सिंगै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौं : प्रधानमन्त्री
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगै नेपाललाई समृद्ध बनाउन सरकार लागिरहेकाले सबैले आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताएका छन्।
सिस्नुपानी नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भएका सकारात्मक प्रयास र विकासलाई पनि उत्तिकै महत्त्व दिन आग्रह गर्दै कसैलाई सरापेर नभई कर्मठ भएर लाग्दा मात्रै नेपाल बन्ने बताए।
'यो कार्यक्रम कर्णालीको विकासका लागि हौसला दिने र आशाको दियो बाल्ने खालको छ तर भएका विकास र प्रगतिका कुरा अझै आएनन्। कर्णालीमा हामीले विश्वविद्यायल, स्वास्थ्य प्रतिष्ठान, कर्णाली करिडोर, हुम्ला जोड्ने बेलिब्रिज, रंगशाला आदि बनाइसकेका छौं,' उनले भने, 'कर्णालीको स्याउले अब बजार पाउँछ। अब सबै सदरमुकमासहित हुम्लामा पिच बाटो पनि जान्छ। हामी सबैले सकारात्मकता र आशा जगाउनुपर्छ। मोटरबाटो चढी जाउँला रारा घुम्न जस्ता गीतहरू अब यथार्थ भइसकेका छन्।'
कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा विशिष्ट व्यक्तिहरू र दर्शकहरूका भीडको सहभागितामा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले आगामी सन् २०२६ मा नेपाल विकासशील मुलुकमा स्तरोन्ती हुने तयारी भएको स्मरण गराए। सरकारले गच्छेअनुसार कर्णालीको विकासका लागि उच्च प्राथमिकता दिने विश्वास पनि दिलाए।
'मैले पहिला ग्यास र खानीको उत्खनन्को कुरा गर्दा उडानेहरूले दैलेखमा मिथेन ग्यासको भण्डार पत्ता लागिसकेको नदेख्न सक्छन् तर कर्णाली त्यतिसारो बैगुनी हुन सक्दैन। अब हामीले यार्सागुम्बाको निर्यात गर्नतिर पनि लाग्नेछौं,' उनले भने। निरकुंश राजतन्त्रको अँध्यारो युगमाजस्तो होइन, लोकतान्त्रिक गणतन्त्रमा कर्णालीले न्याय पाउने उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !