१४ हजार पशुचौपायालाई लम्पी स्किन खोप
नुवाकोट : पशुचौपायामा लाग्ने लम्पी स्किन रोगविरुद्ध नुवाकोटमा सञ्चालित खोप अभियान सकिएको छ। साताव्यापी अभियानमा १४ हजार पशुचौपायालाई उक्त खोप लगाइएको छ।
पशु सेवा कार्यालय नुवाकोटले गाई, भैंसी, चौंरी तथा याकलाई लक्षित गरेर सप्ताहव्यापी रुपमा लम्पी स्किन विरुद्ध खोप अभियान सञ्चालन गरेको थियो। लक्षित पशुचौपायालाई उक्त खोप लगाइएको कार्यालय प्रमुख डा. निशान्त शर्मा गेलालले जानकारी दिए।
उनका अनुसार अभियानका लागि ८३ जना भ्याक्सिनेटर नियुक्त भई परिचालन गरिएका थिए। बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छि मन्त्रालयले लम्पी स्किन रोगविरुद्ध नुवाकोटसहित बागमती प्रदेशभर सप्ताहव्यापी खोप अभियान सञ्चालन गरेको थियो। उक्त खोप केन्द्रीय पशु सेवा विभागमार्फत उपलब्ध भएको थियो।
कार्यालयले नुवाकोटमा रहेका १२ स्थानीय तहलाई लम्पी स्किन रोगविरुद्ध खोप प्रदान गरि भ्याम्सिनेटरमार्फत लगाइसकेको छ। डा. शर्मागेलालका अनुसार विदुर र बेलकोटगढी नगरपालिकालाई एक/एक हजार र अन्य गाउँपालिकालाई आठ/आठ सय डोज खोप उपलब्ध गराइएको थियो।
६ महिना उमेर भन्दा माथिका गाई, भैसी, चौंरी तथा याकलाई लक्षित गरेर उक्त खोप लगाइएको हो। सात दिनको अवधिमा बर्खाको समयसमेत भएका कारण उक्त अवधिमा खोप लगाउन नभ्याइएको पशु चौपायालाई समय थप गरिएको कार्यालय प्रमुख डा. गेलालले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !