पार्टी सिध्याउन खोज्ने प्रवृत्तिलाई छुट दिन सकिँदैन : माधव नेपाल
काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टी सिध्याउन खोज्ने प्रवृत्तिलाई छुट दिन नसकिने बताएका छन्। पार्टी गठनको चार वर्ष पूरा भएको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले पार्टीभित्र बसेर पार्टी सिध्याउन खोज्ने प्रवृत्तिलाई छुट दिन नसकिने स्पष्ट पारे।
पार्टीको पक्षमा बोल्नु र विपक्षमा बोल्नु एउटै कुरा नभएको उल्लेख गर्दै अध्यक्ष नेपालले पार्टीको पक्षमा दृढताका साथ बोल्न निर्देशनसमेत दिए। उनले पार्टीभित्रको असन्तुष्टिलाई पार्टीभित्रै राख्नुपर्नेमा जोड दिए।
पार्टीभित्र अनुशासनहीनतालाई छुट दिन नसकिने उनको भनाइ छ। अध्यक्ष नेपालले कसैको लेखाइमा पार्टीमाथि आँच पुर्याउने र पार्टी नेतृत्वलाई गर्नेलाई सहेर बस्न नसकिने जिकिर गरे। त्यस्तै उनले लिपुलेक क्षेत्रका व्यापारिक सम्बन्ध विस्तार गर्ने भारत-चीन विपरीतको सहमति स्वीकार्य नरहेको भन्दै सरकारले कूटनीतिक तवरबाट आफ्नो स्पष्ट धारणा राख्न सक्नुपर्ने बताए।
त्यस्तै सम्मानित नेता झलनाथ खनालले १०औँ महाधिवेशनले अघि सारेको नेपाली समाजवादको कार्यक्रमलाई पार्टीले अझैसम्म प्रकाशन नगरेको भन्दै असन्तुष्टि जनाए। देशको समाजवादी कार्यक्रमको रूपलाई अघि बढाउन नेपाली समाजवादको कार्यक्रमलाई प्रकाशन गर्नुपर्ने उनको भनाइ छ। उनले मुख्य वर्गभित्र नपुगेसम्म साँच्चैकै कम्युनिष्ट पार्टी निर्माण गर्न नसकिने उल्लेख गरे।
प्रतिक्रिया दिनुहोस !