मधेसका महिलाले मनाए त्रिछठ्ठी पर्व
कपिलवस्तु : लुम्बिनी प्रदेशका तराई मधेसका जिल्लामा बिहीबार महिलाले खुसीयालीका साथ त्रिछठ्ठी पर्व मनाएका छन्। छोराको दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै मधेसी समुदायका महिलाले यो पर्व मनाएका हुन्।
पर्वमा महिलाले बिहान सबेरै उठेर स्नान गरी कुश र वरियाराको पूजा गरेका छन्। महुवाको पात छठ्ठी मातालाई चढाउने र हाँगाको दतिवन गरेका छन्। कसैले घर किनारको चौरमा त कसैले देवीस्थानमा बसेर यो पूजा गरे। पूजा सकिएलगत्तै महिलाले त्रिछठ्ठी माताको कथा श्रवण गरेको यशोधरा गाउँपालिका-३ का ध्यानेन्द्रमणि त्रिपाठीले बताए। ‘छोराको लागि मेरी पत्नीले त्रिछठ्ठी पूजा सम्पन्न गरिन्’, त्रिपाठीले भने, ‘हाम्रो समुदायका छोरा हुने सबै महिलाले हर्षउल्लासका साथ यो पर्व मनाए।’
पूजाको अवसरमा महिलाले जोत गोढ नगरेको बाँझो खेतमा उब्जिएको धानको चामल (तिन्नी चामल), साग, फलफूल, दही, कागती, महुवा, अम्बा लगायतका खानेकुराहरू खाने गर्छन्। लुम्बिनी प्रदेशको कपिलवस्तु, रुपन्देही र नवलपरासी जिल्लालगायत तराई मधेसमा यो पर्वलाई महिलाले हरेक वर्ष धूमधामका साथ मनाउने गरेका छन्।
त्रिछठ्ठी पर्व तराई मधेसका महिलाको पवित्र पर्व भएका कारण यस दिन कपिलवस्तु नगरपालिकाले पालिका क्षेत्रका विद्यालयहरूमा सार्वजनिक स्थानीय बिदा दिएको छ। पर्वको अवसरमा कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले सम्पूर्ण महिलामा शुभकामना व्यक्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस !