रञ्जिता श्रेष्ठले आफैंलाई घोषणा गरिन् दलको नेता, गंगराम भन्छन्- उहाँलाई त्यो अधिकार छैन

रञ्जिता श्रेष्ठले आफैंलाई घोषणा गरिन् दलको नेता, गंगराम भन्छन्- उहाँलाई त्यो अधिकार छैन
सुन्नुहोस्

काठमाडौं : नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले संसदीय दलको नेता आफैं रहेको पत्र संसद सचिवालयमा दर्ता गराएकी छन्। संसदीय दलका नेता गंगाराम चौधरीलाई कारबाही गरिएको जानकारी गराउँदै अध्यक्ष श्रेष्ठले आफू नै दलको नेता भएको पत्रमा उल्लेख गरेकी छन्।

‘यस नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेताको भूमिकामा रहनुभएका मा. गंगाराम चौधरीलाई पार्टीको हित विपरीत कार्य गरेउपर पार्टीको विधान बमोजिम स्पष्टीकरण सोधिएको र तथ्यपरक एवं सन्तोषजनक जवाफ प्राप्त नभएको हुँदा निज मा. गंगाराम चौधरी पार्टीको केन्द्रीय कार्यसमिति पदाधिकारी तथा संसदीय दलको भूमिकामा नरहने गरी मिति २०८२/०४/३० गते कारबाही गरेको’ पत्रमा उल्लेख छ।

दलको नेतालाई कारबाही गरिएको हुँदा अध्यक्ष स्वयंले उक्त भूमिका निर्वाह गर्ने व्यहोरा उनले जानकारी गराएको संसद सचिवालयले जानकार दिएको छ।

यता नाउपा संसदीय दलका नेता गंगाराम चौधरीले आफूलाई हटाउने अधिकार अध्यक्षलाई नभएको बताए। 'संसदीय दलको नेता हटाउने अधिकार अध्यक्षज्युलाई छैन। सर्वसम्मत वा बहुमत पुर्‍याएरमात्रै दलको नेता बन्न पाउने प्रावधान छ,' अन्नपूर्णसँग उनले भने। संसदीय दलको विधानको दफा १५ (ख) मा दलको नेता फेरबदल वा छनौट गर्दै सर्वसहमति वा सांसद सदस्य संख्याको बहुमत संख्या हुनुपर्ने उल्लेख रहेको उनले बताए।

दलका नेता चौधरीले यस विषयमा बुधबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि कुरा उठेको बताए। सभामुख देवराज घिमिरेले नागरिक उन्मुक्ति पार्टीको तर्फबाट पत्र प्राप्त भएको जानकारी गराएका थिए। 'नागरिक उन्मुक्ति पार्टीको तर्फबाट पत्र प्राप्त भएको छ। तर, हामीले त्यसलाई स्वीकारेका छैनौं। संसदीय दलबाट औपचारिकरूपमा पत्र आएपछि मात्रै यस विषयमा निर्णय गर्छौं,' बैठकमा सभामुख घिमिरेले भनेका थिए।

नाउपा अध्यक्ष श्रेष्ठले आफ्नो पार्टी सत्तापक्षमा बस्ने भन्दै संसद सचिवालयलाई पत्र दर्ता गराएकी थिइन्। सोही विषयमा सभामुखले बैठकमा जानकारी गराएको दलका नेता चौधरीको भनाइ छ।

उनले नाउपा संसदीय दलको बैठक भोलि (बिहीबार) बस्ने बताए। 'हामी अहिले पनि प्रतिपक्षी दल हौं। भोलि दलको बैठक बस्छौं। त्यो बैठकले यस विषयमा थप निर्णय गर्छौं,' उनले भने।

दलका नेता चौधरीले अध्यक्ष श्रेष्ठले केन्द्रीय कमिटीको बैठक पनि बोलाउन नसकेको आरोप लगाए। 'अध्यक्षज्युले बैठक त बोलाउनु हुँदैन। कारबाहीमात्रै गर्नुहुन्छ। कारबाही गर्ने पनि विधि र प्रक्रिया हुन्छ नि,' उनले भने। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.