लुम्बिनीमा प्राङ्गारिक मल उत्पादन प्राथमिकतामा छ: मुख्यमन्त्री
बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्गानिक उत्पादनलाई प्रवर्द्धन गर्न प्राङ्गारिक मल उत्पादनलाई प्राथमिकतामा राखिएको बताएका छन्।
रुपन्देहीको शुद्धोधन गाउँपालिका–१ मानपकडीमा रहेको सर्मिला इन्टिग्रेटेड एग्रिकल्चर फर्मको अनुगमन गर्दै आचार्यले बढ्दो रासायनिक मलको अभावलाई प्राङ्गारिक मलले पूर्ति गर्ने भएकाले यसको उत्पादनलाई विशेष प्राथमिकतामा राखिएको बताए।
केही वर्षभित्र प्रदेशलाई प्राङ्गारिक प्रदेशको रुपमा विकास गर्नेगरी प्रदेश सरकारले नीति, कार्यक्रम र बजेट ल्याएको समेत उल्लेख गरे। प्राङ्गारिक मल उत्पादनका लागि सामुदायिक संघसंस्था, निजी क्षेत्र र उद्यमीसँग साझेदारी गर्नेगरी सरकारले वातावरण बनाउने पनि उनले सुनाए।
अहिले देखिएको मलको समस्या कम गर्न प्राङ्गारिक मल र कम्पोस्ट मल नै सक्षम हुने उनको भनाइ छ। ‘हाम्रा परम्परागत अभ्यासलाई पुनर्ताजगी गरेर अघि बढाउन सकिन्छ’, उनले भने, ‘वनजंगलमा खेर गइरहेका पातपतिङ्गर संकलन गरेर कम्पोस्ट मल बनाउन सकिन्छ। गौशालामा यो अभियान सुरु भइसकेको छ।’
किसानका गोठलाई सुधार गरेर मल मुत्रबाट समेत प्राङ्गारिक मल बनाउन सकिने अभ्यासलाई अभियानका रूपमा लैजान प्रदेश सरकारले योजना बनाएको उनले जानकारी दिए।
मुख्यमन्त्री आचार्य सहित अनुगमनमा सहभागी प्रदेश सभा सदस्य तथा पूर्व स्वास्थ्यमन्त्री विष्णुप्रसाद पन्थीले किसानले भोगिरहेको रासायनिक मलको समस्या समाधान गर्न प्राङ्गारिक मल उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने बताए। उद्यमी सीपी शर्माले दैनिक ४० टन र वार्षिक १५ हजार टन प्राङ्गारिक मल उत्पादन गर्ने योजना सुरु गर्न सकिने र यसका लागि लगानी खोज्ने कार्य भइरहेको जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !