आईसीसी वरीयतामा रोहित शर्माको धमाका, बाबर आजम झरे तल
काठमाडौं : बाबर आजमले वेस्ट इन्डिजविरुद्ध ३ एकदिवसीय खेलमा जम्मा ५६ रन बनाए। यसको सबैभन्दा ठुलो मार उनले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को हालैको वरीयतामा भोग्नुपरेको छ।
रोहित शर्मा बाबर आजमलाई उछिन्दै एकदिवसीय वरीयतामा नम्बर २ ब्याट्सम्यान बनेका छन्। नम्बर १ ब्याट्सम्यान शुभमन गिल हुन्।
विराट कोहली ७३६ अंकका साथ चौथो स्थानमा छन् भने न्यूजिल्याण्डका डेरिल मिचेल (७२०) पाँचौं स्थानमा छन्। यस्तै श्रीलंकाका चारिथ असलंका (७१९) छैटौं स्थानमा छन भने आयरल्याण्डका ह्यारी टेक्टर (७०८) सातौं स्थानमा छन्। भारतका श्रेयस अय्यर (७०४) आठौं स्थानमा छन् भने अफगानिस्तानका इब्राहिम जद्रान (६७६) नवौं स्थानमा छन्।
श्रीलंकाका कुसल मेन्डिस (६६९) पनि शीर्ष १० मा परेका छन्। वेस्ट इन्डिजका शाई होप (६६१) ११ औँ, अष्ट्रेलियाका ट्राभिस हेड (६५०) १२ औँ र वेस्ट इन्डिजका केसी कार्टी (६५०) १३ औँ स्थानमा छन्।
दक्षिण अफ्रिकाका रस्सी भ्यान डर डुसेन (६४८) १४ औँ स्थानमा छन्। यस वरियतामा ४ भारतीय ब्याट्सम्यान शीर्ष १० मा परेका छन्।
डेभिडको टी–२० वरियतामा ठुलो फड्को
अष्ट्रेलिया र दक्षिण अफ्रिकाका ब्याट्सम्यानले आईसीसी टी–२० ब्याटिङ वरियतामा ठुलो फड्को मारेका छन्। पछिल्लो अपडेटमा दुबै टोलीका खेलाडीहरूले आफ्नो करियरको उच्चतम वरियता हासिल गरेका छन्।
दक्षिण अफ्रिका विरुद्धको टी–२० शृङ्खलाको पहिलो दुई खेलमा सर्वाधिक रन बनाउने खेलाडी रहेका अष्ट्रेलियाका टिम डेभिड ६ स्थान माथि उक्लिएर १० औँ स्थानमा पुगेका छन्। यो उनको करियरको अहिलेसम्मकै उत्कृष्ट वरियता हो।
डेवाल्ड ब्रेभिसको वरियतामा पनि ठुलो सुधार
अस्ट्रेलियाका क्यामरुन ग्रिनले पनि टी–२० ब्याट्सम्यानको वरियतामा ६ स्थान उक्लिएर १७ औँ स्थानमा पुगेका छन्। दक्षिण अफ्रिकी युवा खेलाडी डेवाल्ड ब्रेभिस यस अपडेटको सबैभन्दा ठुलो स्टार थिए। डार्विनमा भएको शृङ्खलाको दोस्रो खेलमा ब्रेभिसले १२५ रनको शानदार इनिङ खेले। यसले उनको टोलीलाई शृङ्खला १–१ को बराबरीमा पुर्यायो।
यो इनिङपछि, उनी टी–२० ब्याटिङ वरियतामा शीर्ष १०० बाट २१ औँ स्थानमा उक्लिए। यो कुनै पनि दक्षिण अफ्रिकी पुरुष ब्याट्सम्यानले टी–२० मा बनाएको उच्चतम स्कोर हो। अष्ट्रेलिया विरुद्धको उच्चतम व्यक्तिगत स्कोर पनि हो। यो उनको करियरको नवौं टी–२० अन्तर्राष्ट्रिय खेल मात्र थियो।
प्रतिक्रिया दिनुहोस !