोमा चोट लागेका वरिष्ठ हवल्दार मण्डलको कोशी अस्पतालमा उपचार भइरहेको छ। तर, अवस्था सामान्य रहेको जानकारी एसपी चिमरियाले दिए। 

सुधारगृहमा दोहोरो झडप भएको जानकारी पाउनसाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट डीएसपी हस्तबहादुर सुनार नेतृत्वको टोली घटनास्थल पुगेको थियो। वडा प्रहरी कार्यालय विराटनगरलगायतका विभिन्न प्रहरी युनिटबाट पनि प्रहरी परिचालन गरिएको थियो। सुधारगृहमा परिचालित प्रहरीले सुधारगृहलाई आफ्नो नियन्त्रणमा लिएर अवस्था सामान्य बनाएको हो। चिमरियाका अनुसार झडप सुरु हुनसाथ १२०/१३० जनाजति बाल बिज्याइँकर्ताहरू मुख्य गेट तोडेर बाहिर निस्किएका थिए। 

बाहिर निस्किएर भाग्न खोजेकाहरूलाई सुधारगृहमा खटिएको प्रहरी टोलीले घेरा हालेर सुधारगृहभित्रै पुर्‍याएको थियो। मोरङ प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बेलैमा अपनाएको सुरक्षा सावधानीका कारण बाल बिज्याइँकर्ताहरू भाग्न भने नपाएको र सुधारगृहको अवस्था सामान्य भइसकेको बताए। उनले भने, ‘झडपका कारण केहीबेर तनावपूर्ण स्थिति उत्पन्न भएको थियो। तर, अहिले अवस्था शान्त भइसकेको छ। थप अवाञ्छित गतिविधि हुने सम्भावना छैन। सुधारगृह अहिले सुरक्षा नियन्त्रणमा आइसकेको छ।’ 

घटनाको जानकारी पाउनसाथ प्रजिअ यादव, एसपी चिमरियालगायतका सुरक्षा अधिकारीहरू सुधारगृहमा पुगेर त्यहाँको अवस्था सामान्य बनाउन भूमिका खेलेका थिए। सुधारगृहको क्षमता ५० जनाको हो। हालः २ सय ४९ जना बाल बिज्याइँकर्तालाई राखिएको छ। गणना गर्दा सबै जना सुधारगृहभित्रै रहेको र कसैले पनि भाग्ने मौका नपाएको प्रजिअ यादवले बताए। 

झडपमा उत्रिएका बाल बिज्याइँकर्ताले तोडफोड गरेर सुधारगृहभित्र क्षति पुर्‍याएका छन्। तोडफोडबाट सुधारगृहको मेष भवन, सुरक्षा ब्यारेक, कार्यालयको कोठा, झ्यालको सिसा, कुर्सीहरूलगायतमा क्षति पुगेको छ। क्षतिको विवरण संकलनको काम भइरहेको छ। 

विभिन्न अपराधमा संलग्न भएका १८ वर्षमुनिका बालबालिकालाई अदालतको आदेश र फैसला अनुसार सुधारगृहमा राख्ने गरिएको छ। अदालतले पुर्पक्षका लागि थुनामा पठाएका र कसुरदार ठहर गरेका बालकहरूलाई त्यहाँ राख्ने गरिएको हो। तर, सुधारगृहमा १८ वर्षभन्दा माथिका पनि धेरै जना छन्। १८ वर्ष तलको हुँदा दोषी ठहर भएकाहरूलाई त्योभन्दा बढी उमेर भइसक्दा पनि कानुन र वैकल्पिक व्यवस्थाको अभावमा सुधारगृहमै राख्ने गरिन्छ।
 
त्यसरी राखिएका बाल बिज्याइँकर्ताबीच बेला-बेला विवाद र झडप हुने गरेको हो। झडपले सुधारगृहको अवस्था अशान्त बन्ने गरेको छ। सुरक्षामा खटिएका प्रहरी र कर्मचारीलाई झुक्याएर बाल बिज्याइँकर्ताहरू फरार पनि हुने गरेका छन्। १८ वर्षमाथि पुगेकालाई सुधारगृहबाट अन्यत्र स्थानान्तरण र उनीहरूका लागि वैकल्पिक व्यवस्था गर्न आवश्यक कानुन बनाउनुपर्ने आवाज चौतर्फी रूपमा उठिरहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.