बागमतीमा मन्त्रिपरिषद विस्तार : नवनियुक्त पाँच मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ
हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले मन्त्रीपरिषद विस्तार गरेका छन । शुक्रबार मुख्यमन्त्री बानियाँले ५ जना थप नयाँ मन्त्रीहरू नियुक्त गर्दै १४ सदस्यीय मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । मुख्यमन्त्री बानियाँले प्रभात तामाङलाई आर्थिक मामिला तथा योजना मन्त्रालय,कन्चनचन्द्र वादेलाई सामाजिक विकास मन्त्रालय,सुरेश श्रेष्ठलाई संस्कृति तथा पर्यटन मन्त्रालय,उर्मिला नेपाललाई युवा तथा खेलकुद मन्त्रालय र बिना रायमाझी पौडेललाई सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।
नव नियुक्त मन्त्रीहरूले शुक्रबार नै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मन्त्रीहरूलाई प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पद तथा गोपनीयताको शपथ गराएका हुन् । सत्ता गठबन्धनमा आवद्ध दल नेकपा एमालेले आफ्नो भागमा परेको ६ वटा मन्त्रालयमा यसअघिनै आफ्ना मन्त्रीहर पठाइसकेको छ । तर, सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसले भने आफ्नो पार्टीको आन्तरिक विवादका कारण दुईजना मन्त्री मात्र यसअघि पठाएको थियो ।
गत २० साउनमा मुख्यमन्त्रीमा नियुक्त बानियाँले सोही दिन नेकपा एमालेका ६ जना र कांग्रेसका दुईजनालाई मन्त्री नियुक्त गरेका थिए । कांग्रेस–एमालेबीच भएको मन्त्रालय भागबण्डाअनुसार कांग्रेसबाट पाँच मन्त्री नियुक्त गर्न बाँकी रहेको थियो । यसअघि निवर्तमान मुख्यमन्त्री बहादुर सिं लामाले मन्त्री नियुक्त गरेर शपथ लिन नपाएका ३ जना सांसदलाई बानियाँले मन्त्री नबनाएको भन्दै लामा पक्षधर असन्तुष्ट रहँदै आएका थिए ।
निर्वतमान मुख्यमन्त्री लामाले धादिङका गोविन्द लम्साल, चितवनका माया श्रेष्ठ र गीता गुरुङलाई बानियाँले पहिलो चरणमै मन्त्री बनाउनुपर्ने सहमति कांग्रेस सभापति शेरबहादुर देउवासँग भएको तर बानियाँले पालना नगरेको भन्दै असन्तुष्ट जनाउँदै आएका थिए । मुख्यमन्त्री बानियाँको मन्त्रिपरिषदको टिममा यसअघि विना विभागीय मन्त्री कृष्णकुमार तामाङलाई समेत खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालयको जिम्मेवारी दिएका छन्।
प्रतिक्रिया दिनुहोस !