जापानिज इन्सेफ्लाइटिसबाट जोगिऔं
जापानिज इन्सेफ्लाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको गम्भीर रोग हो । यो रोग जुनसुकै उमेरका मानिसलाई लाग्न सक्छ । तर धेरैजसो १५ वर्षमुनिका बालबालिकामा देखिन्छ ।
यो भाइरसबाट संक्रमित हाँस, कुखुराजस्ता चराचुरुंगी र सुँगुरबंगुरजस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ । तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन । यो रोग विशेषगरी साउनदेखि कात्तिकसम्म देखिन्छ ।
रोगका लक्षणहरू
– उच्च ज्वरो आउने, बेहोस हुने ।
– घाँटी अररो (कडा) हुने ।
– कम्पन हुने ।
– पक्षघात हुने ।
समयमा उपचार नपाए बिरामीको मृत्युसमेत हुन सक्छ ।
कसरी जोगिने ?
लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगबाट बच्ने प्रमुख उपाय हो ।
– हाँस, कुखुरा, सुँगरबंगुर, घोडाजस्ता घरपालुवा चराचुरुंगी तथा जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं ।
– घर बाहिर निस्किँदा, खेतबारीमा काम गर्दा पूरा बाहुला भएको लुगा लगाऔं ।
– घरको झ्यालढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डाखुल्डी पुरिदिने गरौं ।
– लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं ।
– सधैं झुलभित्र मात्रै सुत्ने गरौं ।
यो रोगबाट बच्नको लागि १२ महिनाको उमेरमा जे.ई. खोप लगाउनुपर्छ । यदि यो खोप लिन छुटेको छ भने पाँच वर्षको उमेरसम्म पनि जे.ई. खोप लगाउन सकिन्छ ।
प्रतिक्रिया दिनुहोस !