रूबी हत्या प्रकरण- रिक्साको पाङ्ग्रा बिग्रिएपछि सुटकेस गुडाउँदै अघि बढेका थिए अभियुक्त
रौतहट : रौतहटमा गत शनिबार राति भएको माधवनारायण नगरपालिका-२ की २६ वर्षीया रूबी साहको हत्या योजनाबद्ध तरिकाले गरिएको एउटा जघन्य अपराधका रूपमा हेरिएको छ।
सुटकेसभित्र कोचेर शव फालिएको घट्नाले रौतहटबासी त्रसित छन्। आइतबार विहान बेवारिसे रूपमा रोडमा फालिएको सुटकेस खोलेपछि प्रहरी नै चकित बनेका थिए। शनिबार साँझ साढे ६ बजे आमा मिथिलेस देबीलाई रूबीले आफू ब्युटीपार्लर हिँडेको र घरमा केही सामान ल्यानुपर्छ कि पर्दैन भनेर फोन गरेकी थिइन्। आमा-छोरीबीचको त्यो संवाद नै अन्तिम बन्न पुग्यो।
अनुसन्धानकै क्रममा सोमबार प्रहरीले एक इ-रिक्सा चालकलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको छ। सोधपुछका क्रममा चालक राजकुमार महराले दिएको बयानअनुसार उक्त शव ठेगान लगाउन पासवानले गौरको कबिर चोकबाट इ-रिक्सा बुक गरेको र उक्त सुटकेस राखेर पासवान बरहवा पुलपारि पुगेका थिए। पुलपारि पुगेपछि इ-रिक्साको पाङ्ग्रा बिग्रिएपछि चालकले अर्को इ-रिक्सा बोलाउने प्रयास गरेका थिए। महराले प्रहरीलाई बताएअनुसार, सुटकेस बोकेका ती व्यक्ति अर्को रिक्सामा जान मानेनन् र सुटकेस लिएर पैदल नै अघि बढेको रिक्सा चालक महराले प्रहरीलाई बयान दिएका छन्।
सोही अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतका अनुसार गौर-५ को बालमन्दिर पछाडि रहेको एक घरमा रूबीको चप्पल लगायतका सामग्रीहरू पनि फेला परेको छ। प्रहरी स्रोतका अनुसार उक्त घटना घटेको दिनदेखि नै पासवान सम्पर्कविहीन भएका छन्। उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
रूबीको शव भेटिए पनि मोबाइल फोन फेला परेको छैन। रूबीले प्रयोग गर्ने नेपाली र भारतीय फोन नम्बरसहितको मोबाइल आइतबार १२ बजेतिर केहीबेरका लागि अन भएको प्रहरीले जनाएको छ।
रूबी आफ्ना चार वर्षीय छोरासँगै केही समयदेखि आमासँगै डेरामा बस्दै आएकी थिइन्। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार विभिन्न कोणबाट अनुसन्धान अगाडि बढाइएको र यहाँबाट मात्र सम्भव नदेखिएर काठमाडौंबाट समेत सिआईबीको टोली मगाउन पत्राचार गरिएको छ।
प्रतिक्रिया दिनुहोस !