फर्किए भारतीय विदेश सचिव मिस्री
काठमाडौं : दुई दिने नेपाल भ्रमण सकाएर भारतीय विदेश सचिव विक्रम मिस्री स्वदेश फर्किएका छन्।
आइतबार चार सदस्यीय टोलीको नेतृत्व गर्दै काठमाडौं ओर्लिएका विदेश सचिव मिस्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवासँग भेटवार्ता गरेका थिए। त्यस्तै उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग पनि भेटवार्ता गरेका थिए।
विदेश सचिव मिस्रीले भारत सरकारका तर्फबाट शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी लाभका विविध क्षेत्रका सहकार्य र तिनमा भएको प्रगतिबारे जानकारी गराएका थिए। त्यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट विदेश सचिवले प्रधानमन्त्री ओलीलाई भारत भ्रमणका लागि औपचारिक निमन्त्रणा पनि हस्तान्तरण गरेका थिए। प्रधानमन्त्री ओलीलाई दुवै पक्षलाई अनुकूल हुने मितिमा भारतको भ्रमण गर्न जारी विज्ञप्तिमा उल्लेख छ।
परराष्ट्र सचिवस्तरीय बैठकमा दुवै पक्षबीच द्विपक्षीय सम्बन्धका विविध पक्षमा विस्तृत छलफल भएको थियो। बैठकमा हालसम्म भएका उपलब्धिहरूको समीक्षा गरिनुका साथै प्रधानमन्त्री ओलीको भारत भ्रमणको तयारीका सन्दर्भमा सम्भावित एजेण्डाका विषयमा छलफल भएको थियो।
सचिव मिस्रीले प्रधान सेनापति अशोकराज सिग्देलसँग भेट गरी नेपाली सेनालाई लाइट स्ट्राइक भेहिकल (एलएसभी), क्रिटिकल केयर मेडिकल उपकरण र सैन्य प्रयोजनका जनावरहरूसहित विविध रक्षा सामग्री हस्तान्तरण गरेका थिए। भ्रमणका अवसरमा दुवै पक्षले भौतिक तथा डिजिटल कनेक्टिभिटी, ऊर्जा सहकार्य, रक्षा तथा सुरक्षालगायत द्विपक्षीय सम्बन्धका विविध क्षेत्रमा पछिल्ला वर्षहरूमा भएको ठोस प्रगतिप्रति सन्तोष व्यक्त गरेका थिए।
प्रतिक्रिया दिनुहोस !