के हो, स्वर्णविन्दु प्राशन ?
बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै उनीहरूको बौद्धिक र शारीरिक विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यले दिइने थोपा स्वर्णविन्दु प्राशन हो । यो हजारौं वर्ष पुरानो आयुर्वेद विज्ञानमा आधारित छ ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. श्यामबाबु यादवका अनुसार ‘स्वर्णविन्दु प्राशन’ करिब पाँच हजार वर्ष पुरानो आयुर्वेदिक ग्रन्थ ‘काश्यप संहिता’ मा वर्णन गरिएको एक परम्परागत विधि हो । यो केवल विभिन्न वस्तुको मिश्रणमात्र नभई यसको आफ्नै वैज्ञानिक आधार हुन्छन् । यसमा प्रयोग हुने प्रशोधित स्वर्ण भष्मले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई सन्तुलन र नियमन गर्न मद्दत गर्छ । त्यसैगरी, मस्तिष्कको क्षमता बढाउने जडीबुटीयुक्त ब्राह्मी घृतले स्नायु कोषहरूको रक्षा गर्ने र स्मरण शक्ति बढाउन भूमिका खेल्छ । शुद्ध मह आफैंमा एक प्राकृतिक जीवाणुरोधी तत्त्व हो जसले संक्रमणबाट बचाउँछ । यी तत्त्वहरूको सही संयोजनले बालबालिकाको समग्र विकासमा प्रभाव पार्दछ । यो कुनै अन्धविश्वासमा आधारित परम्परा होइन, यो हजारौं वर्षको अनुभव र अनुसन्धानमा आधारित विज्ञान हो ।
स्वर्ण भष्मको ‘इम्युनोमोडुलेटर’ गुण, ब्राह्मीको ‘न्युरो (प्रोटेक्टिभ’ क्षमता र महको प्राकृतिक ‘एन्टिमाइक्रोबियल’ गुणबारे आधुनिक अनुसन्धानले पनि पुष्टि गर्दै लगेको डा.यादव बताउँछन् ।
स्वास्थ्य मन्त्रालय, आयुर्वेद तथा वैकल्पक चिकित्सा शाखा प्रमुख डा. पुष्पराज पौडेलले ‘स्वर्णविन्दु प्राशन’ को वैज्ञानिक पक्षहरू रहेको बताउँछन् । आधुनिक वैज्ञानिक दृष्टिकोणबाट हेर्दा ‘स्वर्णविन्दु प्राशन’ एक अत्यन्तै परिष्कृत ‘नानो–मेडिसिन’ र ‘न्युरो– इम्युनोमोडुलेटर’ फर्मुलेसन भएको डा. पौडलको भनाइ छ । यसमा प्रयोग हुने ‘स्वर्ण भस्म’ सामान्य सुन होइन, यो विशेष प्रशोधन विधिबाट तयार पारिएको सुनको नानो कण हो । जसले शरीरको रोग प्रतिरोधात्मक प्रणालीलाई सन्तुलित गर्ने क्षमता राख्दछ । ब्राह्मी र शंखपुष्पीजस्ता ‘मेध्य रसायन’ जडीबुटीहरूमा पाइने ‘नुट्रोपिक्स, एड्याप्टोजेन्स’ जस्ता सक्रिय तत्त्वहरूले स्नायु कोषहरूको रक्षा गर्ने र मस्तिष्कको सिक्ने क्षमतालाई बढावा दिन्छ ।
तसर्थ, यो केवल परम्परा मात्र होइनस यो बालबालिकाको प्रतिरक्षा प्रणाली र स्नायु प्रणालीलाई सबल बनाउने एक वैज्ञानिक रूपले अर्थपूर्ण सिनर्जिस्टिक संयोजन हो । भारतमा ‘स्वर्ण प्राशन संस्कार’ लाई राष्ट्रिय आयुर्वेद अभियानअन्तर्गत बाल स्वास्थ्यको एक महत्त्वपूर्ण अंगको रूपमा वर्षौंदेखि सञ्चालन गरिँदै आएको छ । त्यहाँका विभिन्न राज्य सरकारहरूले यसलाई सरकारी स्वास्थ्य केन्द्रहरूबाट निःशुल्क उपलब्ध गराउँदै आएका छन् । त्यसैगरी, चीन, जर्मनी, अस्ट्रेलियाजस्ता विकसित देशहरूमा समेत आयुर्वेदिक र परम्परागत चिकित्सा पद्धतिहरूलाई पूरक स्वास्थ्य सेवाको रूपमा स्वीकार्यता बढ्दो छ र यसमाथि विभिन्न वैज्ञानिक अनुसन्धानहरू गरिरहेका छन् ।
राष्ट्रिय स्वर्णविन्दु प्राशन कार्यक्रमलाई देशव्यापी रूपमा व्यवस्थित, सुरक्षित र एकरूपताका साथ सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयले ‘राष्ट्रिय स्वर्णविन्दु प्राशन कार्यक्रम सञ्चालन निर्देशिका, २०८२’ समेत स्वीकृत गरिसकेको छ । यस निर्देशिकाले स्वर्णविन्दु प्राशनको मि श्रण तयार पार्ने विधि, मात्रा, गुणस्तर, भण्डारण, खुवाउने प्रक्रिया र स्वास्थ्यकर्मीको भूमिकालाई स्पष्ट रूपमा परिभाषित गरेको आयुर्वेद विभागका महानिर्देशक डा. श्यामबाबु यादव बताउँछन् ।
प्रतिक्रिया दिनुहोस !