रवि लामिछाने दुब्लाउनुभएको रहेछ : प्रचण्ड
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने दुब्लाएको बताएका छन्। ललितपुरको नख्खु जेलमा लामिछानेसँगको भेटपछि प्रचण्डले सो कुरा बताएका हुन्।
'मेरो क्याबिनेटको उहाँ दुई पटकको गृहमन्त्री पनि हो। अभिभावकको नाताले मैले भेट गरेको हुँ। भैरहवा पनि जान चाहेको थिएँ। तर, जान पाएको थिइनँ,' उनले भने।
लामिछानेले भैरहवामा आफूलाई गोलघरमा राखेको अनुभूति भएको बताएको प्रचण्डको भनाइ छ। 'भैरहवामा ठूलो पीडा भएको उहाँले सुनाउनुभयो। दुब्लाउनु पनि भएछ। यहाँ भैरहवाको तुलनामा यहाँ धेरै राम्रो रहेको र त्यसको प्रशंसा पनि गर्नुभयो,' उनले भने।
लामिछानेले आफूमाथि सरकारले प्रतिशोध साँधेको बताएको उनले बताए। तर, त्यसले पार्टीलाई फाइदा नै पुगेको लामिछानेको भनाइ छ। 'अदालतले नै तोकेको बिगो तिर्दा पनि त्यो सुविधा नपाएको गुनासो गर्नुभयो। सरकार र गठबन्धन मप्रति यति धेरै अनुदार र विभेद किन गर्यो भन्ने बुझेको छैन। कांग्रेस र एमालेले जसरी व्यवहार गर्नुभएको छ। त्यसले आफूलाई फाइदा नै भएको निष्कर्षमा पुग्नुभएको छ,' लामिछानेको भनाइ प्रचण्डले सुनाए।
प्रतिक्रिया दिनुहोस !