पढ्ने मानिस कहिल्यै एक्लो हुँदैन

पढ्ने मानिस कहिल्यै एक्लो हुँदैन

पठन संस्कृति कुनै विलासी रुचि होइन। यो आलोचनात्मक सोच, सिर्जनशीलता, सामाजिक संवाद र लोकतान्त्रिक चेतनाको आधारशिला हो।

‘पढ्ने मानिस कहिल्यै एक्लो हुँदैन’ अमेरिकी निबन्धकार जोसेफ एडिसनको यो भनाइले पठनको गहिरो शक्ति र जीवन परिवर्तनकारी प्रभावलाई उजागर गरेको छ । वास्तवमा, शिक्षाबिनाको समाज अन्धकारमा हुन्छ भने किताबबिनाको समाज चेतनाविहीन हुन्छ । पठन केवल अक्षरहरूको संयोजन होइन । यो दृष्टिकोणको खोज, जीवनदर्शनको निर्माण, मूल्य र चिन्तनको जग तथा ज्ञानको भण्डारमा प्रवेश गर्ने द्वार हो ।

पुस्तकसँगको सम्बन्धले मानिसलाई कहिले अतीतको ऐतिहासिक यात्रामा, कहिले भविष्यको कल्पनामा, त कहिले आफ्नै अन्तर्मनको खोजीमा डुबाउँछ । मानव चेतनालाई निरन्तर गतिशील बनाउँदै लैजान्छ । यसले व्यक्तिलाई संवेदनशील, विवेकी र सुसंस्कृत बनाउँछ । पठनको यो यात्रा एकान्तमा सुरु भए पनि अन्तत :  समाजलाई उज्यालो बनाउने सामूहिक चेतनाको आधार बन्छ । पुस्तक पढ्नु केवल ज्ञानको साधनमात्र नभई आत्मअन्वेषण, संवाद र सोचको अभ्यास पनि हो । यद्यपि, धेरै मुलुकले यस चुनौतीलाई अवसरमा रूपान्तरण गर्दै पठनलाई राष्ट्रिय प्राथमिकतामा राखेका छन् ।

आजको डिजिटल युगमा सूचना निरन्तर बर्सिरहेका छन् । यही सूचनाको वर्षाले गहिरो, गुणस्तरीय र निरन्तर पठन बानीलाई संकटमा पारिरहेको छ । सामाजिक सञ्जाल, छोटो भिडियो सामग्री र तत्काल मनोरञ्जनका विकल्पहरूले दीर्घ पठनको धैर्य, रुचि र एकाग्रता कमजोर बनाइरहेका छन् । पठनलाई पुन :  आकर्षक र सान्दर्भिक बनाउनु अबको चुनौती हो ।

सामान्य अर्थमा, पढ्ने बानी वा निरन्तर अभ्यास नै पठन संस्कृति हो । डा. गोविन्द भट्टराईका शब्दमा, ‘पठन बानी केवल ज्ञान बढाउने कुरा होइन, यो सोच, भाषा र संस्कृतिको आधार हो । जसको जीवनमा पठनको निरन्तरता छ, उसको दृष्टिकोण फराकिलो हुन्छ ।’ पठन संस्कृतिको विकास व्यक्तिगत प्रगति मात्र नभई समाजको दीर्घकालीन उन्नतिका लागि पनि अनिवार्य छ ।

पठन जीवन रूपान्तरणको मूल आधार  :  पठन केवल ज्ञान प्राप्तिको माध्यम होइन, जीवन रूपान्तरणको शक्तिशाली साधन हो । यसले प्राज्ञिक क्षमता, दृष्टिकोण, विचारशीलता, लेखन सीप, स्मरण शक्ति, तार्किकता, आत्मविश्वास र व्यक्तित्व विकासमा महŒवपूर्ण योगदान पुर्‍याउँछ । पुस्तकले प्रेरणा दिन्छ, विविधता बुझ्न सघाउँछ, समस्या समाधानका उपाय सिकाउँछ र मानसिक सन्तुलन कायम राख्न मद्दत गर्छ । पठनले व्यक्तिलाई आत्मबोध, सामाजिक चेतना र जीवनका बहुआयामिक सीपहरू प्रदान गर्छ । यो केवल अक्षर पढ्नुमात्र होइन, आफ्नो 
सम्भावना पहिचान गर्ने यात्रा हो ।

विद्यालयमा पठन संस्कृतिको अवस्था  :  नेपालमा विद्यालयस्तरको पठन संस्कृति मिश्रित र असमान देखिन्छ । केही सकारात्मक पहलहरू देखिए पनि व्यापक र दीर्घकालीन सुधारको आवश्यकता अझै बाँकी छ । पहिलो, अधिकांश विद्यालयमा पठन गतिविधि अझै पाठ्यपुस्तक केन्द्रित छन् । विद्यार्थीहरू परीक्षा पास गर्ने लक्ष्यमा सीमित हुँदा सिर्जनात्मक, आलोचनात्मक र स्व–प्रेरित पठन बानीको विकास हुन सकेको छैन । अनिवार्य पठन समय, पुस्तक परिचर्चा, वा स्वतन्त्र रोजाइको पुस्तक पढ्ने अवसरको अभाव धेरै विद्यालयमा देखिन्छ ।

दोस्रो, विद्यालय पुस्तकालयको अवस्था क्षेत्रअनुसार असमान छ । सहरी क्षेत्रका केही विद्यालयमा राम्रो पुस्तकालय र विविध संग्रह उपलब्ध भए पनि ग्रामीण तथा सरकारी विद्यालयमा पुस्तकालय पहुँच सीमित छ । कतिपय स्थानमा पुस्तक अद्यावधिक, व्यवस्थापन र वातावरणको कमी छ, साथै पुस्तकालयमा ताल्चा लगाउने प्रचलनले विद्यार्थी स्वतन्त्र पहुँचबाट वञ्चित छन् ।

तेस्रो, पठन प्रवद्र्धन कार्यक्रमहरूको न्यूनता एक चुनौती हो । केही विद्यालयले ‘पठन दिवस’, ‘पुस्तक समीक्षा प्रतियोगिता’ वा ‘बिहानी पठन समय’ जस्ता अभ्यासहरू सुरु गरेका छन्, तर यी गतिविधि निरन्तर र योजनाबद्ध रूपमा सञ्चालन नहुँदा दीर्घकालीन प्रभाव देखिँदैन । चौथो, अभिभावक र समुदायको भूमिकामा कमजोरी देखिन्छ । धेरै अभिभावकले पठनलाई केवल विद्यालयको जिम्मेवारी ठान्छन्, जसका कारण घरमा बालबालिकालाई पुस्तक पढ्न प्रोत्साहित गर्ने वातावरणको कमी छ ।

पढ्नु भनेको केवल अक्षर चिन्नु होइन। यो त आफ्नै सम्भावनाको खोजी गर्नु हो। जसले व्यत्तिाmलाई आत्मबोध, सामाजिक उत्तारदायित्व र जीवन रूपान्तरणतर्फ डोहोर्‍याउँछ।

पछिल्ला वर्षहरूमा केही विद्यालयले पुस्तकालयलाई शिक्षणको अभिन्न अंग बनाउँदै सामुदायिक पुस्तकालयसँग सहकार्य, डिजिटल सामग्रीको प्रयोग र पठन संस्कृतिको प्रवद्र्धन थालेका छन् । गैरसरकारी संस्था र युवा समूहहरूले मोबाइल पुस्तकालय, पठन क्लब र बाल–पठन कार्यक्रममार्फत प्रेरणादायी पहलहरू गरेका छन् । विद्यालय, अभिभावक, स्थानीय सरकार र समुदायको साझेदारीमा अनिवार्य पठन समय, सुगम पहुँच र आकर्षक सामग्री सुनिश्चित गर्न सकिएमा पठन संस्कृतिमा उल्लेखनीय सुधार सम्भव छ ।

अन्तर्राष्ट्रिय अभ्यास : धेरै देशहरूले पठनलाई केवल शैक्षिक आवश्यकता होइन, जीवनशैलीको अभिन्न अंगका रूपमा विकास गरेका छन् । फिनल्यान्डको ‘रिडिङ नेसन’ अभियानले बालबालिकादेखि वृद्धसम्मलाई पठन संस्कृतिमा जोडेको छ । यस पहलअन्तर्गत विद्यालयहरूमा अनिवार्य ‘बिहानी पठन समय’ लागू गरिएको छ, साथै सबैलाई नि : शुल्क पुस्तकालय सेवा उपलब्ध गराइएको छ । फिनल्यान्डमा नगर पुस्तकालयहरू जनसाधारणको सहज पहुँचमा छन् । ७० प्रतिशत नागरिक पुस्तकालयको ३ किलोमिटरभित्र बसोबास गर्छन् भने केवल ७ प्रतिशत मात्र १० किलोमिटरभन्दा टाढा बस्छन् ।

सिंगापुरमा ‘रिड सिंगापुर’ अभियानले बसपार्क, मेट्रो स्टेसन र कार्यालयसम्म मिनी–लाइब्रेरी पुर्‍याई पठनलाई उत्सवको रूपमा मनाउने संस्कार विकास गरेको छ । जापानमा विद्यालय पुस्तकालयलाई विविध साहित्य र अनुसन्धान सामग्रीको केन्द्र बनाउँदै दैनिक पठन समयलाई नियमित अभ्यास बनाइएको छ । अमेरिकामा भने पुस्तकालय र विद्यालयको साझेदारीमा ‘समर रिडिङ च्यालेन्ज’ सञ्चालन गरी विद्यार्थीलाई गर्मी बिदामा निरन्तर पढ्न प्रेरित गरिन्छ । जसमा पुरस्कार, अभिभावक संलग्नता र सामुदायिक गतिविधिले पठनलाई रमाइलो बनाइदिन्छ ।

क्षमता र चुनौती  :  भारतका शिक्षाविद् जे. कृष्णमूर्तिको भनाइ छ, ‘आजका बालबालिका तीनवटा स्क्रिनमा रमाउन थालेका छन्, मोबाइल स्क्रिन, कम्प्युटर स्क्रिन र टेलिभिजन स्क्रिन ।’ पुस्तक अब उनीहरूको प्राथमिक रोजाइमा पर्दैन । पठन संस्कृतिको सन्दर्भमा यो प्रवृत्ति केवल भारतको 
होइन, सम्पूर्ण क्षेत्रको साझा चुनौती हो ।

नेपालमा केही व्यक्तिले नियमित र सक्रिय पठन जीवनशैली अपनाएका छन्, जसले उनीहरूको चिन्तन, ज्ञान र अभिव्यक्तिको दायरा विस्तार गरेको छ । अर्कोतर्फ, ठूलो संख्यामा विद्यार्थी तथा युवा पुस्ताका लागि पठन अझै पनि केवल शैक्षिक आवश्यकता र परीक्षा तयारीको साधनमा सीमित छ ।यसले गर्दा पुस्तकसँगको सम्बन्ध दीर्घकालीन बानीको रूपमा विकास हुन सकेको छैन ।

केही विद्यालय, कलेज र सामुदायिक संस्थाहरूले पुस्तकालय स्थापना तथा पठन क्लब सञ्चालन गर्दै आएका छन्, जसले विद्यार्थी र समुदायमा पुस्तकमाथिको चासो जगाइरहेका छन् । ‘नेपाल पुस्तक महोत्सव’ र ‘पुस्तक यात्रा’ जस्ता कार्यक्रमहरूले पनि पठनप्रति जनचासो र बहसको वातावरण सिर्जना गरेका छन् । साथै, ग्रामीण क्षेत्रमा गैरसरकारी संस्थाहरूले मोबाइल पुस्तकालय र बाल–पठन केन्द्र स्थापना गरी पुस्तकमाथिको पहुँचको दायरा विस्तार गरेका छन् ।

तर, यी प्रयाससँगै चुनौतीहरू पनि गम्भीर छन् । ग्रामीण क्षेत्रमा पुस्तकालयको पहुँच अत्यन्त सीमित छ, र भएका पुस्तकालयहरूमा पनि पुस्तक अद्यावधिकको कमी छ । विद्यालय शिक्षामा पाठ्यपुस्तक–केन्द्रित प्रवृत्तिले सिर्जनात्मक र आलोचनात्मक पठनको अवसर न्यून बनाएको छ । डिजिटल युगमा सामाजिक सञ्जाल र मनोरञ्जन एप्सको अत्यधिक प्रयोगले निरन्तर पठन समय घटाएको छ । त्यस्तै, पुस्तक मूल्य महँगो हुनु र गुणस्तरीय अनुवादित वा स्थानीय साहित्यको कमीले पनि पठन संस्कृतिको विकासमा अवरोध सिर्जना गरेको छ ।

यसबीचमा, केही प्रेरणादायी उदाहरणहरू पनि देखिएका छन् । काभ्रेको ‘मोबाइल पुस्तकालय’ अभियानले ग्रामीण बालबालिकामा पठनको उत्साह जगाएको छ । मोटरसाइकलमार्फत पुस्तक पुर्‍याउने यो सानो प्रयासले पढ्ने अवसर, साथीहरूसँग बहस र सामुदायिक सहभागिता बढाएको छन् । यसले पठनलाई खेल–मित्रवत्, रोचक र जीवन्त बनाउँदै उल्लेखनीय परिवर्तन ल्याएको छ ।

पठन प्रवर्द्धनका सम्भावित बाटाहरू  :  विद्यालयस्तरमै पठन संस्कृतिको विकासका लागि दैनिक ‘मर्निङ रिडिङ टाइम’ अनिवार्य गर्नुपर्छ, जसले विद्यार्थीलाई शान्त वातावरणमा आफ्ना रोजाइका पुस्तक पढ्ने अवसर प्रदान गर्छ । ‘बुक रिभ्यु प्रतियोगिता’ र ‘पठन डायरी’ अभ्यासले बुझाइ र अभिव्यक्तिमा सुधार ल्याउँछ, साथै पठनलाई जीवनशैलीको रूपमा स्थापित गर्न सहयोग पुर्‍याउँछ ।

सार्वजनिक पुस्तकालयको विस्तार र स्रोत अद्यावधिक अत्यावश्यक भएकाले स्थानीय सरकारले पुस्तकालय निर्माण, पुस्तक खरिद तथा स्रोत अद्यावधिकलाई बजेटमा प्राथमिकता दिनुपर्छ । ग्रामीण क्षेत्रमा मोबाइल पुस्तकालय र सामुदायिक पठन केन्द्र स्थापना गर्न सकिन्छ, जसले दुर्गम क्षेत्रका बालबालिका र युवालाई पठन पहुँच दिलाउँछ । पुस्तकालयलाई केवल पुस्तक भण्डारणको स्थान नभई छलफल, सिर्जनात्मक क्रियाकलाप, र सामुदायिक संवादको केन्द्रका रूपमा विकास गर्नुपर्छ ।

सामुदायिक पठन क्लब स्थापना गरी विद्यालय, अभिभावक र युवा समूहबीच सहकार्य बढाउन सकिन्छ, जसले नियमित पुस्तक परिचर्चा, लेखक भेटघाट र सामूहिक पठन कार्यक्रममार्फत पठन संस्कृतिलाई सामाजिक र आकर्षक बनाउँछ । डिजिटल युगमा ई–बुक, अडियो बुक र अनलाइन पुस्तकालयको उपयोग बढाउन आवश्यक छ । विशेषत :  ग्रामीण क्षेत्रमा इन्टरनेट पुगेका स्थानमा डिजिटल पुस्तकालय स्थापना गर्न सकिन्छ । युवालाई मोबाइल वा ट्याब्लेटमार्फत गुणस्तरीय पठन सामग्री उपलब्ध गराएर डिजिटल पठन संस्कृतिको विकास गर्न सकिन्छ ।

नेपाली तथा मातृभाषामा गुणस्तरीय सामग्री उत्पादनमा लगानी गर्नुपर्छ । यसका लागि लेखक, प्रकाशक, र अनुवादकलाई प्रोत्साहन दिई कथा, उपन्यास, जीवनी तथा अनुसन्धानात्मक पुस्तकहरू सिर्जना गरिनुपर्छ । नेपालका केही विद्यालयमा तीन वर्षअघि सञ्चालन गरिएको ‘पढ्ने बानी’ अभियानले विद्यार्थीबीच पठन संस्कृतिको आधार तयार गरेको थियो । जुन अहिले विद्यालय तहमा प्रभावकारी रूपमा देखिएको छ ।

निष्कर्ष  :  पठन संस्कृति कुनै विलासी रुचि होइन । यो आलोचनात्मक सोच, सिर्जनशीलता, सामाजिक संवाद र लोकतान्त्रिक चेतनाको आधारशिला हो । अन्तर्राष्ट्रिय अनुभवले प्रमाणित गरेको छ कि विद्यालय, पुस्तकालय, अभिभावक र राज्यबीचको सक्रिय सहकार्यबिना पठन संस्कृतिको जरो गहिरो बनाउन सकिँदैन ।

नेपालमा पनि यदि पठनलाई केवल एक अभ्यासको रूपमा होइन, जीवनशैलीको रूपमा अँगाल्न सकियो भने यो पुस्तकको पानामा सीमित रहने छैन बरु हाम्रो सोच, व्यवहार र भविष्यको दिशा निर्धारण गर्ने शक्तिशाली माध्यम बन्नेछ । किनभने पढ्नु भनेको केवल अक्षर चिन्नु होइन । यो त आफ्नै सम्भावनाको खोजी गर्नु हो । जसले व्यक्तिलाई आत्मबोध, सामाजिक उत्तरदायित्व र जीवन रूपान्तरणतर्फ डोहोर्‍याउँछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.