ठाकुरराम बहुमुखी क्याम्पसमा लफडा

ठाकुरराम बहुमुखी क्याम्पसमा लफडा
तस्बिर : अन्नपूर्ण

वीरगन्ज: त्रिभुवन विश्वविद्यालयभन्दा जेठो तथा देशकै ऐतिहासिक शैक्षिक धरोहर वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पस विगत एक महिनादेखि क्याम्पस प्रमुखविहीन बन्दा अस्तव्यस्त बनेको छ । एक महिनादेखि क्याम्पस आउनै छाडेका क्याम्पस प्रमुख रन्जितप्रसाद यादवले साउन २१ गते भने राजीनामा दिएपछि क्याम्पस अस्तव्यस्त बनेको हो । 

योसँगै  क्याम्पस प्रमुख नहुँदा शैक्षिक,आर्थिकलगायतका गतिविधि प्रभावित भएको भन्दै  विभिन्न राजनीतिक दल सम्बद्ध संघसंगठनले क्याम्पसका विभिन्न शाखामा तालाबन्दी गरिदिएका छन् । यसले क्याम्पस झनै लथालिङ्ग बन्न पुगेको छ ।

क्याम्पस प्रमुख यादवले साउन २१ मा त्रिुभवन विश्वविद्यालयको उपकुलपति कार्यालयमा पठाएको राजनीनामापत्र स्वीकृत भने भइसकेको छैन । एक महिनापहिले देखि क्याम्पस आउन छाडेका यादवले यसबीचमा निमित्त क्याम्पस प्रमुखको जिम्मेवारी पन्नालाल कुशवाहालाई दिएका थिए । तर, कुशवाहाले पनि उक्त जिम्मेवारी बहन गर्न असमर्थ भएको भन्दै निमित्त क्याम्पस प्रमुख पदबाट राजीनामा दिइसकेका छन् । 

क्याम्पस प्रमुख यादवले गत चैतमा भएको स्ववियु निर्वाचनबाट पश्चात क्याम्पसमा काम गर्ने वातावरण अनकूल नभएको र आफ्नो स्वास्थ्य अवस्थाले पनि साथ नदिएका कारणले क्याम्पस प्रमुख पदबाट राजीनामा दिएको बताए । उनले भने,‘स्ववियु चुनावपछि क्याम्पसमा काम गर्ने अनुकूल परिस्थिती नै भएन । अनि स्वास्थ्य अवस्था पनि मेरो त्यति ठिक भएन । त्यहि भएर १ महिनादेखि क्याम्पस गएको छैन । साउन २१ गते उपकुलपति कार्यालयमा राजीनामा पनि पठाइसकेको छु ।’

तर गत चैत तेस्रो साता ठाकुरराम क्याम्पसमा झण्डै १६ वर्षपछि भएको स्ववियु निर्वाचनबाट निर्वाचित भएर आएका स्ववियु पदाधिकारी र सदस्यहरूले भने यादवले क्याम्पस प्रमुखबाट राजीनामा दिनुको वास्तविक कारण अर्कै रहेको बताएका छन् । 

ठाकुरराम क्याम्पसमा २०६५ देखि २०८१ सम्म स्ववियु नहुँदाको अवधिमा विद्यार्थीबाट विभिन्न शीर्षकमा लिइएको रकमको हिसाबको सोधीखोजी स्ववियुले गर्न थालेपछि क्याम्पस प्रमुख यादव क्याम्पस छाडेर गायब भएको स्ववियु सभापति राजकुमार यादवले बताए । 

उनका अनुसार,विद्यार्थी कल्याण कोष शीर्षकमा विद्यार्थीबाट १६ वर्षसम्म लिइएको करिब १ करोड रुपैयाँको हिसाब क्याम्पस प्रशासनसँग छैन । सभापति यादवले भने,‘१६ वर्षसम्म स्ववियु थिएन । तर हरेक विद्यार्थीबाट भर्नाका बेला स्ववियु कल्याण कोष शीर्षकमा रसिद काटेर रकम उठाइएको रहेछ । कोषको रकम अन्य कुनै शीर्षकमा खर्च गर्न पाइँदैन । त्यो रकम सिधै स्ववियुको बैंक खातामा दाखिला गर्नुपर्छ । तर १६ वर्षसम्म स्ववियु नहुँदा त्यो रकम स्ववियुको खातामा जाने कुरै भएन । अहिले १६ वर्षसम्म उठेको त्यहि रकमको बारेमा स्ववियुले हिसाबकिताब माग्दा क्याम्पस प्रमुखले मलाई थाहा छैन भनेर जवाफ दिनुभयो ।’
 
त्रिविको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले पनि गत जेठ १९ गते पत्रचार नै गरेर उक्त रकम स्ववियुको खातामा दाखिला गरिदिन निर्देशन दिँदा पनि क्याम्पस प्रमुख यादवले अटेर गरेको सभापति यादवले सुनाए । 

स्ववियुमा आफूहरु निर्वाचित भएर आएपछि क्याम्पसमा विगतदेखि भइरहेका शैक्षिक,आर्थिक लगायतका बेथितीका बारेमा सोधीखोजी गर्न थालेपछि त्यसको दबाब थेग्न नसकेर क्याम्पस प्रमुख यादव क्याम्पसमा आउनै छाडेको उनले बताए । यादवले साउन २१ मा राजीनामा दिएको भएपनि त्रिवि उपकुलपति कार्यालयले  भने स्वीकृत नगरेको उनले बताए । 
 
क्याम्पसको बीबीए,बीआईटी र बीबीएममा अध्ययनरत विधार्थीहरुबाट कम्प्युटर ल्याबको शुल्क शीर्षकमा प्रति विद्यार्थी ११ हजार रुपैयाँ  र पुस्तकालय शुल्क शीर्षकमा प्रति विधार्थी २४ हजार रुपैयाँ लिने गरिएको छ । सभापति यादवले भने,‘तर त्यो रकमको खर्च विवरण पनि क्याम्पससँग छैन । त्यति धेरै रकम उठ्दापनि कम्प्युटर ल्याब र पुस्तकालयको हाल भने बेहाल छ ।’

परीक्षामा खटेका आंशिक प्राध्यापक र कर्मचारीहरूको पारिश्रमिक र भत्ता रकमपनि व्यापक हिनामिना गरिएको,पारिश्रमिक र भत्ता लामो समयदेखि नपाएपछि आंशिक प्राध्यापक र कर्मचारीहरू परीक्षामा खट्नै छाडेको सभापति यादवले बताए । उनले भने,‘क्याम्पसको परीक्षा सुपरीडेन्टेड (क्याम्पस प्रमुख) खटाएर लिनुपर्छ । तर क्याम्पस प्रमुख एउटा पनि परीक्षामा जाँदैनन् । अहिले त क्याम्पसका पियन र पालेलाई परीक्षा हलमा खटाएर परीक्षा लिने गरिएको छ ।’

क्याम्पसमा वर्षौदेखि अलपत्र रहेको निर्माणधिन अवस्थामा रहेको बीबीए संकायको भवन निर्माण सम्पन्न भइसकेको भन्दै फर्जि कागजात तयार पारेर लाखौं रकम ठेकेदारलाई भुक्तानी गरिएको उनले जानकारी दिए । उनले भने,‘भवन अधुरै छ । तर काम पूरा भयो भनेर क्याम्पसले लाखौं रकम ठेकेदारलाई भुक्तानी दिइसकेको रहेछ ।’ 

हालै निर्माण सम्पन्न भई सञ्चालनमा ल्याइएको नवनिर्मित प्रसाशनीक भवनका लागि ठेकेदारसँग गरिएको निर्माण सम्झौताविपरीत २० लाख रुपैयाँ बढीको सामान खरिद गरेर क्याम्पसले त्यसको पनि भुक्तानी दिएको भेटिएको सभापति यादवले बताए ।

१५ हजार भन्दा बढी विद्यार्थीहर अध्ययनरत रहेको ठाकुरराम क्याम्पसमा क्याम्पस प्रमुख,लेखा प्रमुख र स्टोर शाखा प्रमुखले स्ववियु नभएको अवधिमा करोडौं रुपैयाँ हिनामिना गरेर ब्रम्हलुट मच्चाएको आरोप सभापति यादवको छ । 

उनले भने,‘एक महिनादेखि क्याम्पस प्रमुख गायब हुनुहुन्छ । चारजना सहायक क्याम्पस प्रमुख हुनुहुन्छ । तर उहाँहरू पनि कार्यकक्षमा कहिल्यै बस्नु हुन्न ।’ क्याम्पस एक महिनादेखि क्याम्पस प्रमुखविहीन हुँदा प्राध्यापक र सह–प्राध्यापकहरुपनि नियमित रुपमा क्याम्पसमा नआइरहेको उनले सुनाए । उनले भने,‘क्याम्पस प्रमुख नै नभएपछि उहाँहरूको पनि मनोमानी छ । मन लागेका दिन क्याम्पस आएर क्लास लिनुहुन्छ, मन नलागेको दिन हाजिरी मात्रै गरेर हिँडिदिनु हुन्छ ।’

सहायक क्याम्पस प्रमुखहरू पनि कार्यकक्षमा नबस्दा विद्यार्थीको स्थानान्तरण प्रमाणपत्र,सिफारिसलगायतका कागजातमा हस्ताक्षर गरिदिने काम प्रभावित भइरहेको गुनासो यादवले गरे ।  क्याम्पसमा विद्यमान बेथितिलगायतका समस्याबारे स्ववियुको प्रतिनिधि मण्डलले काठमाडौंस्थित त्रिवि उपकुलपतिको कार्यालयमै पुगेर पटकपटक ध्यानाकर्षण गराइसकेको तर सुनुवाइ भने नभएको दुखेसो उनले सुनाए ।

बिहीबार मात्रै स्ववियु सभापति यादवले एक विज्ञप्ति नै जारी गरेर क्याम्पस प्रमुख यादवलाई २४ घण्टाभित्र क्याम्पसमा उपस्थित भएर क्याम्पसको अवस्था सहज बनाइ दिन आग्रह गरेका छन् । अन्यथा क्याम्पस प्रमुख यादवविरुद्ध स्ववियु कडा कदम चाल्न बाध्य हुने चेतावनी समेत सभापति यादवले विज्ञप्ति मार्फत् दिएका छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.