भिजिट भिसामा जानेलाई अध्यागमनले नरोक्ने, शंकास्पद कागजात भेटिए प्रहरीले नियन्त्रणमा लिने

भिजिट भिसामा जानेलाई अध्यागमनले नरोक्ने, शंकास्पद कागजात भेटिए प्रहरीले नियन्त्रणमा लिने
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं : भिजिट भिसामा विदेश जाने व्यक्तिले नक्कली कागजात बुझाएमा अब प्रहरीले नियन्त्रण लिन सक्नेछ। प्रहरीले अनुसन्धान गरेपछि मात्रै त्यस्ता व्यक्तिहरू घर फर्किन पाउनेछन्। 

यसअघि अध्यागमनले फिर्ता गरेका व्यक्ति घर जान पाउने व्यवस्था थियो। कागजात ठीकठाक भएका यात्रुलाई विभिन्न बहानामा अध्यागमन कर्मचारीले रोक्न पाउने छैनन्। कागजातमा कैफियत देखिएमा अध्यागमन कर्मचारीले कारणसहित उनीहरूलाई फिर्ता पठाउनुपर्ने छ। फिर्ता पठाएकाहरूलाई प्रहरीले नियन्त्रणङ्गा लिन पाउनेछ। 

भिजिट भिसामा विदेश जाने यात्रुका लागि अहिले कार्यान्वयनमा रहेको मापदण्ड परिवर्तन गरिने भएको छ। अध्यागमन विभागले आइतबार एक सूचना सार्वजनिक गरेको छ। विभागको सूचनाअनुसार अहिले कार्यान्वयनमा भएका केही व्यवस्थाहरूमा सुधार गर्न सहयोग गर्नका लागि सरोकारवालालाई आग्रह गरेको छ। भिजिट भिसाकै कारण मानव तस्करी बढेको भन्दै पटक-पटक जनगुनासो आएपछि विभागले भिजिट भिसाका लागि बुझाउनुपर्ने कागजातमा परिवर्तन गर्न लागेको हो। विदेश जाने व्यक्तिहरूप्रति कर्मचारी र विचौलियाको प्रभाव कम गर्नका लागि मापदण्डमा परिवर्तन गर्न लागिएको हो। 

अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार नक्कली कागजात बनाएर विदेश जान लागेका व्यक्तिलाई प्रहरीको जिम्मा लगाउने नियम ल्याउन लागिएको हो। सरोकारवाला सबैसँग सल्लाह गरेर शंकास्पद कागजात भएका व्यक्तिलाई पक्राउ गरी थप अनुसन्धान गरिनेछ। 

अध्यागमन विभागले भिजिट भिसाको नाममा हुने विकृति रोक्न यस्तो निर्णय लिएको जनाएको छ। विभागका अनुसार विभिन्न व्यक्तिलाई प्रलोभनमा पारेर लाखौं रूपैया लिएर भिजिट भिसामा खाडी मुलुक पुर्‍याउने गिरोह सक्रिय छन्। केही कर्मचारी, एयरलाइन्स कर्मचारी, विचौलिया, एजेन्ट तथा केही प्रहरी कर्मचारीको समेत मिलेमतोमा भिजिट भिसाको बहानामा ठगी भइरहेको छ। 

महानिर्देशक तिवारी भन्छन्, 'जे जसरी गएको रहेछ भने पनि विदेश जाने व्यक्तिसँग सक्कली भिसा, आवश्यक कागजात छ भने कुनै पनि बहानामा रोक्न मिल्दैन। अहिले त मानव तस्करीको शंकामा सक्कली भिसा भएकाहरू पनि समस्यामा परिरहेका छन्। उनका अनुसार विभागले यस सम्बन्धमा सरोकारवालासँग छलफल गरिरहेको छ। 

नेपाल प्रहरी, नागरिक उड्डन प्राधिकरण, पर्यटन मन्त्रालय र एयरलाइन्स कम्पनीहरूसँग छलफल गरेर अहिलेको मापदण्डमा परिवर्तन लागिएको हो। भिजिट भिसामा विदेश जान खोज्नेहरूको कागजात शङ्कास्पद भेटिएमा त्यसबारे अनुसन्धान गर्न प्रहरीलाई जिम्मा दिइनेछ। 

शङ्कास्पद लाग्नासाथ कागजात, राहदानीसहित व्यक्ति पनि प्रहरीकहाँ जिम्मा लगाइनेछ। भिजिट भिसामा विदेश यात्रामा जाँदा ६ प्रकारका कागजात साथैमा बोक्नुपर्ने नियम छ। सरकारले तोकेको कार्यविधि पूरा गरेर, सक्कली कागजात बोक्नेहरूलाई अध्यागमन कर्मचारीले रोक्न पाउने छैनन्। 

अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत नरहरी घिमिरे भन्छन्, 'भिजिट भिसा भन्नासाथ ठगी गरिएको होला भन्ने गलत धारणा विकास भयो। विभिन्न बहानामा विमानस्थलबाट फिर्ता हुनेमध्ये ४० प्रतिशत बढ यात्रु एयरलाइन्सको लापरबाहीका कारण फिर्ता हुन्छन्। यस विषयमा कसैले प्रश्न नै गर्देनन्। एयरलाइन्सले ओभर बुकिङ गरेर धेरै व्यक्तिलाई समस्यामा पारिरहेका छन्। फिर्ता गरिरहेका छन्। तर, बाहिर हल्ला अध्यागमनले फिर्ता गर्‍यो भन्ने आउँछ।' 

उन थप्छन्, 'हामीले हरेक दिन धेरैसँग छलफल गरिरहेका छौं। घुम्न जानकै लागि भिजिट भिसा लिएका कोही रोकिएका छैनन्। तर, मेनपावर, एजेन्ट र बिचौलीयाले बनाइदिएका नक्कली कागजाच बोकेर भिजिट भिसामा जान लागेकाहहरूलाई समस्या पर्ने गरेको हो।' सरकारले तोकेको मापदण्डअनुसारको कागजात भएकालाई अध्यागमनमा कुनै समस्या नहुने घिमिरेको तर्क छ। 

सरकारले २०८० माघ १० मा भिजिट भिसामा जानेका लागि ६ बुँदे मापदण्डसहित विशेष एडभाइजरी जारी गरेको थियो। सो मापदण्डअनुसार भिजिटमा विदेश जाँदा दुई तर्फी हवाई टिकट, ५ सय अमेरिकी डलर बराबरको नगद साटेको प्रमाण र भ्रमण अवधिभर होटल बुकिङ गरेको प्रमाण हुनुपर्छ। कम्तीमा ६ महिना वैध भएको राहदानी, सम्बन्धित देशको प्रवेषाज्ञा, भ्रमण अवधिभर होटल बुकिङ गरेको प्रमाण लगायत अन्य आवस्यक कागजात बोक्नुपर्नेछ। युएई, बहराइन, कुवेत, कतार ओमन र साउदी अरेवियामा भिजिट भिसामा भ्रमण गर्दा अनुसूची २ बमोजिम स्वः घोषणा गर्नुपर्ने छ।

विभागका प्रवक्ता टिकाराम ढकाल भन्छन्, ;श्रम स्वीकृत नलिइ काम गर्न जाने व्यक्तिले यस्ता कागजात बनाउन सक्दैनन्। कागजात बनाउनकै लागि बिचौलिया र एजेन्टले मोटो रकम लिएर ठगी गर्ने गरेका जनगुनासोपछि विभागले केही व्यवस्था परिवर्तन गर्न लागेको हो। मेनपावर, बिचौलियाहरू र अध्यागमनका कर्मचारीले पर्यटक भिसाको नाममा त्यही मापदण्डमा टेकेर ‘सेटिङ’मा विदेश पठाउने र असुल्ने धन्दा चलाउँदै आएको आरोप छ। उनीहरूले बैंक स्टेट्मेन्ट, डलर साटेको प्रमाण, दुईतर्फी टिकटलगायतका कागजात नक्कली बनाइदिने गरेको आरोप छ। ढकालका अनुसार अहिले केही ट्राभल एजेन्सी, एयरलाइन्स, मेनपावर व्यवसायी र शंकास्पद कागजातमाथि विभागले आन्तरिक छानबिन गरिरहेको जानकारी दिए।
 
केही महिनाअघि भिजिट भिसा ठगी प्रकरण सार्वजनिक भएपछि पूर्व मुख्यसचिव शंकरदास बैरागी नेतृत्वमा गठन भएको समितिले छानबिन गरिरहेको छ। अख्तियारमा परेको उजुरीमा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख तीर्थराज भट्टराई र अन्य ३ जनाविरुद्ध अनुसन्धान भइरहेको छ। अध्यागमन विभागले वैरागी नेतृत्व समितिलाई भिजिट भिसासम्बन्धी मापदण्डमा परिवर्तन गर्न सुझाव दिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.