परराष्ट्रमन्त्री राणा र विदेश सचिव मिस्रीबीच भेटवार्ता
काठमाडौं : परराष्ट्रमन्त्री आरजु राणा देउवासँग भारतीय विदेशसचिव विक्रम मिस्रीबीच भेटवार्ता भएको छ। वार्ताका क्रममा नेपाल-भारत सम्बन्धका विविध आयामहरूको चर्चा गर्दै आपसी हित, पारस्परिक सम्बन्ध र साझा चासोका विषयमा कुराकानी भएको थियो।
मन्त्री राणाले भारतसँगको सम्बन्धलाई नेपालले सधैं उच्च महत्व दिँदै आएको बताउँदै नेपालको एक महत्वपूर्ण विकास साझेदारका रूपमा आर्थिक, प्राविधिकसहित विभिन्न क्षेत्रहरूमा नेपाललाई गर्दै आएको सहयोगका लागि भारत सरकार र भारतीय जनतालाई धन्यवाद दिइन्।
त्यस्तै दुई देशका बीचमा पछिल्ला समयमा कनेक्टिभिटी बढाउने क्रियाकलापहरूका साथै विभिन्न क्षेत्र र तहमा द्विपक्षीय भेटवार्ता, उच्चस्तरीय भ्रमण तथा कूटनीतिक 'इङ्गेजमेन्ट’ बढेकामा उनले खुसी व्यक्त गरिन्। मन्त्री राणाले कनेक्टिभिटी नेपाल र भारतबीचको सम्बन्धमा अर्थपूर्ण रूपमा सहयोग पुग्ने र दुवै तर्फको पर्यटन एवं आर्थिक क्रियालापहरुका माध्यमबाट पारस्पारिक लाभ पुग्ने क्षेत्र भएकाले रेलवे एवं स्थलमार्गका अतिरिक्त हवाई मार्गहरूको पनि थप विस्तार गरी हवाई कनेक्टिभिटी बढाउनुपर्नेमा जोड दिइन्।
उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय शहरहरूबाट थप उडान तथा अतिरिक्त हवाई रुटका लागि आवश्यक सहयोगको वातावरण बनाउने विषयमा सहयोग गर्न पनि आग्रह गरिन्। नेपालगञ्ज दिल्ली सिधा उडानका लागि पनि आगामी दिनमा वातावरण तयार गर्नुपर्नेमा उनको जोड दिएकी थिइन्।
मन्त्री राणाले भारत सरकारको सहयोगमा निर्माण हुन लागेको धनगढीको फाप्ला क्रिकेट स्टेडियमको निर्माणको तदारुकतामा पनि जोड दिइन्। यस भेटका क्रममा मन्त्री राणाले नेपाल-भारत पारवहन सन्धिका विषयमा छलफल गर्दै व्यापार सहजीकरणमा जोड दिइन्। पछिल्लो समयमा प्लाईवुड, स्टिललगायतका उत्पादनको भारत निकासीमा नेपाली निजी क्षेत्रका तर्फबाट समस्या उत्पन्न भएको भनी आएका मुद्दाहरू र बीआइएस मापदण्ड तथा यसमा परिरहेका कठिनाइका बारेमा पनि कुरा उठाइन्।
पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाबाट दुवैतर्फ पुग्ने लाभका विषयमा पनि आगामी दिनमा थप कार्यान्वयनका साथ अघि बढ्न तथा बाढी र डुबान नियन्त्रणका बारेमा आपसमा सहकायका साथ अघि बढ्न सकिने विषयमा मन्त्री राणाले जोड दिइन्।
प्रतिक्रिया दिनुहोस !