भारतले नेपाली सेनालाई दियो विभिन्न सहयोग
काठमाडौं : भारत सरकारले नेपाली सेनालाई केही थान सवारीसधान, घोडा र विपद्पछिको घटनाको अनुसन्धान कार्यमा प्रयोग हुने कुकुर सहयोगस्वरुप उपलब्ध गराएको छ।
नेपालको दुईदिने भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले सैनिक मुख्यालय जङ्गीअड्डामा सोमबार आयोजित कार्यक्रममा ती सहयोग हस्तान्तरण गरेका हुन्। भारतबाट ६ थान सवारीसाधन, पाँचवटा घोडा तथा विस्फोटन तथा विपद्का घटनापछि खोजी र अनुसन्धानमा नतिजामुखी परिणाम दिलाउन सहयोग पुर्याउने गुणस्तरका दुई कुकुर प्राप्त भएको छ।
यसअघि प्रधानसेनापति अशोकराज सिग्देल र विदेशसचिव मिस्रीबीच सैनिक मुख्यालय जङ्गीअड्डामा शिष्टाचार भेटवार्ता भएको थियो। भेटका अवसरमा दुई देशबीचको सहयोग, सम्बन्ध र आपसी हितका विषयमा विचारविमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
नेपाल र भारतबीच राजनीतिक तहमा मात्र नभई सैनिक र जनस्तरमा समेत ज्यादै न्यानो तथा प्रगाढ सम्बन्ध रहिआएको छ। नेपाल र भारतबीच एकअर्का देशका सेना प्रमुखलाई मानार्थ सेना प्रमुखको सम्मान प्रदान गर्ने अनुपम परम्परा छ। नेपाल र भारतबीच लामो समयदेखि वार्षिक रूपमा ठूलो सङ्ख्यामा एकअर्का देशमा सैनिक तालिम र प्रशिक्षणका कार्यक्रम सञ्चालन हुँदै आएका छन्।
एकै किसिमको भाषा, धर्म र संस्कृति तथा पुरानो मित्रवत् र खुला सीमाका कारण नेपाल-भारतबीच एक-अर्का देशमा सहज आवतजावतले मित्रतालाई जनस्तरमा समेत घनिष्ट तुल्याएको छ। हस्तान्तरण समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र नेपाली सेनाका उच्च अधिकृत सहभागी थिए।


प्रतिक्रिया दिनुहोस !