वीरगन्ज : वीरगन्जमा उपचाररत झाडापखालाका बिरामीहरूको दिसाको कल्चर टेष्ट (परीक्षण)मा पनि हैजा नै पुष्टि भएको छ।
यसअघि वीरगन्जमा गरिएको किट टेष्टमा हैजाको संक्रमण पुष्टि भइसकेको भए पनि जनकपुर र काठमाडौंको प्रयोगशालामा गरिएको कल्चर टेष्टमा पनि हैजा संक्रमण पुष्टि भएको हो।
त्योमध्ये २२ वटा नमूना जनकपुरस्थित प्रादेशिक जस्वास्थ्य प्रयोगशालामा र बाँकी १० वटा नमूना काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो। ती दुवै प्रयोगशलामा गरिएको कल्चर टेष्टमा पनि हैजाको संक्रमण पुष्टि भएको हो।
जनकपुरको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको कल्चर टेष्टमा १२ वटा नमूनामा हैजाको जीवाणु भिब्रियो कोलेरा भेटिएको प्रयोगशालाका मेडिकल ल्याब टेक्निोलोजिस्ट रामेश्वर दासले जानकारी दिए। १० वटा नमूनाको कल्चर टेष्ट भने प्रक्रियामै रहेको र त्यसको रिपोर्ट सम्भवतः बुधबार आउन उनले बताए।
त्यस्तै काठमाडौस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको कल्चर टेष्टमा पनि ८ वटा नमूनामा हैजाको संक्रमण पुष्टि भएको छ। ८ वटा नमूनाको कल्चर टेष्टमा हैजाको जीवाणु भिब्रियो कोलेरा भेटिएको प्रयोगशालाका प्रमुख डा. रञ्जन भट्टले जानकारी दिए। बाँकी २ वटा नमूनाको कल्चर रिपोर्ट भने बुधबार आउने उनले बताए।
यसअघि वीरगन्जमा स्वास्थ्य कार्यालय र वीरगन्ज महानगरपालिकाले कीटबाट गरेको परीक्षणमा हैजाको पुष्टि भइसकेको भए पनि कल्चर टेष्टका लागि पठाइएका बिरामीका दिसाको नमूना परीक्षणमा पनि हैजाकै जीवाणु भेटिएको रिपोर्ट मंगलबार साँझ आएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले पनि जानकारी दिए।
मंगलबार साँझ प्राप्त कल्चर टेष्टको रिपोर्टले वीरगन्जमा हैजाको महामारी समुदायस्तरमै फैलिएको पुष्टि भएको उनले बताए।
प्रतिक्रिया दिनुहोस !