नाउपा अध्यक्ष रञ्जितालाई गंगारामले भने- संसदीय दलको नेता हटाउने अधिकार तपाईंलाई छैन
काठमाडौं : नागरिक उन्मुक्ति पार्टीका सांसद एवं संसदीय दलका नेता गंगाराम चौधरीले रञ्जिता श्रेष्ठ कारबाही गर्ने अध्यक्षमात्र भएको टिप्पणी गरेका छन्। अध्यक्ष श्रेष्ठ पार्टी निर्माण र संगठनभन्दा पनि कारबाहीका लागिमात्र भूमिका निर्वाह गरिरहेको उनको आरोप छ। अध्यक्ष श्रेष्ठले ३१ साउनमा गंगारामलाई केन्द्रीय समिति पदाधिकारी र संसदीय दलको नेताको भूमिका नरहनेगरी कारबाही गरेकी थिइन्।
त्यसकै जवाफमा गंगारामले भनेका छन्, 'पार्टी अध्यक्षज्यु, तपाईं पार्टी विस्तार, संगठन निर्माणलगायत पार्टीको मुद्दा, उद्देश्य र विधानबमोजिम काम गर्ने अध्यक्ष हो कि खाली कारबाही गर्नेमात्रै अध्यक्ष हुनुहुन्छ? यसको जवाफ मलगायत सम्पूर्ण जनताले खोजेका छन्। जतिबेला पायो त्यही बेला कारबाही गरेर पार्टी बन्दैन,' गंगरामले समाजिक सञ्जालमा भनेका छन्।
उनले नागरिक उन्मुक्ति पार्टी निर्माणमा आफ्नो भूमिका धेरै रहेको उल्लेख गरेका छन्। उनले पार्टी दर्तादेखि संगठन निर्माणका सवालमा आफूलाई कसैले प्रश्न गर्न नसक्ने उल्लेख गरेका छन्।
'पार्टी बनाउन रातदिन नभनी खटिएको व्यक्ति हुँ। पार्टी दर्ता हुँदा सबैभन्दा धेरै सहभागिता मेरो अगुवाइमा रहेको थियो। स्मरण रहोस्, पार्टीका लागि धेरै त्याग तपस्या गरेको व्यक्ति म पनि हो। यति भन्नलाई मलाई कुनै संकोच छैन,' उनले भनेका छन्।

उनले बैठक आफूलाई कारबाही गर्दा पत्रमा उल्लेखित आरोपको पनि खण्डन गरेका छन्। उनले अध्यक्ष श्रेष्ठले नै आफूलाई महासचिव पदको जिम्मेवारी दिएको उल्लेख गरेका छन्। उक्त निर्णयमा स्पष्टरूपमा महासचिवको जिम्मेवारी दिएको र महासचिवले पार्टीको अन्तरिम विधानबमोजिम केन्द्रीय समितिको बैठक बोलाउने पनि उल्लेख रहेको उनले दाबी गरेका छन्।
नेता गंगारामले अध्यक्ष श्रेष्ठले अन्य ३ जनालाई पनि पार्टीको महासचिव बनाइसकेको आरोप लगाएका छन्। 'हालसम्म उहाँले ३ जनालाई महासचिव बनाइसक्नुभएको छ। त्यो नामावली पछि सार्वजनिक गर्नेछु,' उनले भनेका छन्।

त्यस्तै कारबाही गरिएका केन्द्रीय सदस्यलाई बैठकमा बोलाइएको आरोपबारे पनि उनले खण्डन गरेका छन्। उनले भनेका छन्, 'कारबाही भनिएका पार्टीको संस्थापक केन्द्रीय सदस्य योगेन्द्र तमाङ घिसिङज्यू निर्वाचन आयोगको कार्यालयमा नागरिक उन्मुक्ति पार्टीको संस्थापक केन्द्रीय सदस्यहरूको २१ जना नामावलीमा पार्टीको बैठक बोलाउँदासम्म यथावत हुनुहुन्थ्यो। मलाई लाग्छ हालसम्म यथावत हुनुहुन्छ। कारबाही भएको भए निर्वाचन आयोगमा नाम हटाएको हुनुपर्ने थिएन? किन हटाउनु भएन?'
उनले संसदीय दलको नेतालाई हटाउने अधिकार अध्यक्षलाई नभएको बताए। उनले ५१ प्रतिशत पुर्याउन संसदीय दलको नेता बन्न चुनौती पनि दिए। 'दलको नेता हटाउने र बनाउने पार्टीको अध्यक्षले होइन। सांसदले हो। तपाईं ५१ प्रतिशत पुर्याएर आफैं दलको नेता बन्नुहोला, यसमा मेरो आपत्ति छैन र हुनेपनि छैन। अध्यक्षले संसदीय दलको नेता हटाउने अधिकार कसरी पाउनुभयो?,' उनले प्रश्न गरेका छन्। उनले आफू प्रमाणसहित बोल्ने पार्टीको अहित हुने कुनै कार्य नरहेको उल्लेख गरेका छन्।


प्रतिक्रिया दिनुहोस !