भदौ तेस्रो साता नेपाल र चीनबीच सैन्य अभ्यास
काठमाडौं : नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको संयुक्त सैन्य अभ्यासको पाँचौं संस्करण भदौ तेस्रो साताबाट हुने भएको छ। सैन्य अभ्यासको पाँचौं संस्करण नेपालमा हुने टुंगो लागेको हो। सैन्य अभ्यास प्रतिआतंकवाद, युद्धकला, विपद् व्यवस्थापनलगायत विषयमा केन्द्रित हुनेछ।
सगरमाथा फ्रेन्डसीप’ नाम दिइएको नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको संयुक्त सैन्य अभ्यास गत वर्ष चीनको सिचुवान प्रान्तको छेन्दु नजिकैको सहर छोङछिङमा भएको थियो।
नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाका अधिकारीहरूबीच पाँचौं संस्करणको सैन्य अभ्यासको तयारीबारे घनीभूत छलफल भइरहेको छ। नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाले भदौ २१ देखि संयुक्त सैन्य अभ्यास गर्न सहमति जुटाइसकेको जंगी अड्डा स्रोतले दाबी गरेका छ। स्रोतका अनुसार, उक्त सैन्य अभ्यास १० दिनसम्म चल्ने छ।
नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाको संयुक्त सैन्य अभ्यासको मोडालिटी, पर्यवेक्षक र सहभागी संख्या टुंगो लगाउन दुबै पक्ष अन्तिम छलफलमा जुटेका छन्। रक्षा मन्त्रालयका प्रवक्ता मनोजकुमार आचार्यले नेपाली र चिनियाँ सेनाबीच हुने सैन्य अभ्यास नियमित कार्यक्रमअन्तर्गत रहेको बताए।
'भारत, अमेरिका, चीनसँग हुँदै आएको सैन्य अभ्यास क्षमता अभिवृद्धि र अनुभव आदान-प्रदानमा केन्द्रित हुन्छ,' रक्षा मन्त्रालयका प्रवक्ता आचार्यले अन्नपूर्णसँग भने, ‘यस्ता प्रकारका सैन्य तालिम र अभ्यासहरू कसैप्रति लक्षित हुँदैन।’
सैन्य अभ्यासकै विषयमा चिनियाँ रक्षा मन्त्रालयका अधिकारीहरूसँग छलफल गरेर नेपाली सेनाको उच्च टोली चीनको छेन्दू पुगेर साउन ८ गते नेपाल फर्किएको जंगी अड्डा स्रोतले बताएको छ।
सैन्य अभ्यासको चौथो संस्करण गत वर्ष चीनमा भएको थियो। जंगी अड्डाले सैन्य अभ्यासको अन्तिम तयारीका लागि नेपाली सेना युद्धकार्य विभागका उपरथी प्रेमध्वज अधिकारीसहित ५ सदस्यीय टोलीलाई सिचुवान प्रान्तको छेन्दू पठाएको थियो। टोलीमा उपरथी अधिकारीसहित सहायक रथी दीपेन्द्र गुरुङ, महासेनानी मनिराम थापा, सेनानी पवन कटवाल र सहसेनानी महेश ढकाल छेन्दु पुगेर फर्किएको सैनिक स्रोतले जनाएको छ।
उपरथी अधिकारीसहितको नेपाली सेनाको टोली छेन्दूमा आयोजना भएको फाइनल प्लानिङ कन्फरेन्स (एफपीसी)मा सहभागी भएको थियो। नेपाली सेना र काठमाडौंस्थित चिनियाँ दूतावासका अधिकारीहरूले पनि सैन्य अभ्यासको तयारी गरिरहेका छन्।
२०७४ वैशाख ३ देखि १२ गतेसम्म पहिलोपटक काठमाडौंमा नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको संयुक्त सैन्य अभ्यास भएको थियो। सैन्य अभ्यासको दोस्रो संस्करण २०७५ मा चीनको छेन्दुमा भएको थियो भने २०७६ मा तेस्रो संस्करण नेपालमा भएको थियो। कोरोना संक्रमणको जाखिमका कारण केही वर्ष सैन्य अभ्यास रोकिएको थियो। चीनमा गत वर्ष अभ्यासको चौथो संस्करण भएको थियो।
चीनले सैन्य अभ्यासलगायत अन्य चिनियाँ परियोजनाहरू कार्यान्वयनको चरणमा ल्याउन खोजेपछि छिमेकी भारत र अमेरिकालगायतका मुलुकहरू सशंकित हुन थालेका छन्। अमेरिका, जापान, कोरिया, भारत र युरोपेली मुलुकले नेपाल र चीनबीचको सैन्य अभ्यासलाई सहजरूपमा लिन सकेका छैनन्।
बिआरआई परियोजना कार्यान्वयन गर्न दबाब दिइरहेको चीनसँग नेपाली सेनाले गर्दै आएको सैन्य अभ्यासको औचित्यप्रति पश्चिमा मुलुकहरूले प्रश्न उठाउँदै आएका छन्।
नेपाली सेनाले भने चीनसँगको संयुक्त सैन्य अभ्यास नियमित र सामान्य भएको बताउँदै आएको छ। नेपालले अमेरिकी सेनासँग पनि सैन्य अभ्यास गर्दै आएको छ। भारतीय सेनासँग पनि प्रत्येक वर्ष सैन्य अभ्यास हुँदै आएको छ। नेपाली र भारतीय सेनाबीच हुने सैन्य अभ्यासलाई ‘सूर्य किरण’ नाम दिइएको छ।
प्रतिक्रिया दिनुहोस !