मन्त्री फेर्ने विषयमा मलाई कुनै जानकारी छैन : खानेपानी मन्त्री यादव
वीरगन्ज : खानेपानी मन्त्री प्रदीप यादवले आफ्नो दल जनता समाजवादी पार्टी (जसपा)ले आफूसहितका दुई मन्त्रीलाई सरकारबाट फिर्ता बोलाएर अरुलाई पठाउन लागेको बारेमा कुनै जानकारी नभएको बताएका छन्। जसपाका उपमहासचिवसमेत रहेका मन्त्री यादवले त्यसबारेमा पार्टीले आफूलाई अहिलेसम्म आधिकारिक जानकारी नगराएको बताए।
जसपाले तपाईंसहितका मन्त्री फेर्न लागेको हो? भन्ने प्रश्नमा मन्त्री यादवले भने, 'पार्टीको बैठकले के निर्णय गर्यो? त्यसबारेमा मलाई आधिकारिकरूपमा जानकारी गराइएको छैन। ११ गते राजीनामा नै दिने भनेर मैले पनि समाचाहरू पढें। तर मन्त्री फर्ने विषयमा आधिकारिक जानकारी मलाई छैन। हल्लाका पछाडि म लागेको छैन।’
मन्त्री बनेदेखि आफू प्रधानमन्त्री केपी ओलीको निर्देशनमा जनताको सेवामा निरन्तर लागिरहेको यादवले बताए। राजनीति कुनै व्यापार नभएको भन्दै उनले भने, ‘मैले राजनीतिलाई सेवा ठानेर जनताको पक्षमा काम गर्दै आइरहेको छु। मेरो मूल्यांकन प्रधानमन्त्रीज्युले गरिरहनुभएक छ।'
प्रतिक्रिया दिनुहोस !