श्रीकृष्णको उपदेश भागवत
भगवान् श्रीकृष्ण धर्तीमा प्रादुर्भाव भएको दिनलाई श्रीकृष्ण जन्माष्टमी भनिन्छ । यस दिनलाई वैष्णव धर्मावलम्बी, वल्लभ सम्प्रदाय, चैतन्य सम्प्रदाय, राधाकृष्ण सम्प्रदाय, श्रीकृष्ण प्रणामी सम्प्रदायलगायत अन्य हिन्दु धर्मावलम्बीले महत्त्वका साथ व्रतोवास गरी मनाउँछन् । यस दिन भक्तजन उपवास बस्छन् र आधा रातमा भगवान्को पूजाअर्चना, भजनकीर्तन तथा कथाश्रवण गर्दै जाग्राम बस्छन् । फलतः श्रीकृष्ण जन्माष्टमीको दिन रोहिणी नक्षत्र र बुधबार पर्नुलाई अत्युत्तम मानिन्छ । यसै नक्षत्र र बुधबार श्रीकृष्णको जन्म भएको थियो ।
कृष्ण जन्माष्टमीको अवसरमा मुलुकका सबैजसो कृष्ण मन्दिरमा भक्तजनको भिड लाग्छ । खासगरी ललितपुरको मंगलबजारको कृष्ण मन्दिरमा हजारौंको संख्यामा भिड लाग्छ । जहाँ दर्शन र पूजाआजा गर्न राष्ट्रप्रमुख नै आउने प्रचलन छ । उपत्यका रहेको हनुमानढोकास्थित अष्टकोणाकार कृष्ण मन्दिरमा पनि यस दिन भक्तजनको भिड लाग्छ ।
श्रीकृष्णले गोपिनी र राधासित गरेको प्रेमप्रसंगका कारण यो महिनाभर प्रेम उत्सव अर्थात् झुला उत्सवका रूपमा मनाइन्छ । यो नै पूर्वीय जगत्को प्रेम दिवस हो । यसर्थ श्रीकृष्ण जन्माष्टमीको दिन श्रद्धालु भक्तजनहरूले साँझमा स्नानपूजा गरी आधारातमा नौनी हातमा लिएका बालकृष्णलाई वा शालिग्रामको शिलालाई काँक्रोभित्र राखी राख्छन् । यसको ठीक मध्यरातमा शिलालाई त्यसबाट निकालेर हर्षोल्लासका साथ जन्मोत्सव गरिन्छ । यसलाई मध्यरातमा श्रीकृष्ण जन्मेको संकेतका रूपमा लिइन्छ । त्यसपछि पञ्चामृत वा शुद्ध जलले भगवान्लाई स्नान गराई श्रीखण्ड, चन्दन, तील, अक्षता र फूलले भगवान्को पूजा गरिन्छ । यसमा पनि भगवान्लाई वस्त्र र जनैसमेत अर्पण गरी धूपदीप बालिन्छ र भोग चढाइन्छ । नैवेद्यको भोग लगाउँदा विशेषतः हलुवा, पेडा, मिठाई तथा केरा, नासपाती, स्याउ आदि फलफूलको भोग लगाइन्छ । त्यसपछि भजनकीर्तनसहित आरती गरिन्छ र पुष्पाञ्जली चढाएर भगवान्लाई साष्टांग प्रणाम गरी अखण्ड दीप बालिन्छ । अनि रातभर श्रीकृष्णको भजनकीर्तन गरी जाग्राम बस्ने चलन छ ।
श्रीकृष्ण पौराणिक ग्रन्थमा मात्र नभई ऐतिहासिक पुरुष हुन् भनी चर्चा चल्न थालेको छ । जबकि श्रीकृष्णसँग सम्बन्धित तिथि, मितिबारे संस्कृतिकर्मी नूतनधर शर्माले लेखेका छन्, ‘श्रीकृष्णको जन्म मथुरा नगरीमा भाद्रकृष्ण अष्टमीका दिन ३२२८ ईशापूर्वमा भएको हो । उहाँले १२५ वर्षको उमेरमा फागुपूर्णिमाको दिन देहत्याग गरेका थिए । यसै दिनबाट कलियुग प्रारम्भ भएको मानिन्छ । विद्वान् विश्वनाथ चक्रवर्तीको भनाइअनुसार भगवान् श्रीकृष्णले जीवनको सुरुका तीन वर्ष चार महिना गोकुलमा बिताए । त्यत्तिकै समय वृन्दावन, नन्दग्राम र द्वारकामा बिताए ।
अतः पृथ्वीमा आत्मराम आन्मकाम पूर्णब्रह्म श्रीकृष्णको हृदयमा जीवनमाथिको कारण नै पशुपक्षी, जलघर आदि प्राणीको रूपमा आवतरित हुनाको मुख्य कारण हो । जब श्रीकृष्णको हृदयमा मनुष्यमाथि अहैंतुकीकृपा बर्साउने इच्छा हुन्छ । तब स्वयम् भगवान् श्रीकृष्ण अनेक अवतारको रूपामा अवतरित नभइकन स्वयं नै नन्दबाबा यशोदा मैयाँको घरमा नरवतलिला गर्ने क्रममा मनुष्यको रूपमा जन्म लीला गर्नुहुन्छ । यसर्थ कंशको अत्याचारबाट मथुरा र मथरावासीलाई मुक्ति दिलाउन र गीतामा वर्णित अनेकौं जीवनोपयोगी दर्शनज्ञान संसारलाई दिन नै कृष्णवतार भएको हो भन्नुमा कुनै दुई मत नहोला ।
श्रीकृष्ण पतित पावन अवतार भगवान् चैतन्य महाप्रभु कलिकालको जीवका लागि विशेष रूपले भगवान्को नाम कीर्तनको शिक्षा दिनुहुन्छ । वस्तुतः साधनामा भगवान्को नामजस्तो श्रेष्ठ साधना अरू छैन, जसले प्रेम प्राप्त गरोस् । यो नै देश काल द्रव्य आदिद्वारा परिच्छेद्रहित अधिकार विवर्जित, जीव मात्रको परमहित, सज्जनद्वारा अनुमोदित अनन्तसिद्ध साधकहरूद्वारा आधारित नाम संकीर्तन नै सबै शास्त्रमा प्रेम प्राप्तिका परम उपायको रूपमा निर्णीत छ । त्यसै कारण संसारमा धेरैले दुःख भोगिरहनु परेको छ । त्यसबाट उम्कन एकमात्र उपाय कृष्ण शरणागति नै हो । जुन कंशको अत्याचारबाट मानव जातिलाई मुक्ति दिन वासुदेव र देवकीको आठौं गर्भबाट भगवान् विष्णुको आठौं अवतारका रूपमा आजको दिन श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ ।
जसरी कंशले जेलनेलसहित बन्दी बनाएको अवस्थामा देवकीबाट श्रीकृष्णको जन्म भएको थियो । यसमा पनि चारैतिर सेनाको कडा सुरक्षा हुँदा पनि भगवान् विष्णुको मोहित पार्ने शक्तिका कारण श्रीकृष्ण जन्मिएका बेलामा सबै सैनिक गहिरो निद्रामा परेका थिए । त्यसैबेला आकाशवाणीमार्फत वासुदेवलाई ‘नवजात शिशु कृष्णलाई वृन्दावनस्थित मित्र नन्दका घरमा पुर्याऊँ’ भन्ने आकाशवाणी भएको थियो । यही मोहित पार्ने शक्ति भएका कारण आजको रात्रिलाई मोहरात्रि पनि भनिन्छ । जहाँ वासुदेव नन्दको घरमा गई कृष्णलाई त्यहीँ छोडी त्यही दिन नन्द पत्नी यशोदाको गर्भबाट जन्मिएकी बालिकालाई लिएर आएपछि मात्र सैनिक ब्युँझिएको प्रसंग महाभारत ग्रन्थमा उल्लेख छ ।
श्रीकृष्णले नै पापका पर्याय बनेका मामा कंशको वध गरी हजुरबा उग्रसेन, माता–पिता देवकी एवं वासुदेवलाई जेलमुक्त गरिदिनुभएको थियो । जसमा भन्ने नै हो भने संसारमा विद्यमान रहेको अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउने उद्देश्यले भगवान् विष्णुले मानिसको अवतारका रूपमा श्रीकृष्ण भई धर्तीमा जन्म लिएको स्मृतिस्वरूप आजको पर्व मनाउने गरिएको हो । अतः श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई पे्ररित गर्नुभएको थियो । जसरी कौरव र पाण्डवका बीचमा कुरु क्षेत्रमा भएको धर्मयुद्धमा सत्यको पक्षमा रहेका पाँच पाण्डव मध्येका अर्जुनको सारथीका रूपमा श्रीकृष्णले युद्धको शिक्षा दिनुभएको थियो ।
मूलतः युद्धका क्रममा श्रीकृष्णले अर्जुनलाई प्रेरणा दिँदै सत्यको पक्षमा हौसला प्रदान गर्नुभएको थियो । यही युद्धका क्रममा श्रीकृष्णले अर्जुनलाई दिनुभएको उपदेश नै ‘श्रीमद्भागवत् गीता’ हो । श्रीमद्भागवत् गीतालाई हिन्दुको पवित्र ग्रन्थ मानिन्छ । जसमा भन्ने नै हो भने बाल्यकालदेखि नै विचित्र लीला देखाउँदै आउनु भएका श्रीकृष्णले गोपिनी र राधासित गरेको प्रेम प्रसंगका कारण यो महिनाभर प्रेम उत्सव अर्थात् झुला उत्सवका रूपमा समेत मनाउने गरिन्छ । अतः कृष्ण जन्माष्टमी केवल परम्परागत पर्व मात्र नभई हिन्दु धर्मावलम्बीहरूको आस्था, भक्ति र संस्कृतिको अमूल्य धरोहर हो । यसको लोकप्रियता र महत्त्वले समग्र हिन्दु समाजलाई एकाकार गराउँदै धार्मिक चेतना र सांस्कृतिक पहिचानलाई सुदृढ बनाएको छ ।
मूलतः भविष्यमा पनि यो पर्व यसैगरी भाववृद्धि गर्दै विश्वका विभिन्न भागमा हिन्दु धर्म र संस्कृतिको परिचायक रहिरहने अपेक्षा छ । हरेक वर्ष यो पर्व मनाइरहँदा, हामी श्रीकृष्णको दिव्य लीला र उपदेशहरूलाई स्मरण गर्दै, एक राम्रो र सद्भावपूर्ण समाज निर्माणको संकल्प पनि गरिन्छ । जय श्रीकृष्ण !
प्रतिक्रिया दिनुहोस !