इन्जिनियरिङ पढ्न चाहने विद्यार्थी भन्छन्– पास भएपछि जे गर्छौं, स्वदेशमै गर्छौं
भक्तपुर : स्नातक तहमा इन्जिनियरिङ अध्ययन गर्ने योजनामा रहेकी छात्रा रोजिना ओझाका एक दाजु र दुई दिदी रोजगारीकै सिलसिलामा विदेशमा छन् । ओखलढुंगा घर भई हाल काठमाडौंको कपनमा बस्दै आएकी उनका दाजु अस्ट्रेलियामा छन् भने दुई दिदीमध्ये एकजना क्यानडा र अर्की दुबईमा छन् । तर यति हुँदाहुँदै पनि रोजिनामा भने विदेश मोह पटक्कै छैन । उनी भन्छिन्, ‘पास भएपछि जे गर्छु, नेपालमै गर्छु, नेपालीकै लागि गर्छु ।’
रोजिनाजस्तै नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँगुनारायण भक्तपुरमा स्नातक तहमा इन्जिनियरिङ पढ्न प्रवेश परीक्षा दिन पुगेका सिराज मियाँ पनि इन्जिनियरिङ पास भएपछि स्वदेशमै बसेर केही गर्ने योजना रहेको बताउँछन् । ‘विदेशमा जाने कुनै योजना छैन । लोकसेवा लडेर सरकारी सेवामा प्रवेश गरी देशकै सेवा गर्ने योजना छ’, उनले भविष्यको योजना सुनाउँदै भने । उनका अनुसार उनका दाजु नेपालमै छन् । तीन भाइहरू अहिले ससाना छन् । उनीहरू पनि नेपालमै छन् र भविष्यमा पनि विदेश भासिने उनको योजना छैन ।
प्लस टु पास गरेपछि सवै युवा विदेश भासिने गरेको भाष्य निर्माण भइरहेको बेला सोही कलेजमा कम्प्युटर इन्जिनियरिङ पढ्न प्रवेश परीक्षा दिन पुगेका झापाका दिवस वन पनि इन्जिनियरिङ पास गरेपछि लोकसेवा नै लडेर देश र जनताकै लागि काम गर्ने योजनामा छन् । उनी भन्छन्, ‘सबै युवा विदेश जाँदैछन् भनेर भाष्य निर्माण नगरौं । हामी जस्ता धेरै युवा पनि देशमै रहेर केही गर्ने योजनामा छौं ।’
शनिबार कलेजमा भएको प्रवेश परीक्षामा सयौं नवयुवा इन्जिनियर बन्ने भविष्य बुनेर कलेजको प्रवेश परीक्षामा सहभागी भएका थिए । कलेजले जनाएअनुसार प्रवेश परीक्षामा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विद्यार्थी इन्जिनियरको सपना बुनेर कलेजमा भर्नाका लागि प्रवेश परीक्षामा सहभागी भएका थिए । कलेजमा स्नातक तहको इन्जिनियरिङमा सात वटा कार्यक्रमहरू छन् ।
यहाँं सिभिल इन्जिनियरिङ, सिभिल एन्ड रुरल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, आर्किटेक्चर, इन्फरमेसन एन्ड कम्युनिकेसन इन्जिनियरिङ, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ र सिभिल फर डिप्लोमा होल्डर्समा गरी सातवटा कार्यक्रमहरू सञ्चालनमा रहेका छन् । तीमध्ये शनिबार ६ वटा कार्यक्रम गरी कुल ४ सय ८० कोटाका लागि प्रवेश परीक्षा भएको थियो । प्रवेश परीक्षामा सहभागी भएकाहरूमध्ये सबैभन्दा बढी विद्यार्थीको रुचि कम्प्युटर इन्जिनियरिङमा रहेको कलेजका प्राचार्य सहप्राध्यापक दुर्गाप्रसाद भण्डारीले जनाए । परीक्षामा कम्प्युटर इन्जिनियरिङका लागि १ सय ८३ जनाले फारम भरेकोमा १ सय ५१ जना परीक्षामा सहभागी भएका थिए । कलेजमा कम्प्युटरका लागि ९६ जनाको कोटा छ ।
नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँगुनारायण भक्तपुर नाफा नलिने उद्देश्यका साथ सञ्चालित गैरनाफामूलक शैक्षिक संस्था हो । जिल्ला प्रशासन कार्यालय भक्तपुरमा दर्ता भई गैरनाफामूलक रूपमा यो सञ्चालित छ ।
प्रतिक्रिया दिनुहोस !