पढ्ने मानिस कहिल्यै एक्लो हुँदैन
पठन संस्कृति कुनै विलासी रुचि होइन। यो आलोचनात्मक सोच, सिर्जनशीलता, सामाजिक संवाद र लोकतान्त्रिक चेतनाको आधारशिला हो।
‘पढ्ने मानिस कहिल्यै एक्लो हुँदैन’ अमेरिकी निबन्धकार जोसेफ एडिसनको यो भनाइले पठनको गहिरो शक्ति र जीवन परिवर्तनकारी प्रभावलाई उजागर गरेको छ । वास्तवमा, शिक्षाबिनाको समाज अन्धकारमा हुन्छ भने किताबबिनाको समाज चेतनाविहीन हुन्छ । पठन केवल अक्षरहरूको संयोजन होइन । यो दृष्टिकोणको खोज, जीवनदर्शनको निर्माण, मूल्य र चिन्तनको जग तथा ज्ञानको भण्डारमा प्रवेश गर्ने द्वार हो ।
पुस्तकसँगको सम्बन्धले मानिसलाई कहिले अतीतको ऐतिहासिक यात्रामा, कहिले भविष्यको कल्पनामा, त कहिले आफ्नै अन्तर्मनको खोजीमा डुबाउँछ । मानव चेतनालाई निरन्तर गतिशील बनाउँदै लैजान्छ । यसले व्यक्तिलाई संवेदनशील, विवेकी र सुसंस्कृत बनाउँछ । पठनको यो यात्रा एकान्तमा सुरु भए पनि अन्तत : समाजलाई उज्यालो बनाउने सामूहिक चेतनाको आधार बन्छ । पुस्तक पढ्नु केवल ज्ञानको साधनमात्र नभई आत्मअन्वेषण, संवाद र सोचको अभ्यास पनि हो । यद्यपि, धेरै मुलुकले यस चुनौतीलाई अवसरमा रूपान्तरण गर्दै पठनलाई राष्ट्रिय प्राथमिकतामा राखेका छन् ।
आजको डिजिटल युगमा सूचना निरन्तर बर्सिरहेका छन् । यही सूचनाको वर्षाले गहिरो, गुणस्तरीय र निरन्तर पठन बानीलाई संकटमा पारिरहेको छ । सामाजिक सञ्जाल, छोटो भिडियो सामग्री र तत्काल मनोरञ्जनका विकल्पहरूले दीर्घ पठनको धैर्य, रुचि र एकाग्रता कमजोर बनाइरहेका छन् । पठनलाई पुन : आकर्षक र सान्दर्भिक बनाउनु अबको चुनौती हो ।
सामान्य अर्थमा, पढ्ने बानी वा निरन्तर अभ्यास नै पठन संस्कृति हो । डा. गोविन्द भट्टराईका शब्दमा, ‘पठन बानी केवल ज्ञान बढाउने कुरा होइन, यो सोच, भाषा र संस्कृतिको आधार हो । जसको जीवनमा पठनको निरन्तरता छ, उसको दृष्टिकोण फराकिलो हुन्छ ।’ पठन संस्कृतिको विकास व्यक्तिगत प्रगति मात्र नभई समाजको दीर्घकालीन उन्नतिका लागि पनि अनिवार्य छ ।
पठन जीवन रूपान्तरणको मूल आधार : पठन केवल ज्ञान प्राप्तिको माध्यम होइन, जीवन रूपान्तरणको शक्तिशाली साधन हो । यसले प्राज्ञिक क्षमता, दृष्टिकोण, विचारशीलता, लेखन सीप, स्मरण शक्ति, तार्किकता, आत्मविश्वास र व्यक्तित्व विकासमा महŒवपूर्ण योगदान पुर्याउँछ । पुस्तकले प्रेरणा दिन्छ, विविधता बुझ्न सघाउँछ, समस्या समाधानका उपाय सिकाउँछ र मानसिक सन्तुलन कायम राख्न मद्दत गर्छ । पठनले व्यक्तिलाई आत्मबोध, सामाजिक चेतना र जीवनका बहुआयामिक सीपहरू प्रदान गर्छ । यो केवल अक्षर पढ्नुमात्र होइन, आफ्नो
सम्भावना पहिचान गर्ने यात्रा हो ।
विद्यालयमा पठन संस्कृतिको अवस्था : नेपालमा विद्यालयस्तरको पठन संस्कृति मिश्रित र असमान देखिन्छ । केही सकारात्मक पहलहरू देखिए पनि व्यापक र दीर्घकालीन सुधारको आवश्यकता अझै बाँकी छ । पहिलो, अधिकांश विद्यालयमा पठन गतिविधि अझै पाठ्यपुस्तक केन्द्रित छन् । विद्यार्थीहरू परीक्षा पास गर्ने लक्ष्यमा सीमित हुँदा सिर्जनात्मक, आलोचनात्मक र स्व–प्रेरित पठन बानीको विकास हुन सकेको छैन । अनिवार्य पठन समय, पुस्तक परिचर्चा, वा स्वतन्त्र रोजाइको पुस्तक पढ्ने अवसरको अभाव धेरै विद्यालयमा देखिन्छ ।
दोस्रो, विद्यालय पुस्तकालयको अवस्था क्षेत्रअनुसार असमान छ । सहरी क्षेत्रका केही विद्यालयमा राम्रो पुस्तकालय र विविध संग्रह उपलब्ध भए पनि ग्रामीण तथा सरकारी विद्यालयमा पुस्तकालय पहुँच सीमित छ । कतिपय स्थानमा पुस्तक अद्यावधिक, व्यवस्थापन र वातावरणको कमी छ, साथै पुस्तकालयमा ताल्चा लगाउने प्रचलनले विद्यार्थी स्वतन्त्र पहुँचबाट वञ्चित छन् ।
तेस्रो, पठन प्रवद्र्धन कार्यक्रमहरूको न्यूनता एक चुनौती हो । केही विद्यालयले ‘पठन दिवस’, ‘पुस्तक समीक्षा प्रतियोगिता’ वा ‘बिहानी पठन समय’ जस्ता अभ्यासहरू सुरु गरेका छन्, तर यी गतिविधि निरन्तर र योजनाबद्ध रूपमा सञ्चालन नहुँदा दीर्घकालीन प्रभाव देखिँदैन । चौथो, अभिभावक र समुदायको भूमिकामा कमजोरी देखिन्छ । धेरै अभिभावकले पठनलाई केवल विद्यालयको जिम्मेवारी ठान्छन्, जसका कारण घरमा बालबालिकालाई पुस्तक पढ्न प्रोत्साहित गर्ने वातावरणको कमी छ ।
पढ्नु भनेको केवल अक्षर चिन्नु होइन। यो त आफ्नै सम्भावनाको खोजी गर्नु हो। जसले व्यत्तिाmलाई आत्मबोध, सामाजिक उत्तारदायित्व र जीवन रूपान्तरणतर्फ डोहोर्याउँछ।
पछिल्ला वर्षहरूमा केही विद्यालयले पुस्तकालयलाई शिक्षणको अभिन्न अंग बनाउँदै सामुदायिक पुस्तकालयसँग सहकार्य, डिजिटल सामग्रीको प्रयोग र पठन संस्कृतिको प्रवद्र्धन थालेका छन् । गैरसरकारी संस्था र युवा समूहहरूले मोबाइल पुस्तकालय, पठन क्लब र बाल–पठन कार्यक्रममार्फत प्रेरणादायी पहलहरू गरेका छन् । विद्यालय, अभिभावक, स्थानीय सरकार र समुदायको साझेदारीमा अनिवार्य पठन समय, सुगम पहुँच र आकर्षक सामग्री सुनिश्चित गर्न सकिएमा पठन संस्कृतिमा उल्लेखनीय सुधार सम्भव छ ।
अन्तर्राष्ट्रिय अभ्यास : धेरै देशहरूले पठनलाई केवल शैक्षिक आवश्यकता होइन, जीवनशैलीको अभिन्न अंगका रूपमा विकास गरेका छन् । फिनल्यान्डको ‘रिडिङ नेसन’ अभियानले बालबालिकादेखि वृद्धसम्मलाई पठन संस्कृतिमा जोडेको छ । यस पहलअन्तर्गत विद्यालयहरूमा अनिवार्य ‘बिहानी पठन समय’ लागू गरिएको छ, साथै सबैलाई नि : शुल्क पुस्तकालय सेवा उपलब्ध गराइएको छ । फिनल्यान्डमा नगर पुस्तकालयहरू जनसाधारणको सहज पहुँचमा छन् । ७० प्रतिशत नागरिक पुस्तकालयको ३ किलोमिटरभित्र बसोबास गर्छन् भने केवल ७ प्रतिशत मात्र १० किलोमिटरभन्दा टाढा बस्छन् ।
सिंगापुरमा ‘रिड सिंगापुर’ अभियानले बसपार्क, मेट्रो स्टेसन र कार्यालयसम्म मिनी–लाइब्रेरी पुर्याई पठनलाई उत्सवको रूपमा मनाउने संस्कार विकास गरेको छ । जापानमा विद्यालय पुस्तकालयलाई विविध साहित्य र अनुसन्धान सामग्रीको केन्द्र बनाउँदै दैनिक पठन समयलाई नियमित अभ्यास बनाइएको छ । अमेरिकामा भने पुस्तकालय र विद्यालयको साझेदारीमा ‘समर रिडिङ च्यालेन्ज’ सञ्चालन गरी विद्यार्थीलाई गर्मी बिदामा निरन्तर पढ्न प्रेरित गरिन्छ । जसमा पुरस्कार, अभिभावक संलग्नता र सामुदायिक गतिविधिले पठनलाई रमाइलो बनाइदिन्छ ।
क्षमता र चुनौती : भारतका शिक्षाविद् जे. कृष्णमूर्तिको भनाइ छ, ‘आजका बालबालिका तीनवटा स्क्रिनमा रमाउन थालेका छन्, मोबाइल स्क्रिन, कम्प्युटर स्क्रिन र टेलिभिजन स्क्रिन ।’ पुस्तक अब उनीहरूको प्राथमिक रोजाइमा पर्दैन । पठन संस्कृतिको सन्दर्भमा यो प्रवृत्ति केवल भारतको
होइन, सम्पूर्ण क्षेत्रको साझा चुनौती हो ।
नेपालमा केही व्यक्तिले नियमित र सक्रिय पठन जीवनशैली अपनाएका छन्, जसले उनीहरूको चिन्तन, ज्ञान र अभिव्यक्तिको दायरा विस्तार गरेको छ । अर्कोतर्फ, ठूलो संख्यामा विद्यार्थी तथा युवा पुस्ताका लागि पठन अझै पनि केवल शैक्षिक आवश्यकता र परीक्षा तयारीको साधनमा सीमित छ ।यसले गर्दा पुस्तकसँगको सम्बन्ध दीर्घकालीन बानीको रूपमा विकास हुन सकेको छैन ।
केही विद्यालय, कलेज र सामुदायिक संस्थाहरूले पुस्तकालय स्थापना तथा पठन क्लब सञ्चालन गर्दै आएका छन्, जसले विद्यार्थी र समुदायमा पुस्तकमाथिको चासो जगाइरहेका छन् । ‘नेपाल पुस्तक महोत्सव’ र ‘पुस्तक यात्रा’ जस्ता कार्यक्रमहरूले पनि पठनप्रति जनचासो र बहसको वातावरण सिर्जना गरेका छन् । साथै, ग्रामीण क्षेत्रमा गैरसरकारी संस्थाहरूले मोबाइल पुस्तकालय र बाल–पठन केन्द्र स्थापना गरी पुस्तकमाथिको पहुँचको दायरा विस्तार गरेका छन् ।
तर, यी प्रयाससँगै चुनौतीहरू पनि गम्भीर छन् । ग्रामीण क्षेत्रमा पुस्तकालयको पहुँच अत्यन्त सीमित छ, र भएका पुस्तकालयहरूमा पनि पुस्तक अद्यावधिकको कमी छ । विद्यालय शिक्षामा पाठ्यपुस्तक–केन्द्रित प्रवृत्तिले सिर्जनात्मक र आलोचनात्मक पठनको अवसर न्यून बनाएको छ । डिजिटल युगमा सामाजिक सञ्जाल र मनोरञ्जन एप्सको अत्यधिक प्रयोगले निरन्तर पठन समय घटाएको छ । त्यस्तै, पुस्तक मूल्य महँगो हुनु र गुणस्तरीय अनुवादित वा स्थानीय साहित्यको कमीले पनि पठन संस्कृतिको विकासमा अवरोध सिर्जना गरेको छ ।
यसबीचमा, केही प्रेरणादायी उदाहरणहरू पनि देखिएका छन् । काभ्रेको ‘मोबाइल पुस्तकालय’ अभियानले ग्रामीण बालबालिकामा पठनको उत्साह जगाएको छ । मोटरसाइकलमार्फत पुस्तक पुर्याउने यो सानो प्रयासले पढ्ने अवसर, साथीहरूसँग बहस र सामुदायिक सहभागिता बढाएको छन् । यसले पठनलाई खेल–मित्रवत्, रोचक र जीवन्त बनाउँदै उल्लेखनीय परिवर्तन ल्याएको छ ।
पठन प्रवर्द्धनका सम्भावित बाटाहरू : विद्यालयस्तरमै पठन संस्कृतिको विकासका लागि दैनिक ‘मर्निङ रिडिङ टाइम’ अनिवार्य गर्नुपर्छ, जसले विद्यार्थीलाई शान्त वातावरणमा आफ्ना रोजाइका पुस्तक पढ्ने अवसर प्रदान गर्छ । ‘बुक रिभ्यु प्रतियोगिता’ र ‘पठन डायरी’ अभ्यासले बुझाइ र अभिव्यक्तिमा सुधार ल्याउँछ, साथै पठनलाई जीवनशैलीको रूपमा स्थापित गर्न सहयोग पुर्याउँछ ।
सार्वजनिक पुस्तकालयको विस्तार र स्रोत अद्यावधिक अत्यावश्यक भएकाले स्थानीय सरकारले पुस्तकालय निर्माण, पुस्तक खरिद तथा स्रोत अद्यावधिकलाई बजेटमा प्राथमिकता दिनुपर्छ । ग्रामीण क्षेत्रमा मोबाइल पुस्तकालय र सामुदायिक पठन केन्द्र स्थापना गर्न सकिन्छ, जसले दुर्गम क्षेत्रका बालबालिका र युवालाई पठन पहुँच दिलाउँछ । पुस्तकालयलाई केवल पुस्तक भण्डारणको स्थान नभई छलफल, सिर्जनात्मक क्रियाकलाप, र सामुदायिक संवादको केन्द्रका रूपमा विकास गर्नुपर्छ ।
सामुदायिक पठन क्लब स्थापना गरी विद्यालय, अभिभावक र युवा समूहबीच सहकार्य बढाउन सकिन्छ, जसले नियमित पुस्तक परिचर्चा, लेखक भेटघाट र सामूहिक पठन कार्यक्रममार्फत पठन संस्कृतिलाई सामाजिक र आकर्षक बनाउँछ । डिजिटल युगमा ई–बुक, अडियो बुक र अनलाइन पुस्तकालयको उपयोग बढाउन आवश्यक छ । विशेषत : ग्रामीण क्षेत्रमा इन्टरनेट पुगेका स्थानमा डिजिटल पुस्तकालय स्थापना गर्न सकिन्छ । युवालाई मोबाइल वा ट्याब्लेटमार्फत गुणस्तरीय पठन सामग्री उपलब्ध गराएर डिजिटल पठन संस्कृतिको विकास गर्न सकिन्छ ।
नेपाली तथा मातृभाषामा गुणस्तरीय सामग्री उत्पादनमा लगानी गर्नुपर्छ । यसका लागि लेखक, प्रकाशक, र अनुवादकलाई प्रोत्साहन दिई कथा, उपन्यास, जीवनी तथा अनुसन्धानात्मक पुस्तकहरू सिर्जना गरिनुपर्छ । नेपालका केही विद्यालयमा तीन वर्षअघि सञ्चालन गरिएको ‘पढ्ने बानी’ अभियानले विद्यार्थीबीच पठन संस्कृतिको आधार तयार गरेको थियो । जुन अहिले विद्यालय तहमा प्रभावकारी रूपमा देखिएको छ ।
निष्कर्ष : पठन संस्कृति कुनै विलासी रुचि होइन । यो आलोचनात्मक सोच, सिर्जनशीलता, सामाजिक संवाद र लोकतान्त्रिक चेतनाको आधारशिला हो । अन्तर्राष्ट्रिय अनुभवले प्रमाणित गरेको छ कि विद्यालय, पुस्तकालय, अभिभावक र राज्यबीचको सक्रिय सहकार्यबिना पठन संस्कृतिको जरो गहिरो बनाउन सकिँदैन ।
नेपालमा पनि यदि पठनलाई केवल एक अभ्यासको रूपमा होइन, जीवनशैलीको रूपमा अँगाल्न सकियो भने यो पुस्तकको पानामा सीमित रहने छैन बरु हाम्रो सोच, व्यवहार र भविष्यको दिशा निर्धारण गर्ने शक्तिशाली माध्यम बन्नेछ । किनभने पढ्नु भनेको केवल अक्षर चिन्नु होइन । यो त आफ्नै सम्भावनाको खोजी गर्नु हो । जसले व्यक्तिलाई आत्मबोध, सामाजिक उत्तरदायित्व र जीवन रूपान्तरणतर्फ डोहोर्याउँछ ।
प्रतिक्रिया दिनुहोस !