मौलिक संस्कृति जोगाउन पुस्तान्तरण गरौँ : मुख्यमन्त्री
बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मौलिक सांस्कृतिक परम्पराहरूको संरक्षण र प्रवर्द्धनका लागि पुस्तान्तरण जरुरी रहेको बताएका छन्।
शनिबार अर्घाखाँची–रुपन्देही सम्पर्क समाजले बुटवलमा आयोजना गरेको रोपाइँ जात्रा तथा तीज विशेष कार्यक्रममा बोल्दै उनले मौलिक परम्परा र संस्कृतिहरू लोप हुँदै गएकाले जगेर्नाका लागि नयाँ पुस्ताको चासो हुनुपर्नेमा जोड दिए।
‘हाम्रा मौलिक परम्परा र संस्कृतिहरू बिस्तारै ओझेलमा पर्दै गइरहेका छन्’, उनले भने, ‘वर्षौदेखि मनाउँदै आएका परम्पराहरू पुस्तान्तरण हुनुपर्छ। त्यसका लागि नयाँ पुस्तालाई पाका पुस्ताले साथ दिनुपर्छ।’
हरितालिका तीजका अवसरमा शुभकामना व्यक्त गर्दै आचार्यले पर्व उत्साह र उल्लासका साथ मनाउनुपर्ने तर पर्वका नाममा विकृतिलाई प्रोत्साहन गर्न नहुनेमा जोड दिए। चाडपर्व मनाउने नाममा विकृतिलाई प्रोत्साहन गर्ने प्रवृत्ति बढ्दै गएकोप्रति लक्षित गर्दै उनले त्यस्ता विकृतिहरूलाई निरुत्साहित गर्नुपर्ने साझा जिम्मेवारी बन्नुपर्नेमा समेत उल्लेख गरे।
प्रतिक्रिया दिनुहोस !