निःसन्तान उपचारमा देशको नयाँ फड्को

निःसन्तान उपचारमा देशको नयाँ फड्को

काठमाडौं : तपाईं २० देखि ३५ वर्षको स्वस्थ हुनुहुन्छ ? कुनै पनि सरुवा रोग लागेको छैन । त्यसो भए पुरुषले शुक्रकीट र महिलाले अण्डा दान गर्न सक्नु हुनेछ । विवाहितको हकमा दम्पतीकै लिखित मन्जुरी चाहिने छ । तर, कुनै पनि व्यक्तिलाई प्रलोभनमा पारी वा दबाबमा पारेर भने दान गराउन पाइने छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रकीट वा अण्डा दान गर्ने दाता (डोनर) का लागि मापदण्ड बनाएको छ । जसमा भनिएको छ, ‘दाताको उमेर २० देखि ३५ वर्षको बीचमा हुनुपर्ने, कुनै पनि सरुवा रोग नभएको स्वास्थ्य परीक्षणबाट प्रमाणित हुनुपर्ने र विवाहितको हकमा दम्पती दुवैको लिखित मञ्जुरी हुनुपर्ने छ ।’ किशोरीबाट अवैध रूपमा डिम्ब (अण्डा दान) लिएका घटनाहरू सार्वजनिक भए पछि सरकारले नयाँ मापदण्ड बनाएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निःसन्तान उपचार (आईभीएफ) सेवालाई व्यवस्थित बनाउन र नियमन गर्न निःसन्तान व्यवस्थापन सेवा सञ्चालनसम्बन्धी मापदण्ड, २०८२ स्वीकृत गरेको छ । 

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै मापदण्ड स्वीकृत गरेका हुन् । मन्त्री पौडेलको अग्रसरतामा मन्त्रालयले सम्बन्धित क्षेत्रका सरोकारवाला विज्ञहरूसँगको छलफलपछि यो मापदण्ड तयार पारिएको हो । मापदण्डको कार्यान्वयन भएमा ‘निःसन्तान उपचार (आईभीएफ)’ सेवा र यसका लागि आवश्यक प्रयोगशाला, जनशक्ति व्यवस्थापन तथा संवेदनशील मानिएको शुक्रकीट तथा अण्डा दान (डोनर) प्रक्रिया थप व्यवस्थित हुने विश्वास गरिएको छ । 

शुक्रकीट वा अण्डा दान गर्ने दाताका लागि स्पष्ट मापदण्ड तोकिएको छ । दातालाई कुनै पनि सरुवा रोग नभएको स्वास्थ्य परीक्षणबाट प्रमाणित हुनुपर्ने र विवाहितको हकमा दम्पतीको लिखित मञ्जुरी जस्ता विषयलाई अनिवार्य गरिएको छ । एक व्यक्तिले दान गर्न पाउने पटकको संख्या सीमित गरिएको छ र दाताको पहिचान पूर्ण रूपमा गोप्य राख्नुपर्नेछ । साथै, कुनै पनि व्यक्तिलाई प्रलोभनमा पारी वा दबाबमा राखी दान गराउन पूर्ण रूपमा निषेध गरिएको छ । 

स्वास्थ्य मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. सरोज शर्माका अनुसार, मापदण्डबमोजिम सेवा प्रदायकलाई पूर्णजिम्मेवार बनाइने छ र तोकिएको मापदण्ड पालना नगर्ने जोसुकैलाई कडा कानुनी दायरामा ल्याइने छ । शर्माले भने, ‘यस मापदण्डले निःसन्तान उपचार सेवालाई थप सुरक्षित, पारदर्शी र अन्तर्राष्ट्रियस्तरको बनाउन लागि एक कोसेढुंगाका रूपमा काम गर्ने छ ।’ 

के छ वीर्य दान (सिमेन डोनेसन) को मापदण्ड ? 
एक दाता (डोनर)ले कम्तीमा १५ दिनको फरकमा १० पटकभन्‍दा बढी डोनेसन दिन नमिल्‍ने मापदण्ड बनाइएको छ । यसको सुनिश्चितताका लागि विभिन्न सेवा प्रदायक संस्थाहरूबीच दोहोरो नपर्ने गरी समन्वय गर्ने प्रणाली निर्माण गर्नुपर्ने सुझाइएको छ । डोनरको परिचय प्रापकलाई खुलाउन मिल्ने छैन । डोनरको शारीरिक परीक्षण तथा आवश्यक जाँचहरू प्रयोगशालाबाट परीक्षण गरी कुनै सरुवा रोग नभएको हुनुपर्ने ।

नागरिकता नम्बर तथा जारी जिल्ला सम्बन्धित संस्थामा अनिवार्य रेकर्ड राख्नुपर्ने छ । त्यस्तै बिरामीको आईडी अस्पतालमा रेकर्ड गरी परिचय नखुल्ने गरी कोड नम्बरमार्फत रेकर्ड राख्नुपर्ने छ । 

डोनेसन गर्ने समयको पछिल्लो तीन महिनाको आधारभुत परीक्षण (सीबीसी, आरबीएस, आरएफटी, एलएफटी, ग्रुपिङ, सेरोलोजीहरूको रिपोर्ट अनिवार्य पेस गर्नुपर्ने छ । र, सेरोलोजी टेस्ट विगत तीन महिनाभित्र नेगेटिभ हुनुपर्ने छ । वीर्य दान गर्ने व्यक्तिलाई सम्पूर्ण कुरा बुझाई सुसूचित मन्जुरिनामा लिनुपर्ने छ । विवाहितको हकमा श्रीमान्÷ श्रीमती दुवै जनाको सुसूचित मन्‍जुरी हुनुपर्ने छ । त्यस्तै कुनै पनि व्यक्तिलाई प्रलोभनमा पारी डोनेसन दिन बाध्य पार्न पाइने छैन । दुरुपयोग नहुने गरी सफ्टवेयर निर्माण गरी लागू गरिने जनाइएको छ । 

कस्तो छ अण्‍डा दानको मापदण्‍ड? 
 एक दाताले ६ पटकभन्‍दा बढी डोनेसन दिन नमिल्‍ने मापदण्ड रहेको छ । डोनेसनको अवधी कम्तीमा पनि तीन महिनाको फरक हुनुपर्ने र यसको सुनिश्चितताका लागि विभिन्न सेवा प्रदायक सस्थाहरूबीच दोहोरो नपर्ने गरी समन्वय गर्ने प्रणाली निर्माण गर्नुपर्ने छ । 

डोनरको शारीरिक परीक्षण तथा आवश्यक जाँचहरू प्रयोगशालाबाट परीक्षण गरी कुनै सरुवारोग नभएको हुनुपर्ने छ । नागरिकता नम्बर तथा जारी जिल्ला सम्बन्धित संस्थामा अनिवार्य रेकर्ड राख्नुपर्ने छ । आईडी अस्पतालमा रेकर्ड गरी परिचय नखुल्ने गरी कोड नम्बरमार्फत रेकर्ड राख्नुपर्ने छ ।
डोनेसन गर्ने समयको पछिल्लो तीन महिनाको आधारभूत परीक्षण (सीबीसी, आरबीएस, आरएफटी, एलएफटी, ग्रुपिङ, सेरोलोजी) हरूको रिपोर्ट अनिवार्य पेस गर्नु पर्ने छ । र, सेरोलोजी टेस्ट विगत तीन महिना भित्र नेगेटिभ हुनुपर्ने छ । अण्‍डा दान गर्ने व्‍यक्तिलाई बुझ्ने भाषामा तत्काल वा पछि आउन सक्ने जटिलताको बारेमा जानकारी गराएको हुनुपर्ने छ । अन्डा दान गर्ने व्यक्तिलाई सम्पूर्ण कुरा बुझाई शुसुचित मन्जुरिनामा लिनुपर्ने छ । विबाहितको हकमा श्रीमान्÷श्रीमती दुवै जनाको सुसूचित मन्‍जुरी हुनुपर्ने छ । कुनै पनि व्यक्तिलाई प्रलोभनमा पारी डोनेसन दिन बाध्य पार्न पाइने छैन । दुरुपयोग नहुने गरी सफ्टवेयर निर्माण परी लागू गर्नुपर्ने छ । 

सेवा प्रवाह गर्ने स्वास्थ्य संस्थाले आईयूआई, र आईभीएफ जस्ता विशिष्ट सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयबाट अनिवार्य रूपमा अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ । प्रत्येक अनुमति प्राप्त केन्द्रमा निःसन्तान रोग विशेषज्ञ, तालिम प्राप्त इम्ब्रायोलोजिष्ट र एनेस्थेसियोलोजिष्ट लगायतका दक्ष जनशक्ति अनिवार्य हुनुपर्ने छ । पूर्वाधारतर्फ राष्ट्रिय भवन संहिता बमोजिमको भवन, विशिष्टीकृत एन्ड्रोलोजी तथा इम्ब्रायोलोजी प्रयोगशाला, शल्यक्रिया कक्ष र आकस्मिक सघन उपचार कक्ष लगायतको व्यवस्था हुनुपर्ने मापदण्ड तोकिएको छ । 

सेवाको गुणस्तर, जनशक्ति र उपकरणको अवस्थाबारे मन्त्रालयको समितिले नियमित अनुगमन गर्ने र मापदण्ड पालना नगर्ने संस्थाको अनुमति खारेज गर्न सक्ने व्यवस्था गरिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले प्रजनन् स्वास्थ्यको क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन यस मापदण्डले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले भने, ‘यो मापदण्डले सेवालाई सुरक्षित र विश्वसनीय बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास छ ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.