विद्यालयमा कोदोका परिकार अनिवार्य

विद्यालयमा कोदोका परिकार अनिवार्य
सुन्नुहोस्

स्याङ्जा : फेदीखोला गाउँपालिकाले विद्यालय पोषण कार्यक्रमअन्तर्गत हप्ताको दुई दिन कोदोका परिकार खुवाउन अनिवार्य गरेको छ । गाउँपालिकाको चमेनागृहले पनि साताको एक दिन कोदोका परिकार खुवाउनुपर्ने भएको छ । बहुउपयोगी, पोषणयुक्त र स्थानीय खाद्यान्न कोदोको प्रवर्धन र संरक्षण गर्नुका साथै स्वस्थकर जीवन जिउने उद्देश्यले पालिकाले सो निर्णय गरेको गाउँपालिकाले जनाएको छ । 

विद्यालय पोषण कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्र सञ्चालित सबै विद्यालयमा हप्तामा दुई दिन कोदोबाट निर्मित परिकार (ढिँडो, मम, तावा रोटी, पुवा, सेलरोटी, कोदोको चिउरा, हलुवा, सुप) लगायतका दिवा खाजाका रूपमा उपलब्ध गराउने निर्णय गरेको अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए । 

गाउँपालिकाले कोदो उत्पादन, प्रवर्धन र उपयोगमा प्राथमिकता दिँदै गाउँपालिका मातहतका विद्यालय, वडा कार्यालय, चमेनागृह, सभा–सेमिनार स्थलहरूमा कोदोबाट बनेका परिकारहरूलाई प्राथमिकता दिई अनिवार्य रूपमा प्रयोग गर्ने गराउने निर्णय गरेको छ । चमेनागृहले भने साताको एक दिन कोदोका परिकार खुवाउनुपर्ने भएको छ । 

साउन १६ गते पर्ने राष्ट्रिय कोदो दिवसदेखि सो निर्णयलाई कार्यान्वयन गर्ने गरी तयारी भइरहेको अध्यक्ष सुवेदीले बताए । सरकारले प्रथम राष्ट्रिय कोदो दिवस सोही दिन मनाउने निर्णय गरेको छ । त्यसो त गाउँपालिकाले कक्षा ६ को स्थानीय पाठ्यक्रममा ‘हाम्रो फेदीखोला’अन्तर्गत ‘कोदोः बहुपयोगी खाद्यान्न’ शीर्षकको पाठ २०७७ सालदेखि विद्यार्थीलाई पढाउँदै आएको छ । 

यसैगरी, कोदो उत्पादनमा समेत जोड दिन पालिकाले १६ गते फेदीखोला गाउँपालिका–१, रामकोटमा कोदो रोपाइँको आयोजना गरेको थियो । सोही अवसरमा कोदोबाट उत्पादित विभिन्न परिकारको प्रदर्शनी, यसको बहुउपयोगका बारेमा जानकारी गराइने भएको उपाध्यक्ष देउकुमारी गुरुङले बताइन् । कोदोमा सबै प्रकारका पौष्टिक तत्व पाइने भएकाले हिजोआज कोदोका परिकार खानेको संख्यामा वृद्धि भएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.