काठमाडौंमा अपराधका घटनामा वृद्धि, बैकिंङ कसुर सबैभन्दा बढी
काठमाडौं : जिल्ला प्रहरी परिसर, काठमाडौँले आर्थिक वर्ष २०८१/८२ मा काठमाडौंमा अपराधका घटनामा वृद्धि भएको जनाएको छ।
काठमाडौं प्रहरीले बुधबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८०/८१ को तुलनामा २०८१/८२ मा काठमाडौंमा अपराधका घटनामा शून्य दशमलव ३३ प्रतिशतले वृद्धि भएको जनाएको छ।
आर्थिक वर्ष २०८१/८२ मा १२ हजार ९ सय १५ अपराधका घटना दर्ता भएको परिसरले जनाएको छ। धेरै संख्यामा दर्ता भएका उजुरीहरुमा बैकिंङ कसुर पहिलो नम्बरमा रहेको छ भने त्यसपछि क्रमशः अभद्र व्यवहार, चोरी, ठगी, लागूऔषध, आत्महत्या, जबरजस्ती करणी, ज्यानमार्ने उद्योग लगायत रहेको काठमाडौँ प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले जानकारी दिए। अपराधका घटना बढ्दै गएपनि जनशक्ति भने अपुग रहेको उनले बताए।
काठमाडौंमा कुल दरबन्दी ४ हजार १६ रहेकोमा हाल कार्यरत जनशक्ति ३ हजार २ सय ३३ मात्रै रहेको अधिकारीले जानकारी दिए। उनले जनशक्ति कम हुँदाहुँदै पनि शान्ति सुरक्षामा कुनै कमी हुन नदिने गरी प्रहरी परिचालन गरिएको उल्लेख गरे।
त्यस्तै जिल्ला प्रहरी परिसर, काठमाडौँले विपद्का घटनामा समेत प्रभावकारी ढंगले काम गर्न सफल भएको जनाएको छ। स्थापनाकालमा ४६ वटा सिआरभी भ्यान रहेकोमा हाल ३८ वटा सिआरभी भ्यान सञ्चालनमा रहेको, ६३ वटा क्युआरटी सञ्चालनमा रहेको काठमाडौं परिसरले जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस !