भारोत्तोलन संघको चुनावमा त्रुटि नै त्रुटि : खेलकुद ऐन र नियमावलीको धज्जी उडाएको आरोप
काठमाडौं : गत साउन १५ गते गरिएको नेपाल भारोत्तोलन संघको साधारणसभा र निर्वाचनमा त्रुटि नै त्रुटि देखिएको छ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको जोडबलमा भएको साधारणसभा र निर्वाचन कानुनी रूपमा नै त्रुटिपूर्ण देखिएको छ । मन्त्री चौधरीको जोडबलमा भएको साधारणसभाले कानन चौधरीको अध्यक्षतामा २० सदस्यीय कार्यसमिति चयन गरेको थियो । मन्त्री चौधरीका नातेदार कानन यसअघि तदर्थ कमिटीका संयोजक थिए ।
२०८२ साउन ११ गते राष्ट्रिय खेलकुद परिषद्ले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार जिल्ला र प्रदेश संघ गठन नभएको भन्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले साधारणसभा तथा अधिवेशनका स्वीकृति दिन नसकिने जनाएको थियो । राष्ट्रिय खेलकुद विकास ऐनको परिच्छेद ६ को २३ र २४ अनुसार कम्तीमा चार प्रदेश गठन हुनुपर्नेमा कोशी प्रदेश मात्रै गठन भएकाले साधारणसभा तथा अधिवेशनका स्वीकृति दिन नसकिने जानकारी राखेपले दिएको थियो । त्यसपछि खेलकुदमन्त्री चौधरीको विशेष सक्रियतामा रातारात बागमती, मधेस र सुदूरपश्चिम प्रदेश गठन गरिएको पत्र परिषद्मा बुझाइएको थियो । त्यही पत्रका आधारमा परिषद्ले निर्वाचनका लागि स्वीकृति दिएको थियो ।
अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठले राष्ट्रिय खेलकुद विकास ऐन, खेलकुद नियमावलीको धज्जी उडाउँदै मन्त्रीको शक्तिको आडमा पेलेर निर्वाचन गरिएको आरोप लगाए । ‘मन्त्री पावरको आधारमा दम्भ, अहंमता, घमण्डताले गर्दा प्रचलित ऐन नियमको धज्जी उडाउने काम भएको छ’, अध्यक्ष श्रेष्ठले भने, ‘साधारणसभाको बन्द सत्रमा न कसैलाई बोल्न दिएको छ न त विधान नै पास गरेको छ । केही व्यक्तिको सीमित स्वार्थ र पहिले पराजित भएकाहरूको उक्साहटमा युवा तथा खेलकुदमन्त्री चौधरीले नयाँ संघ बनाएका हुन् ।’ उनले साधारणसभाले संघको विधानसमेत पारित गर्न नसकेको आरोप लगाए । ‘संघको विधान साधारणसभाबाट पास गर्नुपर्छ । तर, नवगठित भारोत्तोलन संघको विधान साधारणसभाबाट पास गरिएको छैन । पछि बहुमतका आधारमा पास गरिएको छ’, उनले भने, ‘नयाँ विधानमा एकै व्यक्तिको पनि पानैपिच्छे नयाँ नयाँ हस्ताक्षर गरिएको छ । अर्थात् किर्ते हस्ताक्षर गरेर विधान पास गरिएको छ ।’
मन्त्री पावरको आधारमा दम्भ, अहंमता, घमण्डताले गर्दा प्रचलित ऐन नियमको धज्जी उडाउने काम भएको छ । साधारणसभाको बन्दसत्रमा न कसैलाई बोल्न दिएको छ न त विधान नै पास गरेको छ । केही व्यक्तिको सीमित स्वार्थ र पहिले पराजित भएकाहरूको उक्साहटमा युवा तथा खेलकुदमन्त्री चौधरीले नयाँ संघ बनाएका हुन् ।
रामकृष्ण श्रेष्ठ - अध्यक्ष, अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल भारोत्तोलन संघखेलकुद विकास ऐनअनुसार हामीले चार प्रदेश गठन गरेका छौं । ३० जिल्ला कमिटी पनि गठन भएको छ । हामीलाई साधारणसभा र निर्वाचनका लागि राष्ट्रिय खेलकुद परिषद्ले स्वीकृति दिएको छ भने परिषद्कै निर्वाचन समितिले चुनाव गराएको छ । युवा तथा खेलकुदमन्त्रीले उद्घाटन गरेको, ऐनअनुसार प्रक्रिया पूरा गरेको, सबै जिल्ला तथा प्रदेशका प्रतिनिधि सहभागी भएको र परिषद्ले स्वीकृति दिएर उसैले चुनाव गराएको संघ कसरी अवैधानिक हुन्छ ?
कानन चौधरी - अध्यक्ष, राष्ट्रिय मान्यता प्राप्त नेपाल भरोत्तोलन संघ
उनले नयाँ जिल्ला र प्रदेश गठन गर्दा तदर्थ कमिटी बनाउनु पर्नेमा प्रदेशहरूले पनि पुनर्गठन नगरी एकै पटक संघ गठन गरेको अध्यक्ष श्रेष्ठले दाबी गरे । ‘न जिल्ला गठन नियम संगत छ न त प्रदेश नै । प्रदेशले पनि ऐन नियम मिचेर संघ गठन गरेका छन्’, श्रेष्ठले भने, ‘केन्द्रको विधानमा प्रदेश कमिटी कम्तीमा सात सदस्यीय हुनुपर्ने स्पष्ट उल्लेख गरे पनि पाँच सदस्यीय समितिसमेत गठन भएको छ । यो सरासर विधानविपरीत छ ।’
उनका अनुसार प्रदेश कमिटी सामान्यतः नौ सदस्यीय भए पनि कम्तीमा सात सदस्यीय हुनुपर्ने स्पष्ट उल्लेख भए पनि सुदूरपश्चिम प्रदेश कमिटी पाँच सदस्यीय मात्रै बनाइएको छ । साउन १३ गतेको पत्रमा ठक्कर बमको अध्यक्षतामा पाँच सदस्यीय कमिटी मात्रै गठन भएको छ । संघको उपाध्यक्षमा कृष्ण पाण्डेय, सचिवमा शिवनारायण चौधरी, कोषाध्यक्ष सूर्यप्रसाद चौधरी र सदस्यमा जागुराम चौधरी छन् । नवगठित भारोत्तोलन संघको चार प्रदेश गठन भएको छ । जसमा सुदूरपश्चिमसँगै बागमती, कोशी र मधेस छन् । बागमतीले भने केन्द्रको विधान अनुसार नै सात सदस्यीय तदर्थ समिति गठन गरेको छ । यस्तै मधेस र कोशीले भने केन्द्रको विधान अनुसार नौ सदस्यीय कमिटी गठन गरेको छ ।
अन्तर्राष्ट्रिय मान्यताप्राप्त भारोत्तोलन संघका अध्यक्ष श्रेष्ठ पहिलोपटक गठन भएका प्रदेश तदर्थ कमिटी हुनुपर्नेमा बागमती बाहेक अन्य प्रदेशले एकै पटक पूर्ण कमिटी बनाउनु विधानसम्मत नभएको बताउँछन् । ‘चारै प्रदेशले पहिलेका समितिलाई मान्यता दिएका छैनन् । यसो हुँदा चारवटै प्रदेशका तदर्थ कमिटी हुनुपर्ने हो ।
प्रतिक्रिया दिनुहोस !